राजनीति

सीमारक्षक सुस्तावासीलाई तत्काल नेपाली नागरिकता देऊ

लामो समयदेखि भारतको अतिक्रमण र थिचोमिचोबाट पीडित नवलपरासीका सुस्ताबासीलाई तत्काल नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराउन ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष माग गरेको छ ।

मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले बिहिबार प्रधानमन्त्री ओलीलाई सो माग गर्दै ज्ञापनपत्र बुझाउनुभएको हो । गृहमन्त्रालयलाई बोधार्थ गरिएको ज्ञापनपत्रमा नारायणी नदीमा २०११ र २०३४ सालमा आएका ठूला बाढीका कारण नदीले धार परिवर्तन गर्दा नदीको पूर्वतर्फ परेको ४१००० हेक्टरभन्दा बढी नेपालको जमिन टापुजस्तो अवस्थामा रहेको र त्यो भूमिमा बसोबास गर्नु त्यहाँका बासिन्दाका निम्ति सुरुदेखि अहिलेसम्म कष्टप्रद रहँदै आएको स्मरण गराईको छ ।

त्यस्तै नारायणी नदीमा पुल नभएकाले भौगोलिक रूपमा विकट सुस्ताका बासिन्दा अनेक हन्डर खेपेर सुस्ताको नेपाली माटोको रक्षा गर्दै आइरहेको जानकारी गराउँदै सुस्ताका बासिन्दा बिनाबर्दीका सिपाही र सिमानाका जिउँदा खम्बाका रुपमा रहेका भए पनि दुर्भाग्यवश सीमाक्षक नेपालीहरु नेपाली नागरिकताको प्रमाणपत्र देखाउन नसकेर सीमावर्ती भारतीय सुरक्षाकर्मीहरूबाट दिनहुँ प्रताडित भैरहेकोतर्फ ध्यानाकर्षण गराइएको छ ।

ज्ञापनपत्रमा भनिएको छ, २०६३ सालमा तराईमा घरदैलोमा पुगेर पाउन योग्य, अयोग्य के हो, कुनै छानबिन नगरी सबैलाई नागरिकताको प्रमाणपत्र वितरण गरियो तर सुस्तावासीमाथि त्यसबेला पनि ठूलो विभेद भयो । राज्यले खोजीखोजी परिचयपत्र दिनुपर्नेमा शत्रुका सामु ढाल बनेर लडिरहेका ती वीरवीराङ्गनाहरू राज्यबाटै उपेक्षित र अपहेलित हुँदै आएका छन् ।

तसर्थ मन्त्रिपरिषद्बाट विशेष प्रस्ताव पारित गरी टोली खटाई स्थलगत रूपमै त्यहाँका योग्य नेपालीलाई नागरिकताको प्रमाणपत्र उपलब्ध गराउने व्यवस्थासम्बन्धी निर्णय आजका मितिले एक हप्ताभित्र गर्न माग गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.