राजनीति

पार्टी एकता र सहकार्यका लागि राप्रपाको वार्ता समिति गठन

राष्ट्रिय प्रजातन्त्र पार्टीले समान विचार राख्ने व्यक्ति, समूह, संस्था, सङ्गठन, पार्टी र धार्मिक क्षेत्रसँग एकता र सहकार्यका लागि महामन्त्री धवलशमशेर राणाको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ ।

राप्रपाको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले गठन गरेको सो समितिमा ऋषिबाबु परियार, दिलविकास राजभण्डारी, पुष्पराज पुरुष सदस्य रहनुभएको छ ।

अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको बैठकले आगामी स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै महामन्त्री भुवन पाठकको संयोजकत्वमा भक्तिप्रसाद सिटौला, रमानन्द न्यौपाने, भरतजङ्ग उप्रेती र प्राडा गीताभक्त जोशी सदस्य सचिव रहने गरी स्थानीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।

यसैगरी नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको मर्यादाक्रम निर्धारण गर्न उपाध्यक्ष ध्रुबबहादुर प्रधानको संयोजकत्वमा केन्द्रीय सदस्य डा. राजेश गिरी र भरत पाठक सदस्य रहेको मर्यादाक्रम निर्धारण समिति पनि गठन गरेको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।

बैठकले पार्टीका नवनिर्वाचित सबै पदाधिकारी एवम् सदस्यहरूले पार्टीमा अनिवार्य बुझाउनुपर्ने रकम लेवीको निर्धारण गर्न महामन्त्री कुन्तीकुमारी शाही संयोजक रहेको समिति गठन गरेको छ ।

त्यस्तै पार्टीका सबै भ्रातृ सङ्गठनलाई तीन महिनाभित्रमा अनिवार्यरुपले महाधिवेशन सम्पन्न गर्ने कार्ययोजना र कार्यतालिका पेश गर्न समेत बैठकले निर्देशन दिइएको छ ।

आगामी पुस महिनाभित्र सबै प्रदेश कार्यसमितिलाई विस्तारित बैठक बोलाउन निर्देशन दिने निर्णय गरिएको महामन्त्री डा धवल शमशेर राणाले जानकारी दिनुभयो ।

महाधिवेशनले तय गरेको राजनीतिक कार्यदिशा र लक्ष्यप्राप्तिका लागि पुस महिनाको पहिलो हप्तासम्म बैठक राखी सङ्गठनलाई गतिशील र चलायमान बनाउन जिल्ला कार्यसमिति, सङ्घीय निर्वाचन क्षेत्रीय समिति, प्रदेससभा निर्वाचन क्षेत्रीय समिति र स्थानीय तहअन्तर्गतका समितिलाई बैठकले निर्देशन दिएको पनि उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.