राजनीति

चिनीया टोलीले सुरु गर्यो राजनीतिक भेटघाट, आएकै दिन राष्ट्रपति र प्रधानमन्त्रीसंग वार्ता

चिनियाँ कम्युनिस्ट पार्टी, केन्द्रिय कमिटी, अन्तर्राष्ट्रिय विभाग उपमन्त्री कुओ येचौ

नेपालको सत्ता राजनीतिमा देखिएको उथलपुथलकाबीच चारदिने भ्रमणमा आएको चीनको उच्चतहको राजनीतिक नेतृत्वले आइतबारबाटै आफ्नो भेटवार्ता सुरु गरेको छ ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी आन्तरिक विवाद मिलाउन आएको विश्वास गरिएको चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौ, महानिर्देशक छुई यानसहितको ४ सदस्यीय टोलीले साँझ राष्ट्रपति विद्यादेवी भण्डारी र कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको छ ।

एयर चाइनाको चार्टर विमानबाट काठमाडौं उत्रनासाथ प्रतिनिधिमण्डल चिनियाँ दूतावासमा राजदूत हाउ यान्छीबाट वस्तुस्थितिको ‘ब्रिफिङ’ लिएर शीतलनिवासमा राष्ट्रपति भण्डारीलाई भेट गर्न पुगेको थियो । तर सो भेटवार्ताको विषयवस्तुबारे जानकारी गराइएको छैन ।

राष्ट्रपतिसँगको छलफललगत्तै प्रतिनिधिमण्डल प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेको थियो । ओली र चिनियाँ विशेष टोलीबीच भेटवार्ता भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले ट्वीटमार्फत जनाउनुभएको छ ।

निजी भ्रमणको शैलीमा आएका चिनीया विशिष्ट अधिकारीलाई उनीहरूकै चाहनाबमोजिम ओहदा अनुसारको एस्कर्टिङ र अंगरक्षक उपलब्ध गराइएको थिएन । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार चिनियाँ दूतावासले पत्र लेख्दै ‘प्रोटोकलसहितको सुरक्षा’ दूतावास स्वयंले व्यवस्था गर्ने जानकारी गराएको थियो ।

विमानस्थलमा उत्रँदासमेत स्वास्थ्य सुरक्षाको सतर्कतासहित चिनियाँ नेताहरू पीपीई ड्रेस लगाएरै आएका थिए । उनीहरूलाई लिन राजदूत यान्छी विमानस्थल पुग्नुभएको थियो । प्रतिनिधिमण्डलको स्वागतका लागि परराष्ट्रका अधिकारी र नेकपाका नेताहरू कोही पनि उपस्थित थिएनन् ।

प्रतिनिधिमण्डलले सोमबार नेता माधवकुमार नेपाल तथा पुष्पकमल दाहालसँग छुट्टाछुट्टै भेटवार्ता गर्नेछ । यो टोलीको कम्युनिस्ट पार्टीबाहेकका प्रतिपक्षी र अरू दलका प्रतिनिधिसँग भेटघाट हुनेबारे खुलाइएको छैन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.