बिचार

'भात'को साटो 'लात' पाएपछि जनता प्रतिक्रान्तिको बाटोमा !

यादब देवकोटा

दुई तिहाई बहुमतको नजिक रहेको वर्तमान सरकार आज ढल्ने, भोलि ढल्ने स्थितिमा छ वर्तमान सरकार नै बहुमतमा रहे सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित हुने स्थितिमा पुगेको छ । नेकपा कस्तो र कत्रो रहने अनि नयाँ जन्मने पार्टी कस्तो हुने भन्ने हिसाब हिताब समेत विभाजनको पक्षमा रहेकाहरुले गरिरहेका छन् । यसबीचमा सडकमा राजतन्त्रको पक्षमा जवर्जस्त प्रदर्शन भैरहेका छन् । नेकपामा लागेका, कांग्रेसमा लागेका तर ‘तरमार्ने’ अवसरको खोजीमा नलागी देश र जनताको हितमा काम हुनुपर्छ भन्ने मान्यता बोकेकाहरु यो आन्दालनमा सामेल भएका छन् । परिवर्तनका संवाहक युवाहरु गणतन्त्रको १४ वर्षे कार्यकालबाटै वाक्कदिक्क भएका छन् र विकल्पका रुपमा राजतन्त्र नै रोज्न पुगेका छन् ।

सत्ताले यसै गरी देश र जनताको वेवास्ता गर्दै जाने, सत्तालाई घेराबन्दी गर आफ्नो स्वार्थ मात्रै पूरा गर्न खोज्ने प्रवृत्तिका कारण यस्तो भएको हो । नेताहरुमा चेतना भया ! नामको गणतन्त्रले केही हुँदोरहेनछ भन्ने उदाहरण नेपालमा देखिएको छ । विकास गर्न व्यवस्था हैन व्यवहार चाहिन्छ भन्ने उदाहरण विश्वमा अनगिन्ती छन् ।

नेपालमा राजा महेन्द्रको शासनकालमा अभूतपूर्व विकास भएको हो भन्ने आम जनताले महसुस गरेका छन्, मानेका छन् र तर नेताहरु त्यत्ति विकास गर्न नसकेपछि महेन्द्रलाई कुन फुर्का गाँसेर गाली गर्ने भन्ने ध्याउन्नमै छन् । आज जनता राजतन्त्रको पक्षमा सडकमा उत्रँदा गणतन्त्रका पक्षधरहरु आफ्नो असफलता लुकाउन “गणतन्त्रको भात पाक्न ढिला भयो भन्दैमा राजतन्त्रको गोबर खान हुँदैन” भन्दै सडकमा उत्रेका युवाहरुको भावनालाई अपमानित गरिरहेका छन् । अहिले जनतालाई मल–मुत्रभन्दा “गोबर–गहुँत” नै ठीक लाग्न थालेको छ । जसले मानव शरीरदेखि बालीनाली र वातावरणलाई लाभ नै लाभ हुन्छ ।

जनतालाई अपमानित गरेर, जनताको भावना लत्याएर गरिएको शासन दीगो हुँदैन । जनताले अपार विश्वास र भरोसाकासाथ नेकपा (एमाले-माओवादी)लाई जसरी मत दिए त्यसको कहाँ कति कदर भयो ? यो हिसाबहिताब नेताहरुले दिनुपर्छ । क्रान्तिका नायकहरु भ्रान्तिको बाटो हिंडेपछि प्रतिक्रान्तिको दिशामा जनता जान्छन् जान्छन् । नेपालमा जरो–किलो गाढेर बसेको राजतन्त्रको पक्षमा युवाहरु लाग्नु र कुनै राजनीतिक दलको आव्हानबिना सडकमा उत्रनु गणतन्त्रवादी नेता र शासकहरुका लागि सच्चिने मौका पनि हो ।

अहिले नेकपामा जसरी बबण्डर मच्चिइरहेको छ यसले धमिलो पानीमा माछा मार्न खोज्नेहरुलाई सजिलो भएको छ तर पोखरी धमिल्याउने को हो ? नेकपाभित्रको किचलोबाट नेपालको कुनै पनि राजनीतिक शक्तिले लाभ उठाउन खोजेको छैन, छ त बाहिरी शक्तिले । यो जगजाहेर विषय हो । ओली सरकार ढाल्नुपर्ने कारणहरु अनगिन्ती छन् बाहिरी शक्तिका लागि । ओली सरकारा ढल्नु वा नढल्नु अनि ओली नेकपाको अध्यक्ष रहनु वा नरहनु, प्रचण्ड वा माधव नेपाल प्रधानमन्त्री बन्नु वा प्रचण्ड मात्रै नेकपाको अध्यक्ष हुनु देशका लागि ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ मात्र हो, हो पक्षधरतालाई भने “मुतको न्यानो” मात्र हुनेछ । त्यसपछिको खेल पनि अहिलेको जस्तै हुनेछ । तसर्थ व्यक्तिगत स्वार्थका कारण पार्टीमा विवाद खडा गर्नेहरु सबैले बेलैमा सही पाइला चालेनन् भने इतिहासमा उनीहरुको नाम कालो अक्षरमा लेखिनेछ ।

क्रान्तिको उपलब्धि क्रान्तिकारीहरुको व्यक्तिगत समृद्धिमा मात्र भयो भने प्रतिक्रान्ति अवश्यंभावी छ र अहिले मुलुक यही बाटोमा अघि बढेको त हैन भन्ने प्रश्न उठेको छ । सत्तारुढ दलभित्रको पदीय झगडा र शक्तिसंघर्षले मुलुकमा राजनीतिक अस्थिरता चुलिएको छ । पार्टीभित्रैबाट सरकारमाथि हमला सुरु भएपछि विगत आधा वर्षमा सरकारले सानोभन्दा सानो काम गर्न समेत सकेको छैन । प्रशासनिक तहबाट निरन्तर भैरहने काम बाहेक देशले कुनै गति लिन सकेको छैन । नेकपा नेतृत्व सरकारका लागि स्वयं नेकपा नै विपक्षी भएर खडा भएको छ । यसैको उपज हो सडकमा राजतन्त्रको माग गर्दै भैरहेको प्रदर्शन ।

प्रजातन्त्र (लोकतन्त्र)मा राजनीतिक दलहरु कमजोर हुनु भनेको व्यवस्था कमजोर हुनु हो । अझ सत्तारुढ दल कमजोर भयो भने मुलुक नै कमजोर हुन्छ । विडम्बना नै भन्नुपर्छ २०४८ सालयता बहुमत पाएर पनि कुनै पनि सरकारले पूरा अवधि शासन गर्न सकेनन् आन्तरिक विवादका कारण । २०४८ सालको निर्वाचनमा बहुमत पाएको कांग्रेसको सरकार २ वर्षमै ढल्यो, २०५६ सालको निर्वाचनमा पनि कांग्रेसको बहुमत थियो त्यो पनि ढल्यो, ५०–५५ सालको त कुरै नगरौं । अहिले झण्डै दुई तिहाई बहुमतको सरकार छ तैपनि आजै ढल्ने, भोलि ढल्ने स्थिति हुनु भनेको व्यवस्था अफाप बाहेक के हो त ?

यी दृष्टान्त हेर्ने हो भने नेपालमा व्यवस्था अफाप सिद्ध गर्ने नेताहरु नै हुन् । अहिले नेकपाको रडाकोले व्यवस्थाप्रति उत्पन्न वितृष्णाले नै सडकमा राजतन्त्रको पक्षमा नारा लागेको हो । अर्को महत्वपूर्ण कुरा के भने राजालाई श्रीपेच त्याग्न त्यति गाह्रो भएन तर नेताहरुलाई कुर्सी त्याग्न अति गाह्रो, कुर्सी पाउन जे पनि गर्नसक्ने ! अहिले भैरहेको त्यही हो ।

आगामी चैत्रमा महाधिवेशन गर्ने घोषणा नेकपाले गरेको छ । त्यसैलाई सत्य मान्ने हो भने अध्यक्षको पद ४ महिना मात्र बाँकी छ । चार महिनाअघि नै महाधिवेशनबाट निर्वाचित ओलीलाई अध्यक्ष पदबाट गलहत्याउनु किन पर्यो ? प्रधानमन्त्रीबाट राजीनामा दिन अनेक आरोप लगाउनुको साटो त्यही आरोप संसदीय दलमा लगेर प्रधानमन्त्रीलाई अल्पमतमा पारे भैहाल्यो । विधि र प्रक्रियाबाटै अध्यक्ष पद र प्रधानमन्त्रीबाट हटाए भैहाल्यो ? तर त्यसो गर्न नेताहरु तयार छैनन्, किनभने उनीहरुलाई थाहा छ पार्टी कमिटी र संसदीय दलबाट ओलीलाई हटाउन सकिंदैन । अनि जवर्जस्ती राजीनामा दिने अडान !

अर्को महत्वपूर्ण कुरा यो चार महिनामा ओलीले अध्यक्ष पद छाडे के हुन्छ ? किन उहाँ पनि आफ्नो दम्भमै कायम हुनुहुन्छ ? देशलाई निकास दिने हो भने ओलीले नेकपा अध्यक्षबाट राजीनामा दिएर प्रचण्ड–नेपालको पाइन हेर्नुपर्ने हो ? तर ओली पनि नन्दी–भृङ्गीहरुकै घेराबन्दीमा रहेका कारण तिनका स्वार्थले अरु सकस पारिरहेको छ । दुई तिहाई बहुमतको हाराहारीमा रहेको नेकपा सरकार र नेकपाका नेताहरुको चालामालाले नै देशमा प्रतिक्रान्तिको आगो दन्किएको मात्र हैन मुलुकको भविष्य नै खतरामा पर्दैगएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.