काठमाडौंमा प्रचण्ड नेपाल नेकपाको विरोध प्रदर्शनमा शीर्ष नेता सहभागी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध मंगलबार देशव्यापी विरोध प्रदर्शन शुरु गरेको छ । काठमाडौंको भृकुटी मण्डपबाट सुरु भएको प्रदर्शनमा पार्टीका शीर्ष नेताहरु सहभागी छन् ।
यही पुस ७ देखि ९ गतेसम्म बसेको नेकपा केन्द्रीय कमिटी बैठकले पुस १४ गते प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी जनप्रदर्शन गर्ने निर्णय गरेको थियो । भृकुटीमण्डपबाट शुरु भएको प्रदर्शनमा शहीदढोका, वीर अस्पताल, रत्नपार्क, बागबजार, पुतलीसडक हुँदै भृकुटीमण्डपमा आई सभामा परिणत हुने भएको छ ।
प्रदर्शनमा पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाललगायत शीर्ष नेताको सहभागिता छ । यही पुस ५ गते प्रतिनिधिसभा विघटन गरिएपछि नेकपा सडक सङ्घर्षमा उत्रिएको छ ।
भृकुटीमण्डपस्थित सभालाई तीनै नेताले सम्बोधन गर्ने कार्यक्रम छ । नेकपाले संसद् विघटनविरुद्ध जनप्रदर्शन गर्न प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा दुई हजार ५०१ सदस्यीय सङ्घर्ष समिति गठन गरेको थियो ।
प्रतिक्रिया राख्नुहोस्