चार महिनामा तीन खर्ब ३७ अर्ब बराबरको विप्रेषण भित्रियो
प्रमुख श्रम गन्तव्य मुलुकमा कोरोना कहर जारी रहेको भए पनि चालू आर्थिक वर्षको चार महिनामा कूल रु तीन खर्ब ३७ अर्ब ७२ करोड बराबरको विप्रेषण स्वदेशमा भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज चालू आवको कात्तिक मसान्तसम्मको मुलुकको आर्थिक विवरण सार्वजनिक गर्दै विप्रेषण आप्रवाहमा वृद्धि भएको जनाएको हो ।

प्रमुख श्रम गन्तव्यमा कोरोना महामारी जारी रहेको अवस्थामा पनि विप्रेषण आप्रवाहमा उल्लेख्य वृद्धि भएको केन्द्रीय बैंककोे विवरणमा समावेश छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २.८ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.४ प्रतिशतले वृद्धि भई २ अर्ब ८५ करोड पुगेको छ ।
अघिल्लो वर्ष यस्तो आप्रवाह १.९ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या ७५.८ प्रतिशतले कमी आई १९ हजार २५१ मात्रै रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ५.६ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ६७.९ प्रतिशतले कमी आई २५ हजार ९३१ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ९.१ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर ८.८ प्रतिशतले वृद्धि भई रु तीन खर्ब ७३ अर्ब चार करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २.९ प्रतिशतले घटेको थियो ।
प्रतिक्रिया राख्नुहोस्