राजनीति

प्रतिनिधिसभा पुनःस्थापना हुनेमा कांग्रेस विश्वस्त

वरिष्ठ नेता रामचन्द्र पौडेल
काठमाडौं । सरकारले प्रतिनिधिसभा विघटन गरेको बिरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशभर बिरोध प्रदर्शन गरेको छ । बिरोध प्रदर्शनपछि पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्दै अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने कुरा बताए ।
यस क्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अदालतले प्रतिनिधिसभा पुनःस्थापनाका पक्षमा फैसला गर्नेमा आफूहरु विश्वस्त रहेको बताउनुभएको छ । नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर २ ले भीमादमा आयोजना गरेको विरोधसभालाई सम्बोधनका क्रममा वरिष्ठ नेता पौडेलले सरकारले प्रतिनिधिसभा विघटन गरेर गल्ती गरेको र अदालतले त्यसलाई सच्याउने विश्वास व्यक्त गर्नुभयो ।
वरिष्ठ नेता पौडेलले भन्नुभयो, “सर्वोच्च अदालतले सरकारको गल्ती सच्याउनैपर्छ, अब भरोसा भनेको अदालतसँग मात्र छ ।” मुलुकलाई संकटबाट बचाउन पनि प्रतिनिधिसभा पुनःस्थापना हुनैपर्ने उहाँको जिकिर थियो ।
नेपाल कम्युनिष्ट पार्टीको विवादसँग जोडेर प्रतिनिधिसभा विघटन गरिनु दुःखद् भएको पौडेलको भनाइ थियो । “संविधानमा संसद् विघटनको व्यवस्था नै छैन, व्यवस्थामा नै नभएको कुरा सरकारले गरेको छ”, उहाँले भन्नुभयो, “संविधानको रक्षक राष्ट्रपतिबाट पनि गलत कामको समर्थन भएको छ ।”
सो अवसरमा कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेसमा केही कमजोरी रहे पनि दवावपूर्ण आन्दोलन गर्न सके मात्र लोकतन्त्र बच्ने बताउनुभयो । प्रतिनिधिसभा विघटनको विरोध गर्दै कांग्रेस तनहुँले दुई निर्वाचन क्षेत्रमा विरोधसभा गरेको थियो । तनहुँ– १ को दमौली र २ को भीमादमा भएको सभालाई वरिष्ठ नेता पौडेलले सम्बोधन गर्नुभएको थियो ।

वरिष्ठ नेता रामचन्द्र पौडेल

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.