निर्धारित समयमा हुन नसकेको टोकियो ओलम्पिक खेलको आयोजनाका लागि थप २ अर्ब ४० करोड अमेरिकी डलर खर्च लाग्ने आयोजक समितिले शुक्रबार जनाएको छ । कोरोनाभाइरस महामारीका कारण सन् २०२० मा हुनुपर्ने खेल स्थगित भएको हो ।
ओलम्पिक आयोजक समितिले खेलमा भएको ढिलाईका कारण संचालन खर्चमा थप १ अर्ब ५० करोड डलर लाग्ने तथा कोरोनाभाइरसबाट खेलमा सहभागीलाई जोगाउन थप ९० करोड डलर खर्च हुने बताएको छ । ओलम्पिक आगामी वर्ष सन् २०२१ मा हुँदैछ ।
यो पूर्वानूमान भए पनि डलर र जापानी येनको परिवत्र्य दरमा हुने फेरबदलले पनि लागत खर्च अरु बढाउने आयोजकको भनाई छ । ओलम्पिक खेलमा लागत बढ्दै गएपछि जापानी नागरिकबीच मत विभाजन भएको छ ।
केहीले महामारीको अवस्थामा खेल आयोजना पूरै रोक्ने वा खेल नै रद्द गर्नेतर्फ जापान सरकारले ध्यान दिनुपर्ने बताउँदै आएका छन् । यद्यपी थप लागतको व्ययभार जापान सरकार, टोकियो शहर र आयोजकले व्यहोर्ने सहमति भएको छ ।
प्रतिक्रिया राख्नुहोस्