जल/वातावरण

काठमाडौँको तापक्रम २ डिग्रीमा झर्यो, अझै घट्ने क्रममा

काठमाडौँ उपत्यकाको तापक्रम २ दशमलव ८ डिग्रीमा झरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार काठमाडौँको तापक्रम यस वर्षकै कम मापन गरिएको छ । यसअघि मङ्गलबार काठमाडौँ उपत्यकाको तापक्रम तीन डिग्री थियो ।

तापक्रम घटेसँगै उपत्यकासहित देशभर बढी चिसो महसुस गरिएको छ । काठमाडौँ उपत्यकाको तापक्रम दिनानुदिन घट्ने क्रममा रहेको छ । यसअघि सोमबार भने काठमाडौँको न्यूनतम तापक्रम ४ दशमलव शून्य डिग्री मापन भएको थियो ।

मौसमविद् समीर श्रेष्ठका अनुसार तापक्रम निरन्तर घट्ने क्रममा रहेको छ । “अबको केही दिन तापक्रम घटबढ भइरहनेछ ।” श्रेष्ठले भन्नुभयो,“मौसमविद्का अनुसार राति बदली भए दिउँसो तापक्रम बढ्ने र आकाश खुला भए तापक्रम घट्ने हुन्छ ।”

पश्चिम तराईका जिल्लामा पनि चिसो ह्वात्तै बढेको छ । चिसो बढेसँगै तराईका अधिकांश जिल्लामा हुस्सु र कुहिरोले जनजीवन कष्टकर बन्दै गएको छ ।

चिसोबाट विशेषगरी वृद्धवृद्धा र बालबालिका बढी प्रभावित हुने भएकाले चिकित्सकले सावधानी अपनाउन सुझाव दिएका छन् । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २ दशमलव ८ डिग्री र अधिकतम तापक्रम १९ दशमलव २ डिग्री सेल्सियस रहेको छ ।

त्यस्तै बुधबार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ७ दशमलव १ डिग्री र सबैभन्दा धेरै विराटनगरको न्यूनतम तापक्रम १० दशमलव ५ डिग्री सेल्सियस रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.