राजनीति

आफूलाई ११५ सिट प्रत्यक्ष र ५० लाख समानुपातिक मत दिन प्रधानमन्त्री ओलीको आव्हान

प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकास गर्ने आफ्नो सपना पूरा गर्न आगामी निर्वाचनमा दुई तिहाई मत चाहिने भन्दै प्रत्यक्षतर्फ ११५ सिट र समानुपातिकबाट ५० लाख मत दिन आव्हान गर्नुभएको छ । बुधबार साँझ योहो टेलिभिजनमा पत्रकार जीवराम भण्डारीसंगको अन्तरवार्तामा नेकपा अध्यक्ष समेत रहनुभएका ओलीले सो आव्हान गर्नुभएको हो ।

दुई तिहाई नजिकको सरकार हुँदाहुँदै किन संसद विघटन गरेको भन्ने प्रश्नको उत्तरमा प्रधानमन्त्री ओलीले दुई तिहाई नजिकको भए पनि त्यो दुई पार्टी एक भएर आएको र सो मतले आफूलाई काम गर्न सहज नभएको भन्दै एकल दुई तिहाहाई चाहिने बताउनुभएको हो ।

सत्तारुढ दलभित्र अझै पनि प्रचण्ड, माधव नेपाल, झलनाथ खनालहरुको स्थान रहेको र उहाँहरुलाई आफूले निष्काशन नगरेको बताउँदै ओलीले आफूलाई प्रचण्डले पाटीबाट निकालेको भन्नु डेरावालले घरबेटीलाई निकाले भनेजस्तै भएको पनि बताउनुभयो ।

लोकतान्त्रिक बहुदलीय व्यवस्थामा आम निर्वाचनबाट कोही पनि भाग्न नहुने भए पनि प्रचण्ड, नेपाल समूह निर्वाचनबाट डराएर संसद पुनःस्थापनाको कुतर्क गरिरहेको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो उहाँहरु ९९ सयबाट एकैपटक २ मा झर्ने स्थिति रहेकाले निर्वाचनबाट डराएको आरोप समेत लगाउनुभयो ।

प्रधानमन्त्री ओलीले अहिले नेकपामा आएको विवादमा आफ्नो माधवकुमार नेपाल, झलनाथ खनाललगायतसँग कुनै गुनासो नभएको स्पष्ट पार्नुभएको छ । उहाँले अहिलेको विभाजन पनि नेपाल खनालसँग नभएर प्रचण्डसँग भएको बताउँदै भन्नुभयो विभाजन भएको प्रचण्डजी र मेरो हो । पेरिस डाँडामा मेरो हकदाबी छैन । बल्खु र धुम्बाराहीको दाबीमा उहाँले राजनीतिक संस्कार सिक्नुपर्छ । मैले प्रचण्डजीसँग विभाजन गरेको हो । नेपाल, झलनाथ वा नारायणकाजीसँग विभाजन गरेको हैन ।

प्रधानमन्त्री ओलीले भारतले मिचेको नेपालको भूमी समेटेर आफूले नक्सा छापेपछि आफूमाथि प्रहार भएको बताउँदै आफ्नै पार्टीका नेताहरुले पनि यो कदमपछि आफूलाई समस्यामा पारेको र आफ्नो पहिलो कार्यकालमा पनि चीनसँग नजिक भएपछि घेराबन्दी गरिएको स्मरण गर्नुभयो ।

चेसको खेलमा मैले हात्ती खाए, मैले घोडा खाएँ, मैले उँट खाए भनेजस्तो राजनीति नहुने बताउँदै ओलीले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचनको विपक्षमा रहेको विषयमा पनि व्यंग्य गर्नुभयो । उहाँले भन्नुभयो, रामचन्द्रजीले अब निर्वाचन जितेर सांसद बन्ने, प्रधानमन्त्री बन्ने सम्भावना छैन । उहाँले निर्वाचनको स्वागत गरेर कांग्रेसको सभापति बन्नतिर लाग्नुपर्छ ।

पार्टी अझै विभाजित नभएको र आफू नेकपाको निर्वाचन अध्यक्ष रहेको बताउँदै प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा देशमा अभूतपूर्व विकास भएको दलिल पेश गर्दै आफ्नो कुनै व्यक्तिगत स्वार्थ नभएको र बाँकी जीवन देशको विकास र समृद्धिमा लगाउने चाहना भएकाले ताजा जनादेशबाट दुई तिहाईको सरकार बनाएर देश विकास गर्ने उद्देश्यका साथ निर्वाचनको घोषणा गरेको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.