नेपाली कम्युनिष्ट पार्टीले छिट्टै जनवर्गीय सङ्गठन तथा विभाग समायोजन गर्ने
नेपाली कम्युनिष्ट पार्टीले पार्टी निकट जनवर्गीय सङ्गठन तथा विभाग छिट्टै व्यवस्थापन गर्ने भएको छ ।
विभिन्न वामपन्थी दल तथा समूह एकीकृत भएर बनेको पार्टीले सबै दलको समन्वयमा भ्रातृ सङ्गठन पुनर्गठन, समायोजन गरिने नेता प्रकाश ज्वालाले जानकारी दिनुभयो ।
जनवर्गीय सङ्गठन पुनर्गठन तथा समायोजन गर्नका लागि पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालबीच छलफल भएको बताउँदै उहाँले सबै पक्षलाई समेटेर विगतका नेताहरुको कार्य क्षमता मूल्याङ्कन गरी जिम्मेवारी दिइने समझदारी भएको जानकारी दिनुभयो ।
विभागीय इन्चार्जका साथै जनवर्गीय सङ्गठनको नेतृत्व व्यवस्थापनपछि निर्वाचनको तयारी गरिने ज्वालाले बताउनुभयो । उक्त पार्टीमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनसमाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, नेकपा समाजवादी, नेकपा (माओवादी समाजवादी), गोपाल किरातीको नेतृत्वमा रहेको देशभक्त समाजवादी मोर्चालगायत वाम समूह समावेश छन् ।
पार्टीले यही महिनाभित्र सबै प्रदेश तथा केही जिल्लामा एकतासभा गर्ने कार्यसूची छ ।





प्रतिक्रिया राख्नुहोस्