बिचार

वैदिक संस्कृतिमा विवाह पद्धति- सन्तान उत्पादनको वैधानिकता मात्र हैन…

यादब देवकोटा

गृहस्थ जीवनमा विवाह महत्वपूर्ण पक्ष हो । विवाहको मुलुकपिच्छे आआफ्नै चलन छ, संस्कार छ । वैदिक सनातनी समाजमा विवाहको अरुभन्दा फरक संस्कार र भूमिका छ । आजभोलि विवाह, तीर्थ, ब्रत जस्ता संस्कारहरुमा नारीमाथिको शोषण भन्दै अरुले घोकाइदिएको नारा भट्याउने गरिन्छ । विवाहको एउटा पक्ष ‘कन्यादान’लाई महिला दानको बस्तु हैन भन्ने पनि गरिन्छ । तर त्यो अबुझहरुको कुतर्क मात्र हो । विवाह सृष्टि संचालन र निरन्तरताको एउटा पद्धति मान्दै वैदिक संस्कारमा यसलाई दाम्पत्य जीवनमा बाँधिने जोडीले गर्नुपर्ने कर्म, संस्कार, बाचा सबै क्रमैसंग गर्नुपर्छ । आजभोलि पत्नी–पतिको असमानता, भेदभाव जस्ता कुराहरु निस्किइरहेका छन् ।

तर, वैदिक सभ्यता र संस्कारमा त्यस्तो छैन । विवाह पद्धतिमा दाम्पत्य जीवन सुरु गरेपछि पति–पत्नीको समान दायित्व स्थापित गरिएको छ । आजभोलि हाम्रो गाउँघरमा पत्नीविना पति एक्लैले महत्वपूर्ण कार्यहरु गर्नै पाउँदैन । धर्मपत्नीको उपस्थितिविना कुनै पनि पुरुषले यज्ञ एक्लै सम्पन्न गर्न पाउँदैन । श्राद्ध लगायतका पितृ कार्य गर्न पनि धर्मपत्नी रजस्वला भएका बखत निषेध गरिएको छ । पीढी शिक्षामा यस्ता प्रसङ्ग अनेक छन् । यस्ता कुराहरुलाई पुस्तान्तरण गर्दै ल्याइएको छ । अहिले पनि यसलाई चलनचल्तीमा ल्याइन्छ । तर निषेधको नारा घन्काउन छाडिदैन ।

चर्चा विवाहकै गरौं– नेपाली समाजमा सबै संस्कार वा शुभकार्यभन्दा उच्च महत्वका साथ गरिने शुभकार्यमा विवाह हो । सृष्टिक्रमलाई निरन्तरता दिने र जीवन सार्थक बनाउन व्यवस्थित यो विवाहको पूर्वीय जीवनशैलीमा ठूलो महत्व छ । विवाहलाई पाणिग्रहण पनि भनिन्छ । यसैबाट सन्तान जन्माएर सृष्टिलाई निरन्तरता दिइन्छ । पाणिग्रहण गर्दा वरले वधुको दाहिने हातको बुढी औलो समातेर यस्तो प्रतिज्ञा गर्नुपर्छ –

– आजदेखि मेरो शरीको आधा भागमा तिम्रो शरीरको अंग प्रत्यंग छ भन्नेमा विश्वास प्रकट गर्दै आफ्नै शरीर ठानेर तिम्रो शरीरको ख्याल राखेर आफूलाई जस्तै तिमीलाई तिम्रो शरीरलाई माया गर्छु ।

– तिमी मेरो घरकि स्वामिनी हौ । तिम्रो सरसल्लाह मञ्जुरी र इच्छा मुताविक गृहस्थीका सवै काम कुरा अवदेखि व्यवस्थित गर्ने निर्णय गर्दछु ।

– तिमीसंग कुनै कुरा वा काममा पनि दोष दृष्टिले तर्क–कुतर्क गर्ने छैन । तिम्रो कुनै खोट, कमजोरी वा भूल, त्रुटी लगायतका अवगुण भए, देखिए पनि त्यस्ता कमि कमजोरीलाई औंल्याएर दन्तबझान गर्ने छैन, बरु प्रेमपूर्वक खोट, दोष, कमजोरी सच्याउन आफूले सहयोग गर्नेछु । कुनै पनि वहाना बनाएर वा कारण देखाएर तिरस्कार गर्ने छैन

– धर्मपत्नीको रुपमा तिमीलाई स्वीकार गरेको छु । पत्नीव्रत पालना गर्नेछु । घनिष्ठ मित्रलाई जेजति सम्मान दिइन्छ, त्योभन्दा बढी नै सम्मान तिमीलाई गर्नेछु । जेजति कमाई गरुँला वा आम्दानी होला त्यो सवै तिमीलाई नै सुम्पने छु । तिम्रै सल्लाहमा खर्च गरौंला । तिम्रो सुख–सुविधा, खुसी र इच्छालाई महत्व र प्राथमिकता दिनेछु । कुनै मतभेद कहिल्यै नहोस्, यसबारे सकेसम्म प्रयत्न गर्नेछु । तिम्रो दोष वा खोट कसैलाई सुनाउने वा देखाउने, अपमान गर्ने वा तिम्रो मन दुखाउने कुनै काम कुरा कहिल्यै गर्नेछैन । त्यस्तो कुनै प्रसङ्ग आए एकान्तमा नै सरसल्लाह गरेर सम्झाउने, बुझाउने र स्पष्ट पार्न प्रयाशरत रहनेछु । सधैं सहिष्णु भएर मधुर व्यवहार गर्न उद्यत हुनेछु ।

– तिमीबाट जान–अन्जानमा कुनै गल्ती भएमा आफ्नो कर्तव्यबाट विमुख भइ तिरस्कार गर्ने छैन । विरामी हुँदा वा घर गृहस्थी चलाउँदा सन्तान उत्पन्न गर्न अशक्त भएमा समेत कहिल्यै तिरस्कार गर्ने छैन । तिम्रो व्यक्तित्व विकासका लागि हरसम्भव प्रयास प्रयत्न गर्नेछु । तिम्रो सफलतामा समर्पित भएर योगदान गर्नेछु ।

यसरी नै दुलहीलाई पनि विवाह सम्पन्न गर्दाका बखतमै प्रतिज्ञा गर्न लगाइन्छ । जसको केही टिपोट यस्तो छ-

१. म अबदेखि हजुरलाई आफ्नै शरीरलाई जत्तिकैमाया गर्दै सुख–सुविधा र सम्मान दिने वाचा गर्छु ।

२. हजुरका आफन्तजनलाई यथोचित आदर, सत्कार, सम्मान, स्नेह गर्दै सवैसंग सद्भाव राखेर सकेसम्म प्रशन्न राख्न प्रयत्नशील हुनेछु ।

३. घरको काम होसियार भएर गर्नेछु । हजुरको प्रगतिमा कसरी सहायता गर्न सकिन्छ त्यसरी नै सहयोगी हुन हरदम तयार रहनेछु ।

४. श्रद्धा र विश्वास राखेर पतिव्रता धर्मको पालना गर्नेछु ।

५. मीठो बोल्नु, हँसीमुखी रहनु, सेवा गर्न जाँगरिलो हुनु मेरो दैनन्दिनी चेष्टा हुनेछ । रिसाउने, झर्किने, ठुस्सिने र अप्रिय दुर्वचन र दुरव्यवहार कहिल्यै नगर्ने शपथ लिन्छु ।

६. अनावश्यक खर्च गर्नु, अव्यवस्थित हुनु र अनुचित अमर्यादित काम कुरा गर्नु अलच्छिन हो भनेर त्यसबाट सजग रहेर व्यवस्थित ढङ्गले शालिनतापूर्वक घर व्यवहार चलाउने छु ।

७. हजुरको कुनै दोष, दुर्गुण, खोट वा नराम्रो बानी वेहोरा भए पनि सहिष्णु र सहनशीलताको सहारा लिएर धैर्यतापूर्वक त्यस्तो अवगुण हटाउन उपाय खोज्नेछु । सधैं प्रेमपूर्ण व्यवहारद्वारा मन जितेर सद्भाव र सम्मानलाई सर्वोपरि राखी कुनै कुरामा खचपच पर्न नदिई एकान्तमा नै आफ्नो दुःख–पीडा हजुरलाई व्यक्त गरेर समाधानको उपाय खोज्न प्रयत्न गर्नेछु । छरछिमेक वा माइतीहरूसंग कुरा गरेर घरको कुरा बाहिर ल्याउने छैन । हजुरले बाटो बिराएर कर्तव्य विमुख भए पनि मैले धर्मपत्नीले पालना गर्नुपर्ने धर्मको पालना गर्नेछु । हजुरलाई सत्मार्गमा ल्याएर आफ्नो कर्तव्य पूरा गर्न र सन्तानको भविष्य उज्ज्वल बनाउन, कुल परम्परा र आफ्नो कुल घरानाको प्रतिष्ठा र मर्यादालाई निरन्तरता दिन जीवन शान्त, सुखी र समृद्धि बनाउन सदा समर्पित हुनेछु ।

विवाह सम्पन्न भएपछि चारौं दिनमा चतुर्थीकर्मको विधान छ । यो विधान चतुर्थी अर्थात् चौथो रातको सट्टा विवाह वेदीमै चतुर्थीका सवै विधि सम्पन्न गर्ने प्रचलन छ । यो फगत कर्मकाण्डको औपचारिकता पूरा गर्ने कर्म नभएर यसको अन्तर्निहित उद्देश्य पनि सुसंस्कार तथा बधुको कल्याण गर्ने हेतुले व्यवस्थित गरिएको स्पष्ट हुन्छ । त्यसलाई यसका केही मन्त्रहरूले यसरी पुष्टि गर्छन् ।

वरले पञ्चल्लवद्वारा वधुका शिरमा अभिषेक गर्ने मन्त्र-

ॐ मधुवाता ऋतायते मधुक्षरन्ति सिन्धवः
माध्वीर्न सन्त्वोषधी मधुनक्तमुतषसो मधुमत्पार्थिव र्ढ.रजः
मधुद्यौरस्तु नः पिता मधुमान्नो वनस्पति
मधुमाऽस्तुसूर्यः माघ्वीर्गाबो भवन्तुनः
ॐ मधु ॐ मधु ॐ मधु

भावार्थ- हावा मधुर भएर सर्सराओस्, त्यस्तै मधुमय भएर नदी बगुन, खेतीपाती सम्पत्ति सवै तिम्रा मधुमय हुन्, दिन–रात सवै समय मधुमय होस् । धर्तीमा जहाँ बसे पनि त्यो बास मधु बास होस् ।

मधुयुक्त हुन तिम्रा गाईवस्तु र पाल्तु सवै प्राणीहरूको साथै जति पनि अन्य वस्तुभाउ छन् ती सवै मधुर हुन् र लतावृक्ष वनस्पति, सूर्य लगायतका ग्रहगण सवै तिम्रा लागि मधु मधु मधु बनुन् ।

यस्ता कैयौं मन्त्रले चतुर्थी गर्दा वधुको शुभकल्याण र सुख समृद्धिको कामना गरिन्छ । यो भन्दा पूर्व उनमा कुनै खोट–दोष वा कुलक्षण भए त्यस्तो निवारण पनि चतुर्थीकर्म गर्दा हुन्छ भन्ने पीढी शिक्षाको उद्देश्य छ । यस सम्बन्धी केही मन्त्र यस्ता छन्–

पहिले अग्निको प्रार्थना गर्दै यसरी आहुति दिइन्छ–

ॐ अग्ने प्रायश्चित्ते त्वं देवानां प्रायश्चित्तिरसि ब्राह्मणस्त्वा नाथकाम उपधावामि यास्सै पतिघ्नी तनुस्तामस्यै नाशय स्वाहा इदमग्नये न ममः

भावार्थ- हे अग्नि ! देवताहरूको दोष हटाउने सामथ्र्य तिमीसंग छ । यी वधुको कुनै दोष, पतिसंगको विरोध वा पतिनाश गर्ने कुनै अङ्ग र कुलक्षण केही कतै छ भने त्यस्ता सवै कुरा वा दोष नाश गर ।

यसरी नै क्रमशः वायु, सूर्य, चन्द्र, गन्धर्व, देवता लगायतलाई आहुति दिएर वधुलाई यावत दोष निवारणार्थ शक्ति देउ भनेर प्रार्थना गरिन्छ । यसका मन्त्र र त्यसको भावार्थ यस्तो छ –

ॐ अग्ने प्रायश्चित्ते त्वं देवानां प्रायश्चित्तिरसि ब्राह्मणास्त्वा नाथकामा उपधावामि यास्सै प्रजाघ्नी तनूस्त्तामस्यै नाशय स्वाहा इदं वायवे न ममः ।

भावार्थ- देवता लगायत सवैका दोष दुर्गुण हटाउन सक्ने हे वायु देवता ! यी वधुको रक्षा गर्दै सन्तती नाश हुने सन्तान विरोधी कुनै अङ्ग दोष भए त्यो दोष नाश गर ।

यसै गरी सूर्यको प्रार्थना गर्दै यो मन्त्र पढिन्छ –

ॐ सूर्य प्रायश्चित्ते त्वं देवानां प्रायश्चित्तिरसि ब्राह्मणस्त्वा नाथकाम उपाधावामि यास्सै गृहघ्नी तनूस्त्तामस्यै नाशाय स्वाहा इदं सूर्याय न ममः ।

भावार्थ- सवैको प्रायश्चित गरेर देवता लगायतलाई नियमित गर्ने हे सूर्य यी वधुको कुनै पशु विरोधी दोष छ भने त्यो दोष नाश गर ।

यसपछि चन्द्रमाको प्रार्थना गर्दै यो मन्त्र पढिन्छ –

ॐ चन्द्र प्रायश्चित्ते त्वं देवानां प्रायश्चित्तिरसि ब्राह्मणस्त्वा नाथकाम उपधावामि यास्सै गृहघ्नी तनूस्त्तामस्यै नाशाय स्वाहा इदं चन्द्रमसे न ममः ।

माथिका मन्त्री र त्यसको भावार्थबाटै स्पष्ट हुन्छ पूर्वीय जीवनशैली र शिक्षा पद्धतिमा विवाह फगत यौन सन्तुष्टिको वैधानिकता मात्र हैन, यो जीवनचर्याको अंग हो, जीवन व्यवस्थित बनाउने विधान हो । यसमा पत्नीको एकल भूमिका वा पतिको एकल भूमिकाको कल्पना गरिएको छैन । दुबैले एक अर्कालाई साथ, सहयोग, समर्थन, विश्वास गरेर जीवनरुपी रथ अघि बढाउने संकल्प विधान राखिएको छ । विवाह मण्डपमा बसेर यस्तै प्रतिज्ञा गरिन्छ । आजभोलि पनि त्यस्तो प्रतिज्ञा त गरिन्छ तर पुरोहितले मन्त्र पढेर बर–बधुले “म..म…” भन्ने बाहेक यसको भावार्थ बुझ्ने जमर्को नगर्दा हाम्रा संस्कारहरु ओझेलमा परेका छन् ।

(आलेखमा प्रस्तुत विवाह संस्कारमा गरिने प्रतिबद्धता मन्त्रहरु पूर्वीय दर्शनका ज्ञाता वेदराज पन्तको पुस्तक ‘पींढि शिक्षा’बाट उद्धेत गरिएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.