राजनीति

कांग्रेस महाधिवेशन र बिर्सिइएको बिपीको समाजवाद

नेपाली कांग्रेस आफ्नो १४ औं महाधिवेशनको संघारमै आइपुगेको छ । महाधिवेशनमा कसरी नेतृत्वमा पुग्ने भन्ने प्रतिस्पर्धा बाहेक कांग्रेसको मूल सिद्धान्तप्रति कसैको चासो छैन । बिपी कोइरालाले दिनुभएको प्रजातान्त्रिक समाजवादको नीति कांग्रेसजनहरुका लागि भाषणको मेसो मात्रै बनेको छ ।

महाधिवेशन भनेको पार्टीको विगतको समिक्षा र आगामी चार वर्षको नीनि, विचार तय गर्ने थलो भए पनि को सभापति, कुन गुटमा लागे फाइदा हुन्छ भन्ने हिसाब किताबमै नेताहरु लागिरहेका छन् ।

बिपी कोइरालाको प्रजातान्त्रिक समाजवादमा सबै नेपालीको एउटा सानो घर होस्, गरी खान पुग्ने खेतबारी होस्, एउटा दुहुनु गाई होस्, छोराछोरी स्कुल पढ्न र स्वास्थ्योपचार गर्न पाऊन् भन्ने पनि थियो तर अहिले युवा जमातलाई गाउँमा रम्न सक्ने वातावरण नै छैन । खान पुग्ने सबै खेतबारी बाँझो छ । सानो करेसाबारीमा वनमाराले ढाकेको छ । गाईगोठ लथालिङ्ग छन् । सानो घरमा बस्ने बाबुआमा सहर पसेका छन् भने छोराछोरी विदेशतिर ।

बिपीले व्यक्त गर्नुभएको प्रजातान्त्रिक समाजवादमा सामाजिक संरचना बलियो हुनुपर्ने र युवा गाउँमै रमाउन सक्ने वातावरण बन्नुपर्ने थियो तर त्यसो हुन सकेन । फलस्वरुप युवा पलायन तीव्र बनेकाले सामाजिक संरचनामा खलल त पुगेको छ नै, ग्रामीण अर्थतन्त्रमा पनि आयातित संस्कारले पूर्णरूपमा जरा गाढेको छ । ग्रामीण कृषि अर्थतन्त्र दिनप्रतिदिन थला पर्दै गएको छ । गाउँमा युवापिँढी अढ्न सकेका छैनन् । झण्डै १० लाख हेक्टर खेतीयोग्य जमिन बाँझो छ ।

नेपाली कांग्रेसका धेरै महाधिवेशन सम्पन्न भए । पटक–पटकका चुनावी घोषणपत्रमा कृषि क्षेत्रलाई केन्द्रबिन्दुमा पनि राखिएकै थियो । यद्यपि कांग्रेसले १४औँ महाधिवेशनमा युवालाई गाउँमा रम्न सक्ने वातावरण निर्माण गर्न ठोस निर्णय नगर्ने हो भने बिपीले कल्पना गरेको प्रजातान्त्रिक समाजवादकोे औचित्य समाप्त हुने धारणा पूर्व कृषिमन्त्री एवं कांग्रेसका युवानेता गगनकुमार थापाको छ ।

ग्रामीण कृषि विकासबाट मात्र नेपालको अर्थतन्त्रमा टेवा पुग्न सक्छ । नेपालका अधिकांश जनता गाउँमा बस्छन् । गाउँका जनताको जीवन निर्वाहको आधार कृषि हो । कृषि उत्पादनमा नेपालका ग्रामीण जनताको ठूलो हात छ । उत्पादनमा सहभागी कृषकलाई सामाजिक र आर्थिक रुपान्तरण गर्नसके मात्र प्रजातान्त्रिक समाजवादको परिकल्पना गर्न सकिने वरिष्ठ पत्रकार किशोर नेपाल बताउनुहुन्छ ।

बिपीले योजना बनाउँदा नीति–निर्माताले हलो जोतिरहेका किसानको तस्वीरलाई नियाल्न आग्रह गर्नुभएको थियो । यो कुरालाई मनन् गर्ने हो भने नगिचै आइरहेको १४आँै महाधिवेशनमा बिपीको प्रजातान्त्रिक समाजवादको मुद्दालाई कृषिसँग जोडेर लैजानुपर्नेमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागार्इँले जोड दिनुभयोे ।

विसं २०३० को दशकको मध्यतिर बिबीसी वल्र्ड सेवाका पत्रकारद्वय मणि राणा र ध्रुवहरि अधिकारीलाई स्व कोइरालाले बेलायतमा अन्तर्वार्ता दिँदै, गाउँका युवाजमात गाउँमा केन्द्रीकृत नभएसम्म गाउँका खेतीयोग्य जमिन बाँझो हुने बताउनुभएको थियो ।

कोइरालाको सो अन्तरर्वार्ता भएको झण्डै पाँच दशक पुग्नै लाग्दा नेपाल सरकारले विसं २०७६ मा प्रकाशित गरेको कृषि डायरीमा १० लाख ३० हजार हेक्टर जमिन बाँझो भएको उल्लेख छ । नेपालमा कूल खेतीयोग्य जमिनको हिस्सा ३० लाख ९१ हजार हेक्टर छ । एक हेक्टर बराबर २० रोपनी जमिन हुन्छ ।

कोइराला बेलायतमा उपचारमा रहँदा मौका छोपेर राणा र अधिकारीले लिएको सो अन्तर्वार्ता झण्डै ४५ वर्षपछि पहिलोपल्ट बाह्रखरी अनलाइन सेवाले सन् २०१९ मे १५ मा प्रकाशित गरेको थियो । बिपीले गाउँका युवालाई पलायन हुन नदिन उनीहरूका चहाना पूरा गर्नुपर्ने धारणा अन्तर्वार्तामा गर्नुुभएको थियो तर ठिक त्यसको उल्टो अहिले युवाहरु गाउँमा टिक्न सकेका छैनन् । अहिले विश्वका झण्डै ८४ भन्दा बढी देशमा झण्डै ४० लाखभन्दा धेरै नेपाली बाहिरिएका छन् ।

गाउँलेको चहाना कृषि सडक थियो । गाउँमा उत्पादन भएका कृषि उत्पादन सजिलैसँग बजारमा लैजान सकियोस् र नगद प्राप्त होस् तर त्यसो हुन सकेन । गाउँमा बसोबास गर्ने अधिकांश मानिसका घरमा एक गाई गोठ हुन्थे । प्रशस्त दूध उत्पादन हुन्थ्यो । फलफूल, तरकारी, फूल, माहुरीका घार, केही खसीबोका बिक्री गरेर सम्पूर्ण घरायसी गर्जो चलाउने गरिन्थ्यो ।

भूमिसुधार ऐन, २०२१ लागू भएदेखि २०७६ सम्म आइपुग्दा नेपालमा ३५ व्यक्ति कृषिमन्त्री भइसकेका छन् तर यस अवधिमा कृषि क्षेत्रको उत्पादन दर अर्थात् कूल गार्हस्थ्य उत्पादन घट्दै गएको छ । कृषि गणना २०६८ ले नेपालको कूल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ३२ प्रतिशत रहेको उल्लेख गरेको छ । यस अवधिसम्म आइपुग्दा कृषि क्षेत्रको कूल गार्हस्थ्य उत्पादनमा २७ प्रतिशतमा सीमित हुनपुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button