जल/वातावरण

कोरोना महामारीयता दुर्गम क्षेत्रमा मनोसामाजिक समस्यामा वृद्धि

झण्डै एक वर्ष हुन लाग्यो विश्वमा कोरोना भाइरस (कोभिड–१९)को महामारी फैलिएको । बल्ल आएर यस बिरुद्धको खोप तयार भएका समाचार आएपछि विश्वले केही राहतको सास फेर्न पाएको छ । तर कोरोनाकै कारण उत्पन्न अनगिन्ती समस्याहरुको समाधान हुन लामै समय लाग्नेछ ।

विशेष गरी कोरोनाका कारण बढ्दो बेरोजगारी समस्या तथा सामाजिक दूरीले गर्दा मानिसहरुमा मानसिक समस्या बढाइरहेको छ । नेपालमा पनि यस्ता घटनामा वृद्धि भएको पाइएको छ । मूलतः विदेशबाट कमाएर पठाएको रकमबाट घरगृहस्थी चलाउनेहरुमा बढी मनोसामाजिक समस्या देखिएको छ ।

पछिल्लो समय सुदूरपश्चिममा मनोसमस्याका बिरामी बढेको पाइएको छ । टीकापुर नगरपालिकाका मनोसामाजिक परामर्शकर्ता धनराज विक बन्दाबन्दीपछि कैलालीको टीकापुरका २५४ जनालाई मनोपरामर्श सेवा दिएको बताउनुहुन्छ । विकका अनुसार बन्दाबन्दीपछि मनोसमस्या देखिनेमा महिलाको सङ्ख्या बढी छ । मानसिक समस्या समयमै व्यवस्थापन गर्न नसके भविष्यमा सङ्कट निम्तने देखिन्छ ।

त्यस्तै किशोर किशोरीमा पनि मनोसमस्या देखिएको छ । लामो समय विद्यालय नचल्दा विद्यार्थीमा पनि गलत विचार आउनुले पछि मनोसमस्या हुनसक्छ ।

मनोचिकित्सक डाक्टर मोहन बेल्वासे कोरोना सङ्क्रमण बढेपछि मनोसामाजिक समस्या बढेको बताउनुहुन्छ । उहाँ मानसिक समस्याको समयमै उपचार गरिएन भने पछि जटिलता आउने भएकाले समयमै उपचार गर्नुपर्ने बताउनुहुन्छ ।

“बन्दाबन्दीपछि बिरामी दोब्बरले बढेका छन् । मानिसको जीवनमा सामान्य परिवर्तन आयो, अप्ठ्यारो महसुस भए तुरुन्त चिकित्सकको सम्पर्कमा जानुपर्छ”, मनोचिकित्सक डा बेल्वासे भन्नुहुन्छ, “मन नै सबैभन्दा ठूलो कुरा हो । यही मनले अपराध गर्छ भने यही मनले माया र सद्भाव बाँडेको हुन्छ, त्यसैले मनमा गलत विचार र गलत सोँच आउन दिनुहुँदैन ।”

डा. बेल्वासेले तनाव र समस्यालाई सामान्यरुपले व्यवस्थापन गर्ने बाटो खोज्न परिवार, समाजका साथ चाहिने र समस्या भएकालाई समयमै उपचार सेवा दिनुपर्ने सुझाव छ ।

बन्दाबन्दीका कारण टीकापुरका मानसिंह परियार पाँच महिनादेखि राम्ररी सुत्नु भएको छैन । मानसिंहका दुई छोरा रोजगारीका सिलसिलामा विदेशमा थिए । विश्वभरि महामारीकारुपमा फैलिएको कोरानाका कारण छोराको रोजगारीसमेत गुमेपछि उहाँको भोक निद्रा हरायो ।

नेपालबाट रकम पठाएर भारतमा रहेका छोराबुहारीलाई मानसिंहले नेपाल ल्याउनुभयो । मानसिंहलाई रोजगार गुमेर विदेशमा रहेका छोराको अझै चिन्ता छ । दुवै छोराको रोजगार सङ्कटमा परेपछि उहाँको घरखर्च चलाउनसमेत समस्या भएको छ । यतिधेरै समस्या झेल्नुभएका उहाँलाई आजभोलि भोक, निन्द्रा नलाग्ने र एक्लै कुरा गर्ने बानी बसेको छ ।

“मलाई चिन्ता त चैतबाटै शुरु भयो, तर निन्द्रै नलाग्ने समस्या भएको पाँच महिना भयो”, उहाँले भन्नुभयो, “निन्द्रा हराउनेसँगै अन्य समस्या पनि शुरु भयो । खाना खान मन नलाग्ने, टोलाउने, अरुसँग रिस उठ्नेजस्ता समस्या भएका छन् ।” नेपालमा गत चैतदेखि बन्दाबन्दी भएको हो । बन्दाबन्दीपछि नेपालको सामाजिक र आर्थिक क्षेत्रमा ठूलो क्षति पुगेको छ । सामाजिक र आर्थिक क्षेत्रमा परेको क्षतिको असर मानिसको मनसम्मै पुगेको छ । विदेश तथा भारतमा रहेका आफन्तको कमाइबाट घर चलेका कैलालीका केही परिवारमा मनोसामाजिक समस्या देखिन थालेको छ ।

कैलालीकै अर्की महिलालाई पनि मनोसमस्या शुरु भएको छ । दुई छोरा र श्रीमान् रोजगारीका सिलसिलामा भारतमा थिए । बन्दाबन्दी भएपछि तीनै जनाको रोजगारी गुम्यो । घरमा चुल्हो बल्न पनि मुश्किल भयो । निकै कष्ट झेलेका श्रीमान् भारतबाट घर फर्केपछि १४ दिन क्वारेन्टिनमा अलग्गै बस्नुभयो । “मलाई छिनछिनमा पसिना आउँछ, काम गर्ने जागर चल्दैन, एक्लै बोलिरहेको हुन्छु”, उहाँले भन्नुभयो, “ओहो चिन्ताले मानिसलाई बर्बाद पार्दोरहेछ, म दुब्लाएकी छु ।”

बन्दाबन्दीपछि गर्भवती तथा सुत्केरीले अझ बढी मानसिक तनाव झेले । कैलालीकी कामना बोहराले बन्दाबन्दीकै बीचमा बच्चा जन्माउनुभयो । गर्भावस्थामा उहाँलाई निकै तनाव भयो, जसले उहाँ कमजोर हुनुभएको छ । “भारतमा रहेका श्रीमान्को रोजगार गुमेको छ । मेरो बच्चा अहिले एक महिनाको छ”, कामनाले भन्नुभयो, “तीन दिनसम्म सुत्केरी ब्यथा लाग्यो, कोरोना सङ्क्रमणको डरले शुरुमा अस्पताल जान सकिएन ।

सुत्केरीपछि बढी रक्तश्राव भएपछि आफन्तले अस्पताल ल्याए, अनि बाचेँ ।” कामनाको शरीरमा डाक्टरले रगत कम भएकाले चढाउनुपर्ने बताएपनि आर्थिक समस्याले चढाउन सक्नुभएन । गर्भावस्थामा त्रासले सुत्नै नसकेको उहाँको अनुभव छ । “अहिले पनि मलाई निन्द्रा नलाग्ने समस्या छ, बच्चा सानो छ । गर्भावस्थामा पनि आर्थिक र मानसिक तनावले म खुशी रहन सकिनँ”, कामनाले भन्नुभयो, “अहिले बच्चा पनि कमजोर छ । म त राति निन्द्रामा पनि बर्बराउन थालेँ, छिमेकी स्वयंमसेविकालाई समस्या भनेपछि डाक्टरको सल्लाहनुसार औषधि खाइरहेकी छु ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.