जन सरोकारस्वास्थ्य

‘बुस्टर डोज’को तयारीमा स्वास्थ्य मन्त्रालय

कोरोना भाइरस बिरुद्धको खोपको अतिरिक्त मात्रा (बुस्टर डोज)को अभियान विश्वका केही मुलुकमा चलिरहेका बेला नेपालमा पनि त्यसको तयारी थालिएको छ । हालसम्म कुल जनसंख्याको ३५.२ प्रतिशतले एकमात्रा खोप र २९.२ प्रतिशतले दुई डोज खोप लगाएका छन् ।

गत माघ १४ गते नेपालमा खोप अभिायन सुरु भएकोमा २८ दिनपछि दोस्रो मात्रा लगाएका नागरिकहरुले खोप लगाएको १० महिना नाघिसकेको छ । विज्ञहरुले खोप लगाएको ६ महिनापछि प्रभावकारिता कम हुँदै जाने र बुस्टर डोज लगाउँदा प्रभावकारी हुने बताइरहेका छन् ।

यस्तोमा कोरोनाको नयाँ भेरियन्ट देखा परेपछि सरकारले बुस्टर डोज सुरु गर्ने तयारी थालेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले कोरोनोविरुद्धको खोप लगाउन मिल्ने सबै नागरिकलाई सरकारले ‘बुस्टर’ डोज निःशुल्क दिन तयारी थालेको जानकारी दिनुभएको हो ।

मन्त्री खतिवडाले एक कुराकानीका क्रममा सबैलाई निःशुल्क खोप दिनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले पनि सहमति दिई सकेकोले त्यसका लागि मन्त्रालयले तयारी थालिसकेको जानकारी दिनुभएको हो ।

उहाँले कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन पत्ता लागेसँगै संक्रमणको नियन्त्रण तथा रोकथामका लागि बुस्टर डोज महत्त्वपूर्ण हुने देखिएपछि सबैलाई निःशुल्क लगाउन निर्णयमा सरकार पुगेको बताउनुभयो ।

मन्त्री खतिवडाले सुरुमा बुस्टर डोज शुल्क तिरेर निजी क्षेत्रबाट दिने व्यवस्था गर्ने विषयमा योजना बनेको भए पनि कोरोनाको नयाँ भेरिएन्ट आएपछि भने निशुल्क दिने समझदारी बनेको जानकारी दिनुभयो ।

बुस्टर डोज सबैलाई आवश्यक नपर्ने हुँदा यसलाई ऐच्छिक मान्दै निजी क्षेत्रलाई आयात गर्न अनुमति दिएर शुल्क तिरेर लगाउन दिने विषयमा छलफल भए पनि अहिले निःशुल्क दिने निर्णय गरेको तर कुन खोपलाई बुस्टर डोजका रुपमा लगाउने भनेर भने निर्णय भने नभैसकेको मन्त्री खतिवडाले बताउनुभयो ।

उहाँले बुस्टर डोज सबैभन्दा सुरुमा नौलाख जनालाई दिइनेछ । जसमा कोरोनाविरुद्ध अग्रपंक्तिमा रहेर काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, सरसफाइकर्मी, सुरक्षाकर्मी लगायतलाई रहनेछन् ।

सरकारले यसअघि पनि अग्रपंक्तिमा रहेर कोरोनाविरुद्ध काम गर्नेहरुलाई नै भारतबाट अनुदानमा प्राप्त १० लाख डोज कोभिसिल्ड खोप लगाएको थियो । हाल पहिलो र दोस्रो डोजको खोप लगाउने कार्य अगाडि बढिरहेको र सँगै १२ वर्षदेखि १८ वर्ष उमेर समूहकालाई पनि खोप लगाउनुपर्ने भएकाले तत्काल बुस्टर डोज लगाउन सुरु गर्न केही ढिलाई भएको मन्त्री खतिवडाले जानकारी दिनुभयो ।

सरकारले खोप अभियान सुरु भएदेखि हालसम्म १ करोड ९५ लाख ६८ हजार ३२९ मात्र खोप लगाइसकाइएको छ मन्त्रालयको तथ्यांकले देखाउँछ ।

नेपालमा हालसम्म शहरी क्षेत्रमा बसोबास गर्ने करिब ८० प्रतिशत जनसंख्यालाई खोप लगाइसकिएको छ । यसमध्ये काठमाडौं उपत्यका, पोखरा, विराटनगर, चितवन जस्ता ठूला शहरमा बस्ने लगभग सबैले खोप लगाइसकेका छन् । अब हाम्रो ध्यान ग्रामीण भेगमा बसोबास गर्नेहरुमा खोप केन्द्रित रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.