राजनीति

नेकपा विभाजित हुनासाथ चीनबाट भएको उच्चतहको भ्रमणका तीन कारण

चिनियाँ कम्युनिस्ट पार्टी, केन्द्रिय कमिटी, अन्तर्राष्ट्रिय विभाग उपमन्त्री कुओ येचौ

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएसंगै मुलुकमा राजनीतिक अस्थिरतासंगै बाह्य चलखेलको प्रचूर सम्भावना बढिरहेको छ । प्रधानमन्त्री ओलीले संसद विघटनन गर्नासाथ भारतका विज्ञ भनिनेहरुबाट आएको टिप्पणीले नेपालको राजनीमिा बाह्य चलखेलको सम्भावना बढिरहेको छ ।

संसद विघटनलाई भारतका विज्ञहरुले उसको जीत र चीनको हारको संज्ञा दिएका छन् । यस्तो परिस्थितिमा नेकपाको एकता बलियो बनाउने र नेपालको सत्ता पाँच वर्षसम्मै टिकाउन चीनले भरपूर प्रयास गरिरहेको जगजाहेर विषय हो र नेकपा फुटेपछि चीनका उपमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल नै नेपाल भ्रमणमा छ ।

नेपाल आएदेखि नै भेटघाटमा व्यस्त चिनीयाँ टोली नेकपा विभाजनपछि चिन्तित देखिएको छ । उसले पार्टी पुनः एक होस् र राजनीतिक स्थिरता कायम रहोस् भन्ने सन्देश दिएको छ । साथै आफ्नो सुरक्षा चासोलाई गम्भीरतापूर्वक लिएको छ ।

चिनीया टोलीले मंगलबारसम्मको भेटघाटमा सत्तारुढ दल, विभाजित सत्तारुढ दल र विपक्षी दलका नेताहरुलाई चीनको सुरक्षा चासो र नेपालको स्थिरतालाइ मुख्य प्राथमिकता दिएको पाइएको छ । चिनीया टोलीले राजनीतिक अस्थिरता रोक्न, विभाजित नेकपालाई मिलेर अघि बढ्न र यहाँको राजनीतिक वातावरणले चीनमा पर्न सक्ने सुरक्षा खतराबारे सजग रहन आग्रह गरेको हो ।

हुन त यो भ्रमण चिनीयाँ कम्युनिस्ट पार्टी स्थापनाको सय वर्ष पुगेको अवसरमा नेपालका राजनीतिक दलहरूसँग सम्बन्ध मजबुत बनाउन गरेको भनिए पनि शीर्ष नेतासँगका सबै भेटमा चिनीयाँ अधिकारीहरूले नेपालमा विकसित राजनीतिक अस्थिरता र नेकपामा आएको फुटबारे बढ्ता जिज्ञासा राखेको थियो ।

सत्तारूढ नेकपा विभाजित भएसँगै राष्ट्रपति सी चिनफिङको निर्देशनमा बेइजिङबाट काठमाडौं उत्रिएको चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौ नेतृत्वको चार सदस्यीय विशेष टोलीले नेपालमा विकसित राजनीतिक परिस्थितिबारे चिन्ता र चासो प्रकट गरेको थियो ।

आइतबार काठमाडौं उत्रेलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका उनीहरूले सोमबार नेकपा (दाहाल–नेपाल समूह) का अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, सभामुख अग्नि सापकोटा र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई भेटेका थिए । मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटेपछि चिनियाँ टोलीको भेटवार्ता टुंगिएको छ ।

कान्तिपुर दैनिकको समाचारको भ्रमणको समाचार विवरण अनुसार- चिनियाँ टोलीले नेकपाका दुवै पक्ष (ओली र दाहाल–नेपाल समूह) लाई दुवैलाई फाइदा हुने गरी मिलेर अगाडि बढ्न सुझाव दिएको नेताहरूले कान्तिपुरलाई बताए । नेकपा (दाहाल–नेपाल समूह) का प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार चिनियाँ टोलीको भ्रमणबारे पार्टीको सचिवालय बैठकमा भने हालसम्म छलफल भएको छैन ।

‘तर पनि यसलाई हामीले सामान्य सद्भावपूर्ण भ्रमणका रूपमा लिएका छौं । चिनियाँ टोलीको मुख्य चिन्ता नेपालको राजनीतिमा अस्थिरता सिर्जना हुने र राजनीतिक परिस्थिति कता जाने भन्ने नै देखिन्छ,’ उनले भने, ‘एउटा असल छिमेकीका हिसाबले नेपालको लोकतान्त्रिक उपलब्धि र राजनीतिक स्थिरतामा खलल आउन नपाओस् भन्ने कुरामै उहाँहरूको चिन्ता देखिन्छ ।’

नेकपाको ओली समूहले भने यो भ्रमण औपचारिक र नेकपाको आन्तरिक मामिलासँग सम्बन्धित नरहेको बताउँदै आएको छ । ओली समूहका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चिनियाँ टोलीको यो भ्रमणलाई तीन रूपमा हेर्नुपर्ने बताए । ‘पहिलो त, यो चिनियाँ कम्युनिस्ट पार्टीको डेलिगेसन हो र पार्टीगत छलफलहरूमा नेपाल कम्युनिस्ट पार्टीसँग एउटा मित्रतापूर्वक सम्बन्ध भएको नाताले विचार आदान–प्रदान गर्न र विकास निर्माणबारे यहाँको अवस्था बुझ्न आएको होला भन्ने मेरो अनुमान छ,’ उनले कान्तिपुरसित भने, ‘दोस्रो, एक छिमेकी हुनु नाताले चीनले नेपालका घटनाप्रति चासो राखेको छ । छिमेकीले नेपालमा स्थिरता होस्, नेपाल ठीक बाटोमा अघि बढोस् भनेर चासो राख्नुलाई चाहिँ हामीले अन्यथा ठान्नु पनि हुँदैन । सबैतिर दुवै छिमेकीले चासो राख्छन् ।’

ज्ञवालीले यो भ्रमणको तेस्रो पाटोचाहिँ बाहिर आएभन्दा फरक रहेको दाबी गरे । ‘नेकपामा अहिले उत्पन्न समस्या समाधानको प्रयास गर्न चिनियाँ टोली आएको भन्न खोज्नु अतिरञ्जन हो,’ उनले भने, ‘नेकपाको एकता आफैं भएको हो । अरू केही समस्या छन् भने पनि हाम्रो आफ्नै कारणले भएको हो र आफैंले समाधान खोज्ने हो ।’ उनले एउटा मित्र भएको नाताले जानकारी लिन खोज्नु भने अन्यथा नभएको प्रस्ट पारे । ‘तर कतिपय मिडियामा जुन ढंगको चर्चा र परिचर्चा भयो, त्यो सही होइन,’ उनले भने ।

परराष्ट्रमन्त्री ज्ञवालीले चिनियाँ टोलीले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीसँगको भेटवार्तामा पछिल्ला वर्षहरूमा नेपाल–चीनबीच बढ्दै गएको सम्बन्धबारे चर्चा गर्दै त्यसलाई थप उचाइमा पुर्‍याउने कुरा भएको दाबी गरे । चिनियाँ टोलीको नेपाल भ्रमण आपसी राजनीतिक विश्वास बढाउन तथा आपसी मित्रतालाई मजबुत बनाउन केन्द्रित भएको तर कुनै पनि हस्तक्षेपका लागि नभएको दाबी चीनले गरेको छ ।

बेइजिङमा सोमबार भएको पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ ली च्येनले काठमाडौं भ्रमण मित्रता तथा सहकार्यका लागि विचार–विमर्श गर्न भएको बताएका थिए । नेपालस्थित चिनियाँ दूतावासले पनि चिनियाँ कम्युनिस्ट पार्टीले अर्काको स्वतन्त्रता, समानता, आपसी सम्मान र आन्तरिक मामिलामा हस्तक्षेपको सिद्धान्त नअपनाउने दाबी गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.