राजनीति

विकासमा अवरोध गरे मलाई भन्नुस् : मन्त्री पुन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले कोभिड–९ महामारीको समयमा समेत मन्त्रालयको प्रगति सन्तोषजनक देखिएको भन्दै खुशी व्यक्त गर्दै कहीं कतैबाट विकासमा अवरोध भए आफूलाई भन्न निर्देशन दिनभएको छ ।

शुक्रबार मन्त्रालयको प्रथम चौमासिक प्रगतिको समीक्षा कार्यक्रममा सो कुरा बताउनु भएको हो । त्यस क्रममा उहाँले प्रगतिमा देखिएको कमजोरी आगामी चौमासिकमा नदोहोरिने गरी काम गर्न मातहतका सबैलाई निर्देशन पनि दिनुभयो ।

“कोरोना महामारीको संवेदनशील अवस्थामा समेत ७८ प्रतिशत वित्तीय र झण्डै ७८ प्रतिशत नै भौतिक प्रगति हुनु खुशीको कुरा हो”, मन्त्री पुनले भन्नुभयो, “आगामी दिनहरूमा मन्त्री, सचिव, विभागीय प्रमुख सबै मिलेर योभन्दा राम्रो प्रगति देखिने गरी काम गरौँ ।”

मन्त्री पुनले विकास निर्माणका काम गर्दा भरसक स्थानीय र प्रभावितलाई लाभ हुने मिल्ने गरी काम गर्न निर्देशन दिनुभयो । मुआब्जा वितरण अगावै ठेक्काको सूचना निकाल्ने, शिलान्यास गरिहाल्ने र कोठाभित्रै बसेर आयोजना बनाउने काम अब बन्द हुनुपर्ने उहाँको भनाइ थियो ।

“विगतमा ईआईए नगरी, जमिनको मुआब्जा टुङ्गो नलगाइ ठेक्का दिने, शिलान्यास गरिहाल्ने र कोठामा बसेर योजना बनाउने गर्दा धेरै आयोजना अघि बढ्न सकेनन्”, मन्त्री पुनले भन्नुभयो, “तपाईं कर्मचारीको जागिर छ, बाबुबाजेको खेतबारी गए पनि मतलब हुँदैन, तर, २÷४ गरा खेत भएका किसानको भएको जमिन सबै विकास आयोजनाले खाँदा ऊ भोकै पर्ने अवस्था हुन्छ, अनि ढुङ्गा हान्न आउँछ, त्यसैले जमिन गए पनि विकास आयोजनाको लाभ किसानले पाउने अवस्थामा कसैको अवरोध हुँदैन ।”

मन्त्री पुनले विकास आयोजनाको काममा स्थानीय जनप्रतिनिधि, राजनीतिक दल र प्रभावित जनताका कुरा अधिकमत सुन्ने र समस्या सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले विकासका काममा अवरोध भए समयमै आफूलाई खबर गर्न आग्रह गर्दै समाधान निकाल्न लागिपर्ने बताउनुभयो । “कसैले विकासका काममा अवरोध सिर्जना गरेको अवस्थामा मलाई भन्नुृस्”, मन्त्री पुनले भन्नुभयो, “कोसँग कुरा गरेर समस्या समाधान गर्नुपर्ने हो म आफैँ गएर समाधान गर्छु ।”

वर्तमान सरकार विगतको जस्तो सङ्क्रमणकालीन नभएकाले विकासका काममा कुनै अप्ठेरो महसुस गर्नुपर्ने अवस्था नरहेको उहाँको भनाइ थियो । “यो विगतको जस्तो सङ्क्रमणकालीन सरकार होइन, तीन वर्षदेखि प्रधानमन्त्री, अधिकांश मन्त्री र सचिवहरू हामी एउटै छौँ”, उहाँले भन्नुभयो, “विगतका समस्या तेस्र्याएर भाग्ने कोसिस गर्ने छुट कसैलाई छैन ।”

कार्यक्रममा राष्ट्रिय योजना आयोगका ऊर्जा र वन मन्त्रालय हेर्ने सदस्य डा कृष्णप्रसाद ओलीले कोभिड–१९ महामारीमा समेत मन्त्रालयले काममा राम्रो प्रगति गरेकामा प्रशंसा गर्नुभयो । ऊर्जा सचिव दिनेशकुमार घिमिरे, जलस्रोेत सचिव मधुसुदन अधिकारी र जल तथा ऊर्जा आयोजका सचिव सागरकुमार राईले विकास आयोजनामा विगतमा देखिने गरेका समस्या नदोहोरिने गरी काम गर्न मातहतलाई निर्देशन दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.