बिचार

गल्ती औंल्याइदिएपछि बर्बराउने हैन, सच्चिने हो

मुलुकको उन्नति र जनताको सुख, समृद्धिका लागि व्यवस्था बदलिएर मात्रै हुँदैन, अघिल्लो व्यवस्थाका शासकहरुलाई गाली गरेर मात्रै पनि उन्नति हुँदैन । अरुलाई गाली गरेर, आलोचना गरेर आफ्नो दूनो सोझ्याउनेहरु फटाहा हुन् ।

नेपालमा व्यवस्था बदलेर मात्र देश र जनताको विकास नहुँदो रहेछ भन्ने दृष्टान्त विगत तीन दशकयताको गतिविधिले देखाइसकेको छ । सत्तामा पुग्ने पार्टी र पात्र बदलिएर मात्रै देश बन्दैन यसका लागि नेताको व्यहोरा र पद्धति पनि बदलिनुपर्छ । यस्तै व्यहोरा र गलत पद्धति अपनाइएका कारण राजनीति गर्नेहरुप्रति जनताको वितृष्णा छ ।

यही वितृष्णा ओकले नेकपा एमालेको १० औं महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिने क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले । अनि नेपाली कांग्रेसका महामन्त्रीमा निर्वाचित भएपछि गगन थापाले पनि ।

लिङदेनले मुलुकमा भएका तमाम राजनीतिक परिर्वतनबाट देशको अवस्थामा सुधार नआएको, देश र जनताका लागि विगतमा संघर्ष गरेका नेताहरु सत्ता, शक्ति र सम्पत्तिका लागि मरिहत्ते गरेको आम जनताले अनुभूति गरेको यथार्थ अभिव्यक्ति दिए । उनले आजभोलि गाउँघरका चौतारामा फलानो नेता आएको छ है सबैजना जाउँ भनेर कसैले भन्यो भने “ए त्यो चोर पो आएछ” भनेर घृणा गर्ने गरेको दृष्टान्त सुनाउँदा महाधिवेशनमा सहभागी (नेताहरु बाहेक) सबैले तालीको गडगडाहटले समर्थन गरे ।

लिङदेनको भनाई थियो– “म आफैंलाई भनुँ कि अरुलाई भनौं, आजभोलि गाउँघर, चौतारामा नेता आउने कुरा गरे चोर आयो भन्छन् । यस्तो किन भयो समीक्षा गरौं ।” अवश्य पनि नेपाली राजनीतिमा ठूलठूला आन्दोलन गरी व्यवस्था परिवर्तन गरेका नेताहरुको व्यहोरा परिवर्तन हुँदा प्रणाली नै असफल हुँदै गएको छ । पार्टीभन्दा पद्धति ठूलो हुनुपर्नेमा यी दुबैभन्दा ठूलो नेता हुने गरेका कारण जो नेताका वरिपरि फन्को लगाउँछन्, उनीहरुको मात्रै कल्याण भएको छ, जनताको दैनिकीमा कुनै सुधार छैन ।

राजनीति गर्नेहरुले इमान देखाउन सक्नुपर्छ र कसैले गल्ती औंल्याइदिए सच्चिने क्षमता राख्नुपर्छ । आफ्नै कर्मले इमान गुमाएर अरुको नजरमा नराम्रो देखिन थालियो भने बर्बराउने हैन सच्चिने प्रयास गर्नुपर्छ । जसले गल्ती स्वीकारेर सच्चिन्छ उसलाई सबैले मान्छन् । तर, नेपालमा गल्ती स्वीकार गरेर सच्चिने कोही पनि देखिएका छैनन् ।

लिङ्देनको अभिव्यक्तिमा सच्चाइ छ, हामी सुध्रने प्रयास गर्छौं भन्नुको साटो राजेन्द्रले बोलिसकेपछि बोल्ने अधिकांश नेताले उनको खोइरो खने । “प्रतिगामी, हिंड्न नजानेको बाच्छो” जस्ता कुतर्क गरेर त्यो कुराको खण्डन गरे । कसैले पनि आफूहरुलाई सुधार्ने वा सच्याउने कुरा गरेनन् । नेताप्रति जनतामा जुन विश्वास थियो, जुन भरोसा थियो र जुन सम्मान थियो आज त्यो सबै हरक्षण क्षय हुँदै गएको छ ।

जनताको मुक्तिदाताका रुपमा उदाएका, जनताको घर–गोठबाट राजनीति सुरु गरेका नेताहरु जब पदमा पुगे तब असाध्यै गनाउन थाले । राजेन्द्र लिङदेनले जे कुरा बोले त्यो मुलुकको यथार्थ हो । यसलाई प्रतिकात्मक रुपमा ‘चोर आयो भन्छन्’ भनिएको हो । यसको अर्थ जनताले नेतालाई सम्मान गर्न छाडे भनेको हो ।

नेपालमा एउटा उखान खुबै चल्तीमा छ– “चोरको खुट्टा काट् भन्नासाथ चोरले खुट्टा तानिहाल्छ” । राजेन्द्र लिङदेनले प्रतिकात्मक रुपमा नेताप्रति जनतामा विश्वास र सम्मान छैन भन्दा हो न हो भित्तो फोर्ने चोर नै भन्यो भन्ठाने र थाले प्रष्टिकरण दिन र उनको आलोचना गर्न । राजेन्द्र लिङदेनको भनाइको जसरी उनीहरुले खण्डन गरे र जसरी अपमानित गरे त्यस्तै शैलीको अभिव्यक्ति गगन थापाले पनि दिएकै हो । जब उनी महामन्त्रीमा निर्वाचित भए तब नेताहरुप्रति जनताको भरोसा छैन, विश्वास कमजोर हुँदै गएको छ र यसलाई सुधार्नुपर्छ भने । यसको ताप्तर्य नेताहरु ‘चोर’ भए भन्ने नै हो तर, गगनको अभिव्यक्तिको कसैले खण्डन गर्न सकेनन् ।

राप्रपाभित्र तेस्रो पुस्ताका नेता मानिने लिङदेनले जसरी बाजी मारे यसको प्रभाव नेपाली कांग्रेसमा समेत देखियो । गगन थापाले त्यस्तै अभिव्यक्ति दिएर नेताहरुलाई खबरदारी गरे । राजेन्द्र लिङ्देन, गनन थापा, विश्वप्रकाश शमार्, धनराज गुरुङ्गहरुको विजयले नेपालका राजनीतिक दलभित्र मडारिएको गुटबन्दी र स्वार्थको पर्खाल भत्काउने अभियानको रुपमा लिन सकिन्छ ।

दशकौंदेखि हालीमुहाली गरिरहेको तर देश र जनताका लागि केही गर्न नसकेकाहरुलाई अब अवकाश दिनैपर्छ । उनीहरु आफूखुसी अवकाशमा जान चाहँदैनन् भने चुनावबाटै पन्छाउनुपर्छ । राप्रपा हुँदै नेपाली कांग्रेससम्म आइपुग्दा देखिएको परिवर्तनको लहर अबको केही वर्षमा पूर्ण हुने अपेक्षा गरौं । नेता गाउँघमा आए जनता भाग्ने हैन फूलमाला लिएर उभिन वातावरण पुनः कामय होस् । नेताहरुमा आफ्ना आसेपासे, गुण्डा र डनहरुको हैन परिश्रमि जनताले खुसीसाथ माला लगाइदिएको हेर्ने समय चाँडै आओस् ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button