राजनीति

नेपाल कोभिड जित्न राम्रो गर्ने देशमा गणना भयो

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल

उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोभिड–१९ जित्ने देशमा नेपाल राम्रो गर्नेको पङ्तिमा रहेको बताउनुभएको छ । ज्यापु संस्कृति विकास कोषले बुधबार आयोजना गरेको कार्यक्रममा उहाँले सरकारले आवश्यक स्वास्थ्यका पूर्वाधारको विकास गर्दै सङ्क्रमण कम गरिरहेको बताउनुभयो ।

पछिल्लो समय आएर सङ्क्रमण निको हुनेको सङ्ख्या बढिरहेको उहाँको भनाइ छ । सरकारले कुनै पनि तयारी नभएको अवस्थाबाट अहिले ८० भन्दा बढी स्थानमा कोभिड परीक्षण गर्ने अवस्थामा पुगेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिलो केस हामीले हङकङ पठाएका थियौँ भने अहिले धेरै ठाउँमा परीक्षण र उपचार गर्ने व्यवस्था मिलाइएको छ ।”

मन्त्री पोखरेलले ज्यापु समाजको रचनात्मक सुझावका कारण सरकारले गुठी विधेयक सच्याएको बताउनुभयो । यो समुदायले सङ्गठित र एकीकृतरुपमा आफ्ना माग सरकारलाई बुझ्ने गरी राखेको उहाँको भनाइ छ । देशकै कतिपय ठाउँका गुठीले सामन्तवादलाई बढावा दिए पनि काठमाडौँ उपत्यकाका गुठीले धर्म र संस्कृतिलाई बढवा दिइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँका गुठी जनताको सम्पत्ति हो र यिनलाई यसरी नै अघि बढाउनुपर्छ ।”

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले यो दिवसप्रति सरकारको सहयोग र सद्भाव रहँदै आएको बताउनुभयो । कोषमा अहिलेसम्म रु ६० लाख भएकामा रु ४० लाख थप गर्न गरिएको आग्रहमा उहाँले त्यसप्रति सरकार सकारात्मक रहेको बताउनुभयो । उहाँले केन्द्र सरकार र स्थानीय सरकार दुवैले जात्रा, पर्व र संस्कृति संरक्षणमा चासो दिइरहेको जनाउनुभयो ।

कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्की, कोषका अध्यक्ष मङ्गलकृष्ण सिंहलगायतले ज्यापु समाजले आफ्नो संस्कृतिको उत्थान र विकासमा लागिपरेको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.