जन सरोकार

सगरमाथाको नयाँ उचाइसँगै देशको स्वाभिमान बढ्यो

नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय नापी विभागको आयोजनामा मङ्गलबार सगरमाथाको उचाइ घोषणा कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुुमार ज्ञवाली र चीन सरकारका स्ट्रेट काउन्सिलर वाङ ईले संयुुक्तरुपमा घोषणा गर्दै ।

विश्वले अहिलेसम्म सर्वोच्च शिखर सगरमाथाको उचाई ८८४८ मिटर मान्दैआएको थियो भने हिजो मंसिर २३ गतेबाट यसको नयाँ उचाई सार्वजनिक भएको छ । अन्य मुलुकले गरेको नापकाा आधारमा तय गपिरएको सो उचाई लामो समय कायम रहे पनि नेपालको आफ्नै स्रोत, साधन र जनशक्तिबाट द्द वर्ष लगाएर पुनः नाप गर्दा सगरमाथाको उचाइ ८६ सेन्टिमिटरले बढेर आठ हजार ८४८.८६ मिटर कायम भएको छ ।

सगरमाथाको नयाँ उचाई सार्वजनिक भएसंगै सामाजिक संजालहरुमा यसको मिश्रित प्रतिक्रियाा आए । आलोचनामै रमाउनेहरुले आलोचनात्मक टिप्पणी गरे भने गौरबको महसुस गर्नेहरुले सोही प्रकारको । तर नेपालले पहिलोपटक आफ्नै स्रोत, साधन र जनशक्तिले सगरमाथाको उचाइ मापन गरेको सुखद् घटनाले केवल सगरमाथाको उचाइका निम्ति मात्र नभई विश्वमा नेपालको पहिचान भने बढेको छ । यसले नेपाल र नेपालीको सम्मान र स्वाभिमान पनि बढेको सरकारका वरिष्ठ मन्त्रीहरूले उल्लेख गर्नुभएको छ ।

सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्न मंगलबार आयोजित समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सगरमाथाको उचाइ बढ्नु नेपालका निम्ति अविष्मरणीय र गौरवपूर्ण घटना भएको बताउनुभयो । “नेपालको पहिचान र गौरवको रुपमा रहेको सगरमाथाको उचाइ मात्र घोषणा भएको छैन, नेपालले आफ्नै जनशक्ति र स्रोत व्यवस्थापन गरी नेपाली प्राविधिकबाट भएको यो अविस्मरणीय र गौरवपूर्ण क्षणले नेपाली प्राविधिक क्षमताको उचाइमाथि पुगेको छ, यस कार्यमा संलग्न सम्पूर्णमा हार्दिक बधाई दिन चाहन्छु”, परराष्ट्र मन्त्री ज्ञवालीले भन्नुभयो ।

उहाँले सगरमाथाको उचाइ घोषणासँगै सगरमाथाबारे आधिकारिक, वैज्ञानिक तथ्य आम सहमतिमा प्राप्त भएको उल्लेख गर्नुभयो । उहाँले अगाडि थप्नुभयो, ‘‘हामी सबैलाई थाहा छ, सगरमाथाको उत्तरी पाटो जनवादी गणतन्त्र चीनसँग सम्बद्ध छ । यसको उचाइ संयुक्त रुपमा घोषणा गरिनु आवश्यक पनि थियो विश्वसनीयताका लागि । खुशीको कुरा नेपालको नापी विभागले शुरु गरेर डेटा प्रोसेसिङ गरी जुन बिन्दुमा ल्याएको थियो । चिनियाँ मित्रहरूले गरेको सर्भे र उहाँहरूको तथ्याङ्क प्रशोधनमा पनि सोही तथ्य सही रुपमा देखापरेका छन्, यसले अब तथ्य र एकरुपता पनि कायम गरेको छ ।” परराष्ट्रमन्त्री ज्ञवालीले भूमि व्यवस्था मन्त्रालयबाट यो वर्ष भएका दुई महत्वपूर्ण काम नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा र सगरमाथाको नयाँ उचाइ मापन कार्य सम्पन्न भएकामा मन्त्री अर्याललाई धन्यवाद ज्ञापन गर्नुभयो ।

मन्त्री ज्ञवालीले जलवायु परिवर्तनको जोखिमका कारण नेपालका हिमाल कालापत्थरको रुपमा परिणत हुँदै जानु ठूलो चुनौतीको विषय भएको उल्लेख गर्दै यस्ता जोखिमबाट हिमालय पर्वत क्षेत्रको संरक्षणका लागि सरोकारवाला मुलुकसँग नेपालले विशेष चासोका साथ कुरा उठाइरहेको जानकारी दिनुभयो । उहाँले सगरमाथाको संयुक्त उचाइ घोषणा गर्ने कार्यक्रमको सन्दर्भमा चिनियाँ स्टेट काउन्सिलर विदेशमन्त्री वाङयीसँग नेपाल–चीन सम्बन्धका विविध आयामसम्बन्धी कुराकानी भएको जानकारी दिँदै जलवायु परिवर्तनको जोखिमबाट हिमालय क्षेत्र र सगरमाथाको रक्षाका निम्ति चीनलगायत सरोकारवाला अन्य मुलुकसँग बारम्बार कुरा उठाउने गरेको बताउनुभयो ।

नेपालले करिब दुई वर्ष लगाएर उचाइ मापन गरेको थियो । गत वर्ष चीनका राष्ट्रपति सी चिनफिङ्को नेपाल भ्रमणका क्रममा दुवै देशले मिलेर सगरमाथाको उचाइ घोषणा गर्ने सम्झौता गरेका थिए । सोहीअनुरुप नेपाल र चीन सरकारले आज संयुक्तरुपमा सगरमाथाको उचाइ वृद्धि भएको घोषणा गरेका हुन् । अब सगरमाथाको उचाइ आठ हजार ८४८.८६ मिटर हुने भएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अर्यालले १७० वर्षे सगरमाथा मापनको इतिहासमा नेपाल आफँैले स्रोत व्यवस्थापन र जनशक्ति परिचालन गरेर सगरमाथाको उचाइ मापन कार्य सम्पन्न गरेसँगै सगरमाथाको उचाइबारे भएका दुविधा र आशङ्काको निवारण भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सगरमाथाबारे उठेका जिज्ञासालाई सम्बोधन गर्दै विश्वसामु एउटै उचाइ कायम गर्न मन्त्रालयको नापी विभागमार्फत यो काम सम्पन्न गरी घोषणा गरिएको छ, सगरमाथाको उचाइ बढेको छ, आजको दिनबाट सगरमाथाको उचाइ मात्रै हैन, नेपाल र नेपालीको सम्मान र स्वाभिमान पनि बढेको छ ।”

हामीले सगरमाथाको विश्व कीर्तिमान कायम गरिरहँदा हिजोसम्म नेपाललाई गरिबी र बेरोजगारीको देश भनेर चर्चा गर्नेहरूले अब हाम्रो प्रविधि र क्षमताको चर्चा गर्नेछन् भन्दै उहाँले नेपालीका निम्ति सुखद् यो क्षण भएको उल्लेख गर्नुभयो । नापी विभागका महानिर्देशक प्रकाश जोशीले आफ्नै स्रोतसाधन र जनशक्तिबाट सगरमाथाको उचाइ मापन गरिनुले नेपालको गौरव विश्वमा सगरमाथा झैँ अग्लिएको बताउनुभयो ।

सगरमाथाको नयाँ उचाइ नेपालका तर्फबाट परराष्ट्र मन्त्री ज्ञवाली र चिनियाँ विदेशमन्त्री याङयीले भर्चुअल माध्यममार्फत संयुक्तरुपमा सार्वजनिक गर्नुभएको थियो । सो अवसरमा दुवै देशका राष्ट्रपतिको शुभकामना सन्देश पढेर सुनाइएको थियो । नेपालको तर्फबाट परराष्ट्रमन्त्री ज्ञवालीले राष्ट्रति विद्यादेवी भण्डारीको सन्देश पढेर सुनाउनुभएको थियो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभागले सगरमाथाको उचाइ मापन गरेको हो । विभागले रु १३ करोड खर्चेर झण्डै दुई वर्षको अवधिमा सगरमाथाको मापन कार्य सम्पन्न गरेको थियो । विसं २०७२ मा गएको भूकम्पपछि सगरमाथाको उचाइ घटबढ भएको हुनसक्ने विषयमा अन्तर्राष्ट्रिय बहस शुरु भएपछि नेपालले पहिलोपटक आफ्नै स्रोत साधनमा सगरमाथाको उचाइ नापेको हो । सो अवसरमा सगरमाथाको उचाइ मापन कार्यमा संलग्नहरूलाई सम्मान गरिएको थियो ।

यसरी नापियो सगरमाथाको उचाइ

सगरमाथाको उचाइ मापनका लागि नापी विभागका प्रमुख अधिकृत (हालका उपसचिव) खिमलाल गौतमको नेतृत्वमा अधिकृत रविन कार्की, सर्भेयर सुरजसिंह भण्डारी र अमिन युवराज धितालको टोली गएको थियो । टोलीलाई छिरिङ जाङ्बु शेर्पाको टोलीले गाइड गरेका थिए ।

सगरमाथाको उचाइ मापन कार्य परम्पारगत विधि (समतल नापी) तथा आधुनिक विधि (जिएनएसएस) र स्थलगत भू (आकर्षण सर्वेक्षण) जस्ता विधि अवलम्बन गरिएको विभागले जनाएको छ । मापन कार्य शुरु गर्नुपूर्व विभागले दुई वर्षअघि भारत, चीन, अमेरिका, इटलीलगायत देशका वैज्ञानिकलाई अन्तरराष्ट्रिय गोष्ठीमा डाकेर कसरी मापन गर्ने भन्ने विषयमा छलफल गरेको थियो र विज्ञहरूकै सुझावका आधारमा कार्यविधि तयार गरिएको थियो ।

यसअघि सन् १९५४ मा तत्कालीन सर्वे अफ इन्डियाले सगरमाथाको उचाइ मापन गरी आठ हजार ८४८ मिटर भएको निष्कर्ष निकालेको थियो । त्यसपछि विभिन्न समयमा विभिन्न निकायले उचाइ मापन गरी फरकफरक उचाइ निकालेको भएपनि त्यसले आधिकारिक मान्यता भने पाएको थिएन ।

सन् १९५४ मा भारत र सन् १९७५ चीनले सगरमाथाको उचाइ मापन गरेको थियो । त्यसैगरी सन् १९८७, सन् १९९२ र सन् २००४ मा इटालीले तथा सन् १९८९ मा अमेरिकाले मापन गरेको थियो । त्यस्तै सन् २००५ मा पुनः चीन र सन् २०१० मा इटालीले सगरमाथाको उचाइ मापन गरेका थिए ।

सगरमाथाको उचाइ नाप्न तीन वटा विधि ‘डाइरेक्ट मिजरमेन्ट’ अन्तर्गत प्रत्यक्षरुपमा अगाडि÷पछाडि गरेर चुचुरोसम्मको उचाइ नापिएको छ । त्यस्तै, ‘ट्रेंगुलेसन’ विधिबाट पनि उचाइ नापिएको छ । यसअनुसार निश्चित बिन्दुलाई आधार बनाएर त्यसको कोण पत्ता लगाउने र सोही आधारमा क्रमशः अन्य बिन्दुको कोण बनाउँदै उचाइ मापन गरिएको हो । तेस्रो विधि हो, गुरुत्वलाई आधार बनाउने । जिपिएस प्रणालीबाट पनि उचाइ मापन हुन्छ । सन् २००५ मा चीनले यही विधिबाट सगरमाथाको उचाइ नापेको थियो ।

सम्बन्धित खबर

Back to top button