नेपाल भलिबल संघ जापानको आयोजनामा बुधबार साइतामाको तोदा हलमा सम्पन्न भएको तेस्रो भलिबल प्रतियोगिताको उपाधी गल्कोट समाज जापानले हात पारेको छ।

फाइनलमा गल्कोट स्पोर्टस क्लबलाई लगातार दुई सेटमा पराजित गर्दै गल्कोट समाजले उपाधी पक्का गरेको हो । सेमीफाइनलमा एनआईएससी क्लबलाई कडा प्रतिस्पर्धामा उछिन्दै गल्कोट समाज फाइनल प्रवेश पाएको थियो।
जितसंगै गल्कोट समाजले रनिङ शिल्ड सहित नगद तीनलाख येन हात पार्यो भने उपविजेताले शिल्ड सहित नगद दुईलाख हात पार्यो । सेमिफाईनल प्रवेश पाएका बोहोरा फाँट र एनआईएससीले सान्त्वना सहित नगद पचास हजार हात पारे ।
व्यक्तिगत उपाधी तर्फ अभुजित रायमाझीले बेस्ट प्लेयर बने भने बेस्ट स्पाईकर बोहोरा फाँट समाजका खेलाडी वसन्त कार्की, बेस्ट कोचतर्फ अमर भण्डारी अर्जुन, बेस्ट डिफेण्डरतर्फ गल्कोट समाज जापानका मनोज केसी र बेस्ट ब्लकर गल्कोट स्पोर्टस क्लबका मनोज केसीले पुरस्कार पाए ।
यस्तै उत्कृष्ठ खेलाडीतर्फ जापानमा नेपालीहरूद्वारा संचालन गरिएको मिराई लाइफ ईन्स्योरेन्सको विशेष पुरस्कार गल्कोट समाजका क्याप्टेन भुवन थापाले हात पारे । मिराई लाइफको सो पुरस्कार कम्पनीका तर्फबाट डम्बरराज पौडेलले वितरण गर्नु भएको थियो ।
विजयी टोली र खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि एनआरएनए आईसीसी सदस्य रोविन शेरचन, व्यवयासी समाज जापानका बिजय थकाली, ददिवल खडका, शिवहरि पौडेल, मोना जापानका अध्यक्ष सचिन श्रेष्ठ, मगरसंघ जापानका अध्यक्ष ओम काउछा मगर, तमुधी जापानका अध्यक्ष सौगात गुरूङ, एनआरएनए चिवा क्षेत्रीय समितिका संयोजक मुक्तिराज रेग्मी, पर्वत समाज जापानका उपाध्यक्ष सुवास लामिछाने, आयोजक भलिवल संघ जापानका अध्यक्ष रत्नसिंह बस्नेत लगायतले वितरण गर्नु भएको थियो।
कार्यक्रममा पूर्व राष्ट्रिय खेलाडी श्री गुरूङलाई विशेष सम्मान गरिएको थियो । यस्तै महिला खेलाडी सहभागि मैत्रीपूर्ण खेलले प्रतियोगितामा नयाँपन ल्याएको थियो ।
प्रतिक्रिया राख्नुहोस्