जन सरोकार

पाँच वर्षमा भूकम्पले क्षतिग्रस्त साढे पाँच लाख ५६ निजी आवास पुनःनिर्माण

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त पाँच लाख ५६ हजार ४८७ निजी आवास पुनःनिर्माण सम्पन्न भएको छ । पुनःनिर्माणका लागि सात लाख ९६ हजार २४५ लाभग्राहीसँग सम्झौता गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

एक लाख ६८ हजार ८३ अर्थात् २१ प्रतिशत लाभग्राही घर पुनःनिर्माणको अन्तिम चरणमा रहेको प्राधिकरणले आज आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

लाभग्राही सूचीमा रहेका भूकम्प पीडितले चालु आर्थिक वर्षमा निजी आवास पुनःनिर्माण सम्पन्न गर्नुपर्ने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिनुभयो । प्राधिकरण स्थापनाको पाँच वर्ष पूरा गरी छैटौँ वर्षमा प्रवेश गर्दा छ लाख ३४ हजार ९७३ गुनासो सम्बोधन गरिएको छ । गुनासो सम्बोधनबाट एक लाख छ हजार ४६५ पुनःनिर्माण लाभग्राही कायम भएका छन् । गुनासो सम्बोधनबाट प्रबलीकरण लाभग्राही सूचीमा समावेश हुनेको सङ्ख्या ६७ हजार ६८१ रहेको छ ।

प्राधिकरणले गरेको गुनासो सुनुवाइमा चित्त नबुझ्नेले सम्बन्धित जिल्ला तहमै उजुरी दर्ता गर्न सक्ने व्यवस्था छ । यसरी दर्ता गरिएका गुनासो उच्च अदालतका न्यायधीशको अध्यक्षतामा रहेको पुनरावेदन समितिले निर्णय गर्ने व्यवस्था भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माण सम्बन्धी ऐन २०७२ मा छ ।

जोखिम वर्गका २४२ घर पुनःनिर्माण

जोखिम एवं विपन्न वर्गका लाभग्राहीको घर तोकिएको समयमा पुनःनिर्माण गर्न ९०० घुम्ती डकर्मी र २५४ सामाजिक परिचालक अति प्रभावित १४ जिल्लामा खटाइएको छ । यसरी खटाइएका जनशक्तिको सहयोगमा जोखिम वर्गका २४२ घर पुनःनिर्माण सम्पन्न भएको छ । भूकम्पपछि असुरक्षित स्थानमा रहेका चार हजार २५७ लाभग्राहीलाई सुरक्षित आवासका लागि जग्गा व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ । ११ हजार ४३७ भूमिहीन तथा सुकुम्वासी लाभग्राहीलाई साविककै स्थानमा घर बनाउन अनुमति दिइएको छ । एक हजार ३५१ लाभग्राहीलाई जग्गा खरिद गर्न अनुदान उपलब्ध गराउने निर्णय भएको जनाइएको छ ।

५० एकीकृत बस्ती पुनःनिर्माण

निर्माणधीन १३० एकीकृत बस्तीमध्ये ५० वटाको पुनःनिर्माण सम्पन्न भएको छ । अरु एकीकृत बस्ती पुनःनिर्माण भइरहेको जनाइएको छ । हालसम्म कायम भएका पुनःनिर्माण लाभग्राहीले मङ्सिर मसान्तसम्म अनुदान सम्झौता गरी पुस १५ सम्म पहिलो किस्ता लिइसक्नुपर्ने समयसीमा प्राधिकरणले तोकेको छ । पहिलो किस्ता लिएका लाभग्राहीले जग निर्माण सम्पन्न गरी माघ मसान्तसम्म दोस्रो किस्ताका लागि सम्बन्धित स्थानीय तहमा प्रमाणीकरणका लागि निवेदन दिनुपर्ने समयसीमा छ । पुनःनिर्माण र प्रबलीकरण लाभग्राहीले सम्पूर्ण पुनःनिर्माण सम्पन्न गरी २०७८ वैशाख मसान्तसम्म निवेदन पेश गरिसक्नुपर्ने छ ।
भूकम्प प्रभावित ४६५ सम्पदा पुनःनिर्माण

भूकम्पले क्षतिग्रस्त ९२० सम्पदामध्ये ४६५ को पुनःनिर्माण सम्पन्न भएको छ । भत्किएका सात हजार ५५३ विद्यालयमध्ये छ हजार ८५ अर्थात् ८१ प्रतिशतको पुनःनिर्माण सम्पन्न भएको छ । एक हजार ४६८ विद्यालय पुनःनिर्माणको क्रममा रहेको छ । बनाउनुपर्ने एक हजार १९७ स्वास्थ्य संस्थामध्ये ६९८ को पुनःनिर्माण सम्पन्न भएको छ । बाँकी स्वास्थ्य संस्था चालु आवमै सम्पन्न गर्ने प्राधिकरणको लक्ष्य छ । भत्किएका ४१५ सरकारी भवनमध्ये ३७४ अर्थात् ९० प्रतिशतको काम सम्पन्न भएको छ । ३८ सरकारी भवन पुनःनिर्माणको चरणमा रहेको जनाइएको छ । प्राधिकरण अन्तर्गत पुनःनिर्माण भइरहेका सुरक्षा निकायका २१६ संरचनामध्ये २१४ को पुनःनिर्माण सम्पन्न भएको छ । दुई वटा सुरक्षा निकायका भवन पुनःनिर्माणको चरणमा रहेको छ ।

भूकम्प प्रभावित २९४ गुम्बा मर्मत

क्षति भएको एक हजार ३२० गुम्बामध्ये ८९५ को पुनःनिर्माण गर्नुपर्नेछ । ४०२ गुम्बा मर्मत गर्नुपर्ने जनाइएको छ । २९४ को मर्मत सम्पन्न भएको छ । हाल १०८ को मर्मत भइरहेको छ । सय वर्षभन्दा पुराना र दुई हजार वर्ग फिटभन्दा बढी ‘प्लिन्थ एरिया’ भएका २६४ गुम्बामध्ये ३६ वटाको पुनःनिर्माण अघि बढेको छ । त्योभन्दा सानो आकारका ६२१ गुम्बामध्ये १०१ को पुनःनिर्माण अघि बढेको छ ।

प्रभावित जिल्लाका ४४३ किमी सडक पुनःनिर्माण

भूकम्प प्रभावित जिल्लामा बनाउनुपर्ने ७६२ किमी सडकमध्ये ४४३ किमीको काम सम्पन्न भएको छ । ३१९ किमी सडकको पुनःनिर्माण अन्तिम चरणमा रहेको प्राधिकरणले जनाएको छ । खानेपानी विभाग मार्फत् हजार वटा खानेपानी योजना सम्पन्न भएका छन् । कार्यक्रममा प्राधिकरणका सचिव सुरेश आचार्यले माघ महिनामै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारको मूल भवनमा सर्ने गरी पूर्वी भागको प्रबलीकरण भइरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.