एमालेसंगको एकता भंग हुनुको आत्मसमीक्षा गर्नुपर्छ
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग गरेको पार्टी एकता गल्ती नभए पनि एकता भंग के कारणले भयो त्यसको आत्मसमीक्षा गर्नुपर्ने बतानुभएका छ ।

पार्टीको आठौं महाधिवेशनको उद्घाटन कार्यक्रममा अध्यक्ष प्रचण्डले आफूले आठौं महाधिवेशनमा पेश गर्ने राजनीतिक दस्तावेजमा सबैभन्दा बढी आफ्नै आत्मसमीक्षा गरेको बताउँदै भन्नुभयो, ‘मैले आफैंलाई चिरफार गरेको छु’ ।
‘हामी शान्ति प्रक्रियमा आएपछि कहाँकहाँ चुक्यौँ, विचार, संरचनाको क्षेत्रमा रणनीतिक कुरामा कहाँ कहाँ चुक्यौँ । यो प्रस्तावमा सबैभन्दा बढी आत्मसमीक्षा मैले मेरो गरेको छु’, प्रचण्डले भन्नुभयो, ‘जनयुद्धको तयारी र नेतृत्व गर्ने अवसर मलाई जुट्यो । शान्ति प्रक्रिया, संविधान निर्माणको अवसर मलाई नै मिल्यो । माओवादी कमजोर हुनुमा मैले अरुलाई आरोपित गरेर हुँदैन । मैले आफैंलाई चिरफार गरेको छु ।’
प्रचण्डले आफ्नो दस्तावेजमा सच्चा कम्युनिष्टको आन्दोलनलाई अगाडि बढाउने कुरा समेटेको उल्लेख गर्नुभयो । ‘मेरो दस्तावेजले हामी सबैलाई नेपालमा सच्चा कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउने विषय प्रस्तुत गरेको छ’, प्रचण्डले भन्नुभयो, ‘तपाईंहरु सबै गम्भीर आत्मसमीक्षाका साथ महाधिवेशनमा प्रस्तुत हुनुहुनेछ भन्ने मेरो विश्वास छ ।’
महाधिवेशनमा विज्ञान र प्रविधिको प्रभावको समीक्षा गरेको उल्लेख गर्नुभयो । विज्ञान र प्रविधिले समाजवादको सम्बन्धलाई आफूले समीक्षा गरेको उहाँले उल्लेख गर्नुभयो । विज्ञान प्रविधिको विकासले धनी र गरिबको खाडल झन् बढेको उहाँको ठहर छ । समाजवादको आवश्यकता अझ बढी भएको आफ्नो दस्तावेजमा उल्लेख भएको उहाँले बताउनुभयो।
यो देशका उत्पीडितको हक र हितका लागि के गर्न सकिन्छ भन्ने नयाँ कार्यनीति र रणनीति प्रस्तुत गरिएको प्रचण्डले बताउनुभएको छ ।
दस्तावेजमा जलवायु परिवर्तनको विषयलाई प्राथमिकता दिएको उहाँले उल्लेख गर्नुभएको छ । विज्ञान र प्रविधिको विकासमा समुन्द्र भित्रका थुप्रै जलचर नष्ट भएको र मानिसमा देखिएको असरबारे कस्तो भूमिका खेल्न सकिन्छ भन्ने कुरालाई उल्लेख गरेको उहाँले बताउनुभयो । विश्वलाई रोगले किन सतायो भन्ने कुरालाई मन्थन गर्ने योजनासमेत आफूले गरेको प्रचण्डले बताउनुभयो ।
अध्यक्ष प्रचण्डले महाधिवेशनको उद्घाटन सत्रमा सहभागी एमाले महासचिव शंकर पोखरेलले नेकपाको एकता जोगाउन नसकेकामा पछुतो भएको बताउनु भएपछि सो टिप्पणी गर्नुभएको हो ।
अध्यक्ष प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पछिल्लो समय धेरै नजिक भएर काम गरेको भन्दै प्रचण्डले गठबन्धन भन्दा अगाडि बढ्न चाहेको टिप्पणी गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्