बिचार

घरझगडामा रमाउने संकीर्ण सोच छाडौं- सकारात्मक बनौं

दिपेन्द्र अधिकारी

‘अमीबा’ सधै जैविक वर्गीकरण सिद्धान्तको आधारमा फुट्छ । विकसित हुन्छ र फेरी फुट्छ । संसारमै बामपन्थीहरू पनि फुट्ने, विकसीत हुने, फेरी फुट्ने प्रक्रिया चलिरहन्छ । तर फुट्नुको कारण सिद्धान्त विचार नै हुनुपर्छ । तर नेपालमा बामपन्थीहरूको फुट अलि बुर्जुवा खालको छ । सिद्धान्तमा भन्दा पनि व्यवस्थापनमा आफ्नो हैसियत के हुन्छ भनेर सामान्ती संकीर्ण सोचले स्थान पाएको छ । यो सामाजिक परीवेशको दोष हो । जस्तै घरमा हिजोकी वुहारी आजकी सासु । कसैकी छोरी घरकी वुहारी । घर संचालनमा कार्यकारी अधिकार बुहारीको हुने कि सासुको ? यदि व्यवस्थापनमा कुनै समस्या आएन र सोच फराकिलो पारियो भने घर संचालनको कार्यकारी अधिकार बुहारीसंग हुन्छ जसको परिणाम सासु सम्मानित भएर आनन्दको आरामदायी जीवन बिताउन पाउँछिन ।



तर, हाम्रो समाज अझै, बुहारी आएपछि पनि घरको आधिपत्य सासुले नै जमाउन खेज्छिन् र प्रायः सासु बुहारी मिल्दैनन् । राजकीय स्वरूप पनि यस्तै छ । बुर्जुवा राजकीय स्वरूपमा बाँचिञ्जेल राजा हुन पाउनुपर्छ भन्ने संस्कृति छ । यो रोगबाट नेपालका बामपन्थी चोखिन सकेनन् । त्यसैले बाँचिञ्जेल कार्यकारी हुन खोज्नु, अधिनमा बस्न नसक्नु, पटक पटक प्रधानमन्त्री हुन नाजायज खेल खेल्नु नै सबैभन्दा गलत हो । कुन ठीक कुन बेठीक ब्यक्तिको कुरा गर्दिन । तर कार्यकर्ता, जनतालाई एक आपसमा फुटाइएको छ । फक्ल्याक्क फुट्दा दुवैतिर गलत मनसायका मान्छे पनि छन् , राम्रा मान्छे पनि छन् । त्यसैले यो सब बेकार । हामी मात्र बेवकुफ बनिरहेका छौं ।

राजनीतिज्ञलाई दोष दिएर, एक आपसमा लडाउने दोहोरी खेल बन्द गर्नु आवश्यक छ भोलिका छोरा नाती नातिनीहरूको लागि पनि । एक सचेत नागरिक बनौ । एउटा कुरा चीन विशाल सामाजवादी देश विश्व अर्थतन्त्रमा एक नम्वर हुने क्रममा छ । सन् २०२८ सम्म अमेरिकालाई उछिनेर विश्वको पहिलो आर्थिक शक्ति बन्ने भविष्यवाणी भैसकेको छ । त्यस्तै अन्य धेरै देशहरु जहाँ वामपन्थी कमजोर भए पनि देशको अर्थनीति बनाउँदा बामपन्थी नेतालाई समावेश गरेर राखेका हुन्छन् । जस्तै जापान, भारत पनि उदाहरण हो । वामपन्थी गलत हैनन् तर फरक विचारसंग सशक्त प्रतिकार गर्नुको कारण नै छिटो छिटो फुट हुनु हो ।

माक्र्सवादको सिद्धान्त धेरै देशहरूले पूँजीवादी नामबाट अंगालिसकेका छन् । विश्वका पूँजीवादीहरूको निशाना चीन माथी छ । चीन सशक्त हुनुमा माक्र्सवाद, माओवादको सिद्धान्तले मात्र हैन चिनीयाँहरूको हिजोदेखिकै कल्चरले जनतालाई सधै माक्र्सवादी सिद्धान्तमा अडिक रहेर निरन्तर पूँजी विकास, उत्पादन र, निर्माणमा लागिरहन प्रेरित गरिरहेको हुन्छ । हामी नेपालीको बानी चिनीयाँ नेपाल आएर हस्तक्षेप गरे भन्छम । तर त्यो हैन । चिनीयाँहरूले नेपाललाई माया गर्छन्, यहाँ लगानी गरेका छन् । समृद्धिको बाटोमा लम्किन फुटेर हैन जुटेर जानु पर्छ भन्ने सन्देश लिएर आएका हुन् । तर आन्तरिक हस्तक्षेप गर्दैनन् ।

हामी नेपालीले मौसमे कुरा गरेर कहिले भारतलाई गाली गर्ने, कहिले चीनलाई गाली गर्ने कमजोर र फुटको मानसिकता त्याग्नु पर्छ । २१ औ शताब्दी हो शंका र संकीर्ण भएर हैन लचक भएर, भारत, चीन, अमेरिका, जापान लगायत सबै मुलुकसंग राम्रो कुटनैतिक सम्बन्ध राख्न सकियो र हाम्रो आफ्नै संस्कार र संस्कृतिलाई पनि विकसित गर्न सकियो भने पक्कै पनि नेपाल दोस्रो स्वीजरल्याण्ड बन्न समय लाग्दैन । नत्र सधैं घरझगडामा आनन्दित भएर बस्ने, फलानोले फलानोलाई पछार्यो, भन्दै त्यसैमा थपडी बजाइरहने बानी मात्र लाग्छ ।

हामी प्रत्येक नेपाली (स्वदेशमा बसेका हौ वा विदेशमा) अनि प्रत्येक राजनीतिकर्मी, समाजसेवी, शिक्षा, स्वास्थ्य, कानुन, हरेक क्षेत्रमा जसर विभक्त भएर एकले अर्कोलाई पछार्ने खेलमा लाग्ने र रमाउने गरिरहेका छौं यसैको परिणाम हो हाम्रो पछौटेपन । सबै कुरा भएर पनि माग्ने बन्दै जानुको मूल कारण इन्द्रचोकको भरियो हैन, यो देशको नीति निर्माणको तहमा पहुँच पुगेकाहरु नै हुन् । तसर्थ अब मेरो वा तेरो हैन नेपाल र नेपालीको भन्ने संस्कारको विकास गरौं ।

(लेखक जापानमा रहेर समसामयिक बिषयमा कलम चलाउनु हुन्छ ।)

सम्बन्धित खबर

Back to top button