कर्पोरेट/पर्यटन

नेपालले आफैं नापेको सगरमाथाको उचाई सार्वजनिक हुँदै

विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई अरु मुलुकले गरेको नापका आधारमा तय भएका बेला आजबाट (मंसिर २३ गते मंगलबार) नेपालले आफ्नै साधन, स्रोत र जनशक्ति प्रयोग गरी पहिलो पटक मापन गरिएको सगरमाथाको नयाँ उचाइ नेपाल र चीनबाट एकसाथ सार्वजनिक हुँदैछ ।

नापी विभागका अनुसार दुई वर्ष अघिदेखिको सर्वेक्षणबाट प्राप्त विवरण चीनका समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफल भइ सगरमाथाको उचाइ सार्वजनिक गर्न लागिएको हो ।

गत वर्ष चीनका राष्ट्रपति सी चिनफिङ गएको वर्ष नेपाल भ्रमणमा आएको बेला सगरमाथाको उचाइ संयुक्त रूपमा घोषणा गर्ने सहमति भए अनुसार दुवै देशमा एकै पटक सगरमाथाको उचाइ सार्वजनिक गरिने छ । आधुनिक तथा परम्परागत दुवै विधि अवलम्बन गरी सगरमाथाको उचाइ मापन गरिएको हो ।

यसअघि भारतले सन् १९५४ मा सगरमाथाको उचाइ मापन गरेको हो । त्यतिबेलाको मापनमा प्राप्त उचाइ आठ हजार आठ सय ४८ मिटरलाई नेपालले मान्यता दिएको छ । सन् १९९९ मा अमेरिकाले र सन् २००५ मा चीनले सगरमाथाको उचाइ मापन गरेका थिए ।

अमेरिकाको मापनमा आठ हजार ८५० मिटर उचाइ निस्किएको थियो भने चीनले गरेको मापनमा आठ हजार ८४४ मिटर थियो । चीनले गरेको मापनमा हिउँलाई घटाएर चट्टान भागको मात्र उचाइ लिइएको थियो ।

यसपटक हिउँ सतहसहित सगरमाथाको मापन गरिएको हो । सगरमाथाको उचाइमा परिवर्तन आएको हुन सक्ने अनुमान गरिएको छ र सगरमाथाको नयाँ उचाईलाई आधिकारिक मान्यता दिइने छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.