एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत शनिबार भएको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ८ विकेटले पराजित भएको छ ।
दुबईको द सेभेन्स रङ्गशाला भएको खेलमा नेपालले श्रीलङ्कालाई जितको लागि ८३ रनको लक्ष्य दिएको थियो । श्रीलङ्काले १४ दशमलव ५ ओभरमा दुई विकेट गुमाएर लक्ष्य पूरा गरेको हो । श्रीलङ्काको लागि दिमन्थ महाविधान अविजित रहँदै ३९ रन बनाए भने कविजा गमागे २४ रनमा नटआउट रहे । नेपालको लागि दयानन्द मण्डलले एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल २८.५ ओभरमा सबै विकेट गुमाउँदै ८२ रनमा समेटिएको थियो । नेपालको लागि सिब्रिन श्रेष्ठले १८, सजिल पटेलले १२ र निरज कुमार यादवले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
श्रीलङ्काका सेथ्मिका सेनेविरत्नले ९.५ ओभरमा २५ रन खर्चेर पाँच विकेट लिए भने रसिथ निमसारा, विघ्नेश्वरन आकाश, दुल्निथ सिगेरा र चमिका हिनातिगलाको भागमा समान एक-एक विकेट रह्यो ।
समूह ‘बी’ मा रहेको नेपालले आगामी सोमबार बङ्गलादेशसँग खेल्नेछ । यही मङ्सिर २६ गतेदेखि सुरू भएको उक्त प्रतियोगितामा नेपालसहित बङ्गलादेश, श्रीलङ्का, अफगानिस्तान, भारत, पाकिस्तान, युएई र मलेसिया सहभागी छन् ।





प्रतिक्रिया राख्नुहोस्