जन सरोकार

योमरी पुन्ही : मनपरेको रोटी खाँदै धनकी देवी लक्ष्मी र कुवेरको आराधना गर्ने दिन

चाडपर्वहरुको आफ्नै मौलिक विशेषता छ र यसको सामामाजिक, सांस्कृतिक तथा ऐतिहासिक अनि पौराणिक महत्व मात्र छैन यसले आधुनिक पुस्ताका मानिसलाई दह्रो पाठ पनि सिकाएको छ । यस्तै पाठ सिकाउने पर्व हो धान्य पूर्णिमाका दिन नेवारहरुले मनाउने योमरी पुन्ही अर्थात् मनपरेको रोटी खाने र खुवाउने दिन ।

उपत्यकाका रैथाने नेवारहरुले मनाउने योमरी पूर्णिमा धन, दान र सेवासंग सम्बन्धित रहेको छ । आजभोलि योमरीको नाममा तील, चाकु हालेर समोसो जस्ता बनाएर खाने गरिए पनि खासमा यसको प्राचीनता भने तिलको धुलो र चाकुको झोल राखी चामलको पिठोबाट बनाइने रोटी हो । यही रोटीलाई नेवारी भाषामा योमरी भनिन्छ ।

धान्यपूर्णिमाका दिन योमरी खाने र यो चलन र यही दिन किन मनाउन थालियो भन्ने विषयमा एउटा रोचक कथा छ । समाजशास्त्री डिकेन्द्र ढकालको फेसबुकबाट लिइएको यो कथा यस्तो छ-

पाञ्चाल देशमा सुचन्द्र नाम गरेका साहु र उनकी पत्नी पसल चलाउँथे । व्यापारी भैकन पनि उनीहरु परोपकारी, दानी र मनकारी भनेर देशभर चिनिएका । ऊ बेला देवताहरु मानिसको परिक्षा लिन माहिर । धनका देवता कुबेरलाई ती दम्पतिको परिक्षा लिन मन लागेछ । अनि, कुबेर भिखारी बनेर सुचन्द्रका दोकानमा पुगेछन् । सुचन्द्रकी जहानलाई त्यो दुःखी भिकारीलाई देखेर टिठ लागेछ । उनले उसलाई पेट भरी मिठो खाना बनाएर खान दिइछन् ।

कुबेर खुसी भएर आफ्नो असली रुप देखाएछन् र सुख र समृद्धि प्राप्त गर्नका लागि सुचन्द्रकी जहानलाई पूजा गर्ने विधि सिकाएछन् । कुबेरले सिकाए अनुसार उनले तिलको धुलो र चाकुको झोल राखी चामलको पिठोको मिठो रोटी बनाएर चार दिनसम्म राखी पूजा गरिन् । त्यसपछि त झन् उनीहरुको घरमा झनै फलिफाप भयो ।

पाञ्चाल देशमा सबैले धनधान्य प्राप्त गर्न यही पूजाको सिको गरे । त्यसै बेलादेखि धान्यपूर्णिमाका दिन मिठो रोटी बनाएर कुबेर र लक्ष्मीको पूजा गरी पर्व मनाउने चलन चलेको विश्वास छ । कतै कतै पाञ्चाल देश भनेको अहिलेको पनौतीलाई भन्ने गरेको पाइन्छ ।

त्यसो त योमरीका आफ्नै आकार प्रकार हुन्छन् र आकार अनुसार यसको अर्थ पनि फरक हुन्छ । ‘मायोबायो’ सबैभन्दा ठूलो आकारको योमरी हो । ‘मायो’ लाई ‘आमाको रूप’ मानिन्छ भने ‘बायो’लाई ‘बुबाको रूप’। समग्रमा यसलाई घरको ‘नाइके’ भन्ने अर्थमा बुभिन्छ । सामान्य योमरीभन्दा ‘मायोबायो’ ठूलो हुने भएकाले यसलाई उसिन्नुपर्छ । त्यसपछि परिवारका सदस्यले बाँडेर खाने गरिन्छ ।

बच्चाबच्चीका लागि भने सानो आकारको योमरी बनाइन्छ। घोडा, भेडा, खसी, राँगा, चराको आकृतिमा सानो–सानो योमरी बनाइन्छ । मूर्तिकारले एउटा पुरानो मूर्ति हेरेर नयाँ मूर्ति बनाएजस्तै, योमरीका यी आकृति पनि परम्परागत रूपमा अँगाल्दै आएको हुनुपर्छ ।

यःमरी पुन्हीको दिन नेवार समुदायले आफ्ना गाउँ, टोलछिमेकमा यःमरी भाका गाउँदै यःमरी माग्ने चलन छ । तिहारमा देउसीभैलो खेलेजस्तै यस दिन नेवार समुदाय टोलछिमेकमा यमरी भाका गाउँदै यःमरीसँगै सामाजिक कार्यका लागि आर्थिक सङ्कलन गर्ने प्रचलन रहेको छ ।

त्यः सिं त्यः बकसिं त्यः
थाबले यागु यःमरी छग ति यः
व्यूम्ह ल्यासे मव्यूम्ह सितिकुती
न्यग व्यूसा काय् वुई छग व्यूसा म्याय् वुई
तालापाता कुलिचां जुसें त्यः
यःमरी माकु, उकि दुने चाकु
व्यूम्ह ल्यासेचा, मव्यूम्ह बुरीचा
कुरी कुरी…
दुई माना देऊ, चार माना देऊ, यस वर्षको यःमरी एउटा देऊ, दिएमा तरुनी नदिएमा सितीकुती, दुईवटा दिए छोरा, एउटा दिए छोरी जन्मिन्छ, जसरी दिएनी चुली पारेर देऊ, यःमरी मिठो त्यसभित्र चाकु, दिए तरुनी, नदिए बूढी, कुरी कुरी…।

यःमरी पूर्णिमाको साँझ नेवार समुदायको घरआँगनमा गुन्जिने यो मिठासपूर्ण लोकभाका भने अचेल भक्तपुरमा गुन्जिन छाडेको छ । मौलिक लोकसंस्कृतिलाई आधुनिकताले छोपेसँगै यःमरी माग्ने चलन विस्तारै लोप हुन थालेपछि उल्लेखित लोकभाका नेवार समुदायमा गुन्जिन छाडेको हो ।

यःमरी माग्ने प्रचलन धान्य पूर्णिमाको एक महत्वपूर्ण सांस्कृतिक पाटो भएको संस्कृतिविद्को भनाइ छ । संस्कृतिविद् धौभडेलका अनुसार लिच्छवीकालीन समयदेखि नै यःमरी माग्ने प्रचलन चल्दै आएको हो । उहाँले अंशुबर्माको पालादेखि नै यो चलन चलेको वंशावलीमा उल्लेख भएको पाइएको जानकारी दिनुभयो । आधुनिकतासँगै स्थानीय कला, संस्कृति लोप हुने क्रममा यःमरी माग्ने प्रचलन पनि लोपोन्मुख अवस्थामा पुगेको उहाँको भनाइ छ ।

यस संस्कृतिलाई संरक्षण गर्न मातृभाषाको शिक्षा र संस्कृति नयाँ पुस्तालाई दिनुपर्ने खाँचो रहेको धौभडेलले बताउनुभयो । उहाँले यःमरी माग्ने संस्कृतिले नेवारी साहित्यको विकास र विस्तारमा समेत टेवा दिएको बताउनुभयो । यो प्रचलनले नेवार समुदायमा विभिन्न खाले गीत, सङ्गीत, साहित्यिक लेखनसमेत विकास भएको पाइन्छ ।

यःमरी खाद्य वस्तु मात्र नभई साहित्यसँग समेत जोडिएकाले यःमरी माग्ने प्रचलनले पुष्टि गर्ने संस्कृतिकर्मी धौभडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “त्यछीं त्यः बकछीं त्यः, लातापाता कुलिचा जुछे त्यः, यमरी छगः तिय् भनी गीत गाउँदैं यःमरी माग्ने जुन नेवार समुदायमा छ, यसले नेवार समुदायको साहित्यिक धरातललाई समेत पुष्टि गर्दछ ।”
संस्कृतिकर्मी धौभडेलले यःमरी खाने प्रचलनलाई अन्य समुदायमा समेत विस्तार गर्नसके यसले धार्मिक र सांस्कृतिक पर्यटनको समेत विकासमा टेवा पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यःमरी खाने प्रचलनलाई अरुले पनि अपनाउँदै जान सक्यो भने नेपालको धार्मिक सांस्कृतिक पर्यटनको विकासमा टेवा पुग्न सक्छ ।”

यःमरी पूर्णिमाका बारेमा ऐतिहासिक कथनअनुसार तत्कालीन पाञ्चाल देशमा भगवान् विष्णुका परमभक्त, दानी र धर्मात्मा सुचन्द्र दम्पती बस्दथे । उनीहरुको दयालु स्वभावको जाँच गर्न एक दिन धनपति कुबेर गरिब ब्राम्ह्णको भेषमा भिक्षा माग्न सुचन्द्रका घरमा पुगे । सुचन्द्रका श्रीमतीले ब्राम्ह्णरूपी कुबेरलाई श्रद्धापूर्वक आफूले तयार पारेको यःमरी खुवाइन् । उनको सत्कारदेखि प्रसन्न भई कुबेरले आफ्नो असली रूप देखाई यःमरीको गुण र धानको भकारीमा श्रीगणेश, कुबेर, लक्ष्मीको पूजा गरी यःमरी चढाउने विधि बताएर गए । सोही अनुरूप सुचन्द्र दम्पतीले यःमरी धानको भकारीमा चढाएर चार दिनपछि प्रसादको रूपमा बाँडेर खाएकाले उनीहरुको धन सम्पत्ति अझ वृद्धि भएको खबर जताततै फैलिएपछि त्यही समयदेखि नेवार समुदायमा यःमरी पूर्णिमाको संस्कृति विकास भएको जनश्रुति रहेको पाइन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.