जापान

सन्दर्भ : बुवा सम्राट आकिहितोको ८८ औं जन्मदिन

आज जापानका बुवा सम्राट आकिहितोको ८८ औं जन्मदिन हो । १९३३ डिसेम्बर २३ मा जन्मिएका आकिहितोले १९८९ जनवरी ७ देखि २०१९ अप्रिल ३० सम्म (३० वर्ष ३ महिना) जापानका १२५ औं सम्राटका रूपमा शासन गरेका थिए ।

२०१९ अप्रिल ३० मा आफ्नो बढ्दो उमेर र घट्दो स्वास्थ्यलाई उद्धृत गर्दै आफ्ना जेठा छोरा युवराज नारुहितोलाई राजगद्दी सुम्पिएर आफू Emperor Emeritus अर्थात् जापानीमा 太上天皇 (दाइजोउ तेन्नो), छोटकरीमा 上皇 (जोको), अर्थात् बुवा सम्राट (मेरो नेपाली ट्रान्सलेशन) भएका छन् ।

सम्राटलाई जापानमा उनको नामले सम्बोधन गरिँदैन । उनको शासनकाल भरि उनलाई 天皇陛下 (तेन्नो हेका) अर्थात् “महाराज सम्राट” (छोटकरीमा 陛下 हेका, अर्थात् महाराज) भनेर सम्बोधन गरिन्छ । १९८९ देखि २०१९ सम्मको अकिहितोको शासनकाललाई 平成 (हेइसेइ) नामकरण गरिएको थियो । त्यसैलाई उनलाई平成天皇 (हेइसेइ तेन्नो) अर्थात् सम्राट हेइसेइ (Emperor Heisei) भनेर चिनिन्छ।

लेखक वेद काफ्ले

सन् २०१८ सम्म आजको दिनमा जापानमा सार्वजनिक बिदा हुने गर्थ्यो र उनलाई जन्मदिनको शुभकामना दिनका लागि हुलका हुल जनता राजदरवार जाने गर्दथे । परिवार तथा साथीहरूसँग डिसेम्बर २३ मा केयौँ पटक राजदरवार गएको मेरो पनि अनुभव छ ।

अहिलेका नयाँ सम्राट नारुहितोको जन्मदिन फेब्रुअरी २३ तारिकमा सार्वजनिक बिदा हुन्छ र उक्त दिन उनलाई शुभकामना दिन जनता राजदरवार जान पाउँछन् । यहाँ रानीहरूको जन्मदिन भने सार्वजनिक रूपमा मनाउने चलन छैन ।

सम्राट आकिहितोका बारेमा केही जानकारीः

सन् १९३३ डिसेम्बर २३ मा जापानका तत्कालीन सम्राट हिरोहितो (जसलाई Emperor Showa, शोवा तेन्नो भनेर चिनिन्छ र उनको शासनकाललाई शोवा भनिन्छ) र महारानी कोजुनका जेठा छोराका रुपमा अकिहितोको जन्म भएको थियो । दोस्रो विश्वयुद्धका बेलामा सुरक्षाका लागि उनी आफ्ना सहपाठीहरूसँग टोकियोबाट १०० किलोमिटर जति उत्तरमा पर्ने निक्को भन्ने ठाउँमा गएर सन् १९४५ सम्म बसेका थिए ।

उनी बालिक भएपछि सन् १९५२ मा उनीलाई युवराज घोषणा गरियो । त्यसपछि उनी युवराजका हैसियतमा आधिकारिक कर्तव्यहरू गर्न थाले । १९५३ मा उनीले बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको राज्याभिषेक समारोहमा जापानको प्रतिनिधित्व गरे । सन् १९५६ मा विश्वविद्यालयको शिक्षा पूरा गरी १९५९ मा मिचिको शोदासंग विवाह बन्धनमा बाँधिए । उनको विवाह समारोहलाई जापानी टेलिभिजनमा पहिलो पटक प्रसारण गरिएको थियो (अर्थात् आजभन्दा ६२ वर्ष पहिलेदेखि जापानी टिभी प्रसारणमा सार्वजानिक समारोहका भिडियो देखाउन थालिएको थियो)।

राजदम्पतीका तीन सन्तान जन्मिए: दुई छोरा नारुहितो र फुमिहितो, र एक छोरी सायाको ।

सन् १९८९ मा आफ्ना बुबा सम्राट शोवाको मृत्युपछि आकिहितोले जापानको राजगद्दी सम्हाले । सन् १९९० मा उनको राज्याभिषेक समारोह सम्पन्न भयो, जसमा नेपालबाट युवराज दीपेन्द्र पनि सहभागी भएका थिए ।

दुःख सुखका बेलामा राजपरिवारलाई जापानी जनताका समीपमा पुर्याउदै जनताको माया जित्ने काममा सम्राट आकिहितोको ठूलो योगदान छ । प्रकृति संरक्षण तथा जापानी इतिहासका बारेमा उनी विशेष चाख राख्दछन् । विश्व शान्ति प्रवर्धनमा पनि उनको गहिरो चासो छ ।

उनी युवराज हुँदा नेपालको दुई पटक भ्रमण गरेका छन् । सन् १९६० मा पहिलो पटक युवराज्ञी मिचिकोका साथमा नेपाल भ्रमणमा गएका थिए भने सन् १९७५ राजा विरेन्द्रको राज्याभिषेक समारोहमा सरिक हुन दोस्रो पटक नेपाल भ्रमण गरेका थिए ।

८८औं जन्मदिनमा बुवा सम्राटलाई स्वस्थ, दीर्घ जीवनका लागि शुभकामना !

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.