खेल

पिपल्स च्वाइस अवार्डको मनोनयन सावित्रा भण्डारीसहित पाँच जना

नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्टस अवार्डको पिपल्स च्वाइस विधातर्फ पाँच जनाको नाम सार्वजनिक गरेको छ । मञ्चले शुक्रबार पत्रकार सम्मेलन गर्दै करातेका मण्डेकाजी श्रेष्ठ, पौडीकी गौरिका सिंह, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारीको नाम पिपल्स च्वाइस अवार्डका लागि सार्वजनिक गरेको हो ।

गत वर्ष खेलाडीहरुले गरेको खेल प्रदर्शनका आधारमा पाँचै जनाको नाम अवार्डका लागि छनोट गरिएको मञ्चका सचिव एवं खेलाडी छनोट समितिका संयोजक गोविन्द रेग्मीले जानकारी दिनुभयो ।

मनोनयनमा परेका खेलाडीको उत्कृष्टताको छनोट भोटिङ, फेसबुक लाइक, आयोजक संस्थाका पत्रकारको भोट तथा राष्ट्रिय सङ्घका मुख्य प्रशिक्षकको भोटका आधारमा हुनेछ । भोटिङ आजदेखि नै गर्न सकिने उहाँले बताउनुभयो । भोटिङ पुस २७ गते राति १२ः०० बजेसम्म गर्न सकिने मञ्चले जनाएको छ । पल्सर स्पोर्टस अवार्डको १७औँ संस्करण यही पुस २८ गते आयोजना गरिँदै छ । उक्त दिन १० विधाका खेलाडी तथा खेलकर्मीलाई सम्मान गरिने छ ।

कोरोना भाइरसको महामारीका कारण यसवर्षको अवार्ड कार्यक्रम भर्चुअल माध्यमबाट गरिने छ । सामाजिक दूरी कायम गर्नुपर्ने अवस्था भएकाले सो अवार्डको भर्चुअल कार्यक्रम ललितपुरको सातदोबाटोस्थित कराते हलमा गरिने मञ्चका अध्यक्ष देवेन्द्र सुवेदीले जानकारी दिनुभयो । वर्षको उत्कृष्ट खेलाडी युवा, महिला र पुरुष, वर्षको उत्कृष्ट प्रशिक्षक, पारा एथलिट अवार्ड, स्पेशल अवार्ड, लाइभ टाइम एचिभमेन्ट अवार्ड, वर्षको उत्कृष्ट टोली, पिपल्स च्वाइस र एसियन जर्नालिस्ट अफ द एयर अवार्ड प्रदान गरिने छ ।

पिपल्स च्वाइस अवार्ड, स्पेशल र लाइभ टाइम एचिभमेन्टबाहेक अरू अवार्ड अन्तर्राष्ट्रिय तथा राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा प्रदान गरिने छ । आयोजक एनएसजेएफ र बजाज पल्सर मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीबीच मुख्य प्रायोजन सम्झौता भइसकेको छ । सम्झौताअनुसार कम्पनीले अवार्डका लागि मञ्चलाई चार बजाज पल्सर एनएक्स मोटरसाइकल, विभिन्न उपहार र नगदसहित रु २८ लाख ४० हजार उपलब्ध गराउने छ ।

उत्कृष्ट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट प्रशिक्षक र पिपल्स च्वाइस अवार्डका विजेताले एक÷एक थान पल्सर मोटरसाइकल पुरस्कारस्वरुप प्राप्त गर्नुहुनेछ । उत्कृष्ट युवा खेलाडी, पारा खेलाडी, स्पेशल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डका विजेतालाई जनही रु ५० हजारबाट पुरस्कृत गरिने मञ्चका महासचिव प्रज्वल ओलीले जानकारी दिनुभयो । अब मञ्चले पुरुष वर्ष खेलाडी, महिला वर्ष खेलाडी, प्रशिक्षक तथा युवा खेलाडी विधाका लागि पाँच÷पाँच खेलाडीको नाम सार्वजनिक गर्नेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.