अदालतमा विचाराधीन मुद्दामा आन्दोलनमार्फत् यसो गर, उसो गर भन्नु अनुचित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटन गर्नु असंवैधानिक, अप्रजातान्त्रिक र अलोकतान्त्रिक रहेको बताउँदै यो विषयको मुद्दा विचाराधीन रहेकाले आन्दोलन गरेर यसो गर र उसो गर भनेर अदालतलाई धम्क्याउनु उचित नहुने बताउनुभएको छ ।
राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेस सूचना, संचार तथा प्रचार विभागले आयोजना गरेको भर्चुअल कार्यक्रममा सभापति देउवाले देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले अचानक संसद विघटन गरी चुनाव घोषणा गरेर असंवैधानिक काम गरेको बताउँदै सो धारणा राख्नुभएको हो ।
उहाँले भन्नुभयो, ‘ओली जीले अचानक चुनाव घोषणा गरेर असंवैधानिक काम गर्नु भएको छ । देशभरि नै हाम्रो पार्टीले यो कदमको विरुद्धमा आवाज उठाइरहेको छ । आफ्नो निर्वाचन क्षेत्र लगायत देशभरि नै हामीले आफ्नो परिस्थिति बनाइरहेका छौं ।’
यो मुद्दा अदालतमा विचाराधीन रहेकाले अदालतको फैसला कुर्नुपर्ने बताउनुभएका सभापति देउवाले भन्नुभयो ‘हामीले अदालतको विचाराधीन मुद्दामा प्रभाव पार्ने किसिमले आन्दोलनमार्फत् यसो गर, उसो गर, भन्दै धम्क्याउनु तर्साउनु उचित हुँदैन । अदालतको निर्णयलाई पनि पर्खिनुपर्छ भनेर हामीले भनेका छौं ।’
प्रजातान्त्रिक तरिकाले, लोकतान्त्रिक तरिकाले र अहिंसात्मक तरिकाले अघि बढ्नुपर्ने बताउँदै उहाँले भन्नुभयो स्वतन्त्र न्यायालय बचाइ राख्नुपर्छ । स्वन्तन्त्र न्यायलयको निर्णय हामीले मान्नुपर्छ । तर प्रजातन्त्र, मानवअधिकार जस्ता व्यवस्था जनताले लडेर ल्याएकाले त्यो कसैले पनि खोस्न सक्दैनन् ।
प्रतिक्रिया राख्नुहोस्