जन सरोकार

विद्यालय र त्यहाँ अध्ययन गरेका विद्यार्थीहरुको सम्बन्ध कहिल्यै टुट्दैन

विद्यालय र त्यहाँ अध्ययन गरेका विद्यार्थीहरुको सम्बन्ध कहिल्यै नटुट्ने धारणा शिक्षासेवी, समाजसेवी, राजनीतिज्ञ तथा समाजका विभिन्न क्षेत्रमा क्रियाशील महानुभावहरुले राख्नुभएको छ । शनिबार काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं. आरुबारीस्थित श्री अरुणोदय माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरुको कार्यक्रममा राखिएको हो ।

अरुणोदय पूर्व विद्यार्थी समाजको कार्यालय उद्घाटन समारोहमा वक्ताहरुले विद्यालयको स्तरोन्नतिका लागि पूर्व विद्यार्थीहरुको साथ र सहयोग महत्वपूर्ण हुने भन्दै सो धारणा राख्नुभएको हो ।

समाजका अध्यक्ष त्रिलोचन पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको आशनबाट गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले आफू सो विद्यालयमा अध्ययन गर्ने मौका नपाए पनि विगतमा १० वर्षसम्म संचालक समितिको अध्यक्ष रहेर विद्यालयको स्तरोन्नतिका लागि सक्दो प्रयास गरेको जानकारी दिनुभयो ।

उहाँले आफू गोकर्णेश्वर नगरपालिकाको प्रमुख भएपछि विद्यालयमा इञ्जिनियरिङ पढाईका लागि भवन निर्माणका लागि जग्गा उपलब्ध गराउनेदेखि नगरपालिकाको स्रोतबाट कायम रहेको विद्यालय भवनमा भौतिक सुविधा विस्तारका लागि बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।

नगरप्रमुख चालिसेले यस विद्यालयको विकासका लागि धेरै काम गर्न बाँकी रहेको र यसका लागि विभिन्न महत्वपूर्ण स्थानमा रहन सफल भएका सयौं पूर्व विद्यार्थीहरुबाट पूर्ण सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं. ८ का अध्यक्ष तथा पूर्व विद्यार्थी मनोज ढुंगाना र वडा नं. ९ का अध्यक्ष तथा पूर्व विद्यार्थी राजीव थापाले विद्यालयको विकासका पूर्व विद्यार्थी एवं जनप्रतिनिधि पनि भएका नाताले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपक रिसालले समाजको स्थापनाले विछोडिएका साथीहरुसंग पुनःमिलनको अवसर जुटेको टिप्पणी गर्दै यो अवसरलाई विद्यालयको विकासमा योगदान दिन सकिने बताउनभयो ।

कार्यक्रमममा यज्ञडोल सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सुदर्शन सिग्देलले समाजलाई शुभकामना दिंदै यस्ता संगठनहरु विद्यालयका लागि मात्र नभएर समाजकै लागि अनुकरणीय हुने बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद नेपालले विद्यालयको पहिलेको भौतिक अवस्था र अहिलेको अवस्थाको विवेचना गर्दै पूर्व विद्यार्थीहरुको ज्ञान, सीप र अनुभवलाई भावी विद्यार्थीहरुमाझ साझा गर्नुपर्ने बताउनुभयो । उहाँले विद्यालयले पूर्व विद्यार्थीबाट हर प्रकारको सहयोगको अपेक्षा गरेको पनि बताउनुभयो ।

कार्यक्रममा सभापतिको आशनबाट अध्यक्ष त्रिलोचन पौड्यालले समाज स्थापनादेखि हालसम्म गरेका कार्यहरुको जानकारी दिनुहुँदै अहिलेसम्म प्राप्त सबै प्रकारका सहयोगका लागि सबैलाई धन्यवाद दिनुभयो । उहाँले विद्यालयले पूर्व विद्यार्थी समाजबाट गरेको अपेक्षाा पूरा गर्न हरसम्भव प्रयास गर्ने प्रतिबद्धता जनाउनुभयो ।

समाजका उपाध्यक्ष रुपक थापाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन सचिव यादव देवकोटाले गर्नुभएको कार्यक्रममा कार्यक्रममा समाजको कार्यालय स्थापनाका लागि महत्वपूर्ण सहयोग पुर्याउनुहुने आरुबारीस्थित गणेश भण्डार ज्वेलर्सका प्रोपाइटर गणेश शर्मालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.