समाचार

कांग्रेस प्रदेश २ अधिवेशनमा कुटाकुट : पाँच सदस्य निर्विरोध

नेपाली कांग्रेसको प्रदेश २ समितिको अधिवेशन अन्तर्गत सभापतिका उम्मेदवार कृष्ण यादव र रामसरोज यादव पक्षबीच कुटाकुट भएको छ ।

जनकपुरधाममा भइरहेको अधिवेशनमा संस्थापन पक्षका उम्मेदवार कृष्ण यादवले बुधबार नै मतदान गर्नुपर्ने र विमलेन्द्र निधि पक्षका उम्मेदवार रामसरोज यादवले बिहीबारका लागि निर्वाचन सार्नुपर्ने भनेपछि विवाद भएको हो ।

सो क्रममा भएको कुटाकुटमा कांग्रेसका केही कार्यकर्ता घाइते भएका छन् । निर्वाचन समितिले प्रदेश २ मा बुधबार नै निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो ।

दुई पक्षबीच कुटाकुट भएपछि बुधबारका लागि निर्वाचन कार्यक्रम स्थगित भएको छ । अब बिहीबार विहान ८ बजेदेखि मतदान हुने निर्वाचन समितिका संयोजक प्रल्हाद गौतमले जानकारी दिनुभयो ।

यसै गरी अधिवेशनमा पाँचजना सदस्य निर्विरोध निर्वाचित भएका छन् । जिल्ला र समावेशी सूची अन्तर्गतको निर्धारित कोटामा एक/एक जनाको मात्र उम्मेद्वारी परेकाले पाँचजना सदस्य पदमा निर्विरोध निर्वाचित भएको प्रदेश निर्वाचन समितिले जनाएको छ ।

निर्विरोध हुनेमा जिल्लाबाट प्रदेश सदस्य खुल्लामा सप्तरीका आशाराम चौधरी, महिला सदस्यमा सप्तरीकी बिमलादेवी साह, महोत्तरीकी उषा देवकोटा र पर्साकी किरणकुमारी शर्मा निर्विरोध भएको निर्वाचन समितिका संयोजक गौतमले जानकारी दिनुभयो ।

त्यस्तै प्रदेश सदस्य आदिवासी जनजातिबाट मनमाया तामाङ निर्विरोध भएको निर्वाचन संयोजक गौतमले बताउनुभयो । प्रदेश सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्रीलगायत बाँकी पदका लागि आज दिउँसो २ः३० बजेपछि मतदान हुने जनाइएको छ । अन्तिम नामावली प्रकाशन भएपछि अहिले मतपत्र छपाउने काम भइरहेको र त्यो सकिएपछि मतदान सुरु हुने निर्वाचन समिति संयोजक गौतमले बताउनुभयो ।

पार्टीको प्रदेश २ को नयाँ नेतृत्वका लागि कांग्रेस रौतहटका सभापति कृष्णा यादव र प्रदेश– २ संसदीय दलका नेता रामसरोज यादवबीच प्रतिस्पर्धा हुँदैछ । प्रदेश समितिको विभिन्न ७२ पदका लागि १७४ जनाको उम्मेद्वारी परेको छ । जसमध्ये ६ जनाले आफ्नो उम्मेद्वारी फिर्ता लिएको निर्वाचन समितिले जनाएको छ । प्रदेश २ का ८ जिल्लाको ३२ सङ्घीय निर्वाचन क्षेत्र र ६४ प्रदेश निर्वाचन क्षेत्र समेत गरी दुई हजार मतदाता रहेको जनाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.