कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालले पिसीआरको अतिरिक्त शुल्क लियो
सरकारले कोरोना परीक्षणमा रु दुई हजार मात्र न गरेको निर्देशन विपरित चितवनको कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)ले भिटिएम शुल्क र यातायात खर्च भन्दै थप रु एक हजार लिएको पाइएको छ ।
![PCR](https://www.nepaljapan.com/wp-content/uploads/2020/06/PCR-1.jpg)
कलेजका निर्देशक डा मनोहर प्रधानले पहिले अतिरिक्त शुल्क लिएको स्वीकार गर्दै हाल भने नलिएको जिकिर गर्नुभयो । उहाँका अनुसार यहाँ सङ्कलन गरिएको स्वाब परीक्षणका लागि काठमाडौँको स्टार हस्पिटलमा पठाइँदै आइएको छ । सो अस्पतालले परीक्षण शुल्क रु दुई हजार ४०० लिने हुँदा आफूहरुले यातायात शुल्कसहित रु तीन हजार लिएको स्वीकार गर्नुभयो ।
हाल भने अस्पतालले रु ४०० थप गरेर परीक्षण गराउँदै आएको उहाँको दाबी छ । यद्यपि जिल्लाकै दुई सरकारी अस्पताल र एक मेडिकल कलेजमा पिसिआर परीक्षण हुँदै आएको छ । प्रधानले भने यहाँका अस्पतालले ढिलो नतिजा दिने र सिटी भ्यालुको नतिजा नदिएपछि काठमाडौँ स्वाब पठाउने गरेको बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय चितवनले यहाँको चितवन मेडिकल कलेज र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले स्वाब परीक्षणमा रु ५०० बढी लिएको भन्दै मुद्दा चलाएको छ । कलेजका प्रतिनिधिले रु १८ लाख र क्यान्सर अस्पतालका प्रमुखले रु आठ लाख धरौटी जम्मा गरेर मुद्दा लडिरहेका छन् ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले सो मेडिकल कलेजले अतिरिक्त शुल्क लिएको जानकारी प्राप्त भएको भन्दै कारवाही प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्