राजनीति

मंसिर २९ गते कांग्रेसको प्रदर्शन, सभापति देउवाले मकवानपुरमा सम्बोधन गर्ने

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंसिर २९ गते गर्ने सरकारबिरुद्धको प्रदर्शनको तयारी अन्तिम चरणमा पुर्याएको छ । पार्टीका शीर्ष नेताहरु सहभागी हुने प्रदर्शनमा सभापति शेरबहादुर देउवाले मकवानपुरमा प्रदर्शनको नेतृत्व गर्नुहुने तय भएको छ ।

गत मंसिर १७ गते दमौलीमा पूर्वनिर्धारित कार्यक्रमअनुसार पुल उद्घाटन गर्न प्रशासन र नेकपाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई अवरोध गरेपछि कांग्रेसले सरकारका प्रवृत्तिविरूद्ध आन्दोलन गर्ने घोषणा गरेको कांग्रेसले सरकार सर्वसत्तावादको बाटोमा गएको,भ्रष्टाचार बढेको र कोरोना नियन्त्रण गर्न सरकार असफल रहेको भन्दै बिरोध प्रदर्शन गर्न लागेको हो ,

कांग्रेसले २९ गतेको प्रदर्शनमा देशव्यापी एउटै नारा लगाउने छ । त्यसका लागि १० वटा नारा तय गरिएको छ । देशैभरको प्रदर्शनमा केन्द्रीय कार्यालयबाटै प्रतिनिधि खटाइएको छ । शीर्ष नेताहरूले देशका मुख्य सहरका प्रदर्शनमा सम्बोधन गर्न लागेका छन् ।

कांग्रेसले ‘चारैतिर भ्रष्टाचार, जनताले चिन्यो ओली सरकार, जनता कोरोनाको मारमा नेकपा सत्ताको जितहारमा, औषधि छैन मल छैन सत्ताको लडाइँ, लाज छैन, बढ्यो महिला हिंसा र बलात्कार, अकर्मण्य भो ओली सरकार’ लगायत नारा तय गरेको छ । यी बाहेक अरू नारा प्रदर्शनमा लगाउन पाइने छैन ।

प्रदर्शनका क्रममा नेताहरुले समबोधन गर्ने जिल्ला पनि तय गरिएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार सभापति शेरबहादुर देउवाले हेटौंडाको प्रदर्शनलाई सम्बोधन गर्ने कार्यक्रम छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौं, उपसभापति विमलेन्द्र निधिले भक्तपुर, महामन्त्री शशांक कोइरालाले विराटनगर, कोषाध्यक्ष सीतादेवी यादवले ललितपुरको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

यस्तै सहमहामन्त्री प्रकाशशरण महत झापा, पूर्वउपसभापति गोपालमान श्रेष्ठ काभ्रे, पूर्वमहामन्त्री प्रकाशमान सिंह धनुषाको कार्यक्रममा सहभागी हुनेछन् ।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला महोत्तरी, नेताहरू चित्रलेखा यादव सप्तरी, रामशरण महत चितवन र अर्जुननरसिंह केसी पोखरामा हुने कार्यक्रममा सहभागी हुनुहुनेछ भने केन्द्रीय सदस्यहरू गगन थापा कैलाली, प्रदीप पौडेल कञ्चनपुर, एनपी साउद अछाम जाने कार्यक्रम छ ।

जिल्ला सभापतिहरूले माग गरेअनुसार केन्द्रीय सदस्यहरू जिल्लाहरूमा हुने प्रदर्शनमा सहभागी हुने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.