विश्व समाचार

आजदेखि अमेरिकामा कोरोनाको खोप लगाउने तयारी

कोरोनाभाइरसबाट सबैभन्दा धेरै प्रभावित भएको मुलुक अमेरिकामा सोमबारदेखि कोरोनाविरुद्धको खोप लगाउने तयारी भएको छ । खोप लगाउनका लागि आइतबारदेखि ढुवानीको काम शुरु भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

आपत्कालीन अवस्थामा मात्रै प्रयोग गर्न अनुमति दिइएको ‘फाइजर बायोएनटेक कोरोनाभाइरस खोप’ अमेरिकामा पनि सर्वसाधारणलाई लगाइने भएको हो । यो खोप लगाउन सबैभन्दा पहिला बेलायतमा अनुमति दिइएको थियो । त्यसपछि बहराइन, क्यानडा, साउदी अरबलगायतका देशले पनि प्रचलनमा ल्याउने निर्णय गरेका थिए ।

विश्वभरी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसबाट सङ्क्रमित भएर १६ लाख मानिसको मृत्यु भएपछि सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा खोपको प्रयोग हुन लागेको हो । सो खोप ७० डिग्री सेल्सीयसको तापक्रमसहितको विषेश अवस्थामा मात्रै राख्न सकिने स्वास्थ्यकर्मीहरूले बताएका छन् ।

“अत्यावश्यक परेका सवैलाई हामीले खोप राम्रोसँग उपलब्ध गराउन सक्छौँ भन्ने हामीलाई विश्वास छ, त्यहीअनुसार कामहरू भइरहेको छ,” खोप वितरण तथा व्यवस्थापन कार्यमा खटिएका एक अमेरिकी अधिकारीले भने । उनीहरूका अनुसार शुरुमा यो सप्ताहन्तसम्ममा तीन करोड मात्रा खोप सबै राज्यहरूमा पठाउउने कार्य भइरहेको छ ।

दैनिक मृतकहरूको सङ्ख्या उच्च हँुदै गएपछि अमेरिकाले खोप प्रयोगमा हतार गरेको हो । गत शनिबार मात्रै अमेरिकामा एकैदिनमा ३,३०९ जनाको मृत्यु भएको थियो । यो सङ्ख्या अमेरिकामा एकैदिनमा कोरोनाका कारण मृत्यु भएकाहरूको सवैभन्दा ठूलो सङ्ख्या हो । त्यसैगरी यो सङ्ख्या विश्वमै पनि कोरोनाका कारण एकैदिनमा मृत्यु भएकाहरूको सबैभन्दा धेरै सङ्ख्या भएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।

केही समय कम देखिएको मृतकको सङ्ख्या अमेरिकामा पछिल्ला केही दिनदेखि फेरी बढ्दै गइरहेको छ । मृतक र सङ्क्रमितहरूको सङ्ख्यामा अत्यधिक वृद्धि भएपछि अमेरिकाले गत शनिबार यो खोप प्रयोगमा ल्याउने निर्णय गरेको थियो ।

खोप प्रयोग गर्ने पहिलो दिन सोमबार १४५ स्थानमा खोप प्राप्त हुनेछ भने मङ्गलबार ४२५ स्थानमा र बुधबार ६६ स्थानमा प्राप्त हुने अधिकारीहरूले जनाएका छन् । पहिलो चरणको वितरण सकिएपछि केही दिनमै दोस्रो चरणको वितरण पनि शुरु गरिने र यसले धेरैको ज्यान जोगाउने उनीहरूको विश्वास छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.