राजनीति

रवि लामिछानेको मुद्दाको सुनुवाइ फेरि स्थगित

बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दाको सुनुवाई स्थगित भएको छ ।

उक्त सहकारीको बिगोबमोजिमको रकम बुझाइ थुनाबाहिर बसेर मुद्दा लड्न पाउनुपर्ने माग गर्दै रास्वपा सभापति लामिछाने तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ स्थगित भएको हो ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलाशका न्यायाधीशद्वय मिलनकुमार राई र सानुमैया डंगोलको ३ नं इजलाशमा परेको मुद्दामा रविका कानून व्यवसायीले सुनुवाइ स्थगित गरीपाउँ भनी निवेदन दिएका कारण सुनुवाइ स्थगित भएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिनुभयो ।

यसअघि अघिल्लो बिहीबार पाटन उच्च अदालतमा पनि पेशी परेकाले रविका कानून व्यवसायीका तर्फबाट बुटवल इजलासको सुनुवाइ स्थगित गरिदिन निवेदन परेपछि स्थगित भएको थियो ।

यसअघि कात्तिक २७ गते भएको सुनुवाइमा न्यायाधीशहरू वासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासले सर्वोच्च अदालतमा रहेको मुल अभियोगको मिसिल मगाउने आदेश दिएको थियो ।

मुल मुद्दाको सक्कल मिसिल प्राप्त भएपछि अघिल्लो बिहीबारका लागि पेसी तोकिए पनि सुनुवाइ स्थगित भएको थियो । त्यसअघि कात्तिक २० गतेको सुनुवाइमा पनि न्यायाधीशद्वय आचार्य र अर्यालको इजलासले सुरु मिसिल मगाउने आदेश दिएको थियो । सर्वोच्चबाट सुरु मिसिलको फाइल प्राप्त नभए पनि जिल्ला अदालतबाट प्रतिलिपि आएको छ ।

सुप्रिम सहकारी ठगीमा रविसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरी अभियोग पत्र दायर गरिएको छ । लामिछानेले त्यसको चार भागमध्ये आफ्नो हिस्साको एक भाग बराबर २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंक जमानतका रूपमा पेस गर्नुभएको थियो ।

लामिछाने जस्तै जोशीले पनि त्यति नै रकमबापत जमानत पेस गरेका थिए । तर, दुवै प्रतिवादीको व्यक्तिगत बिगो कति पर्ने भन्ने यकिन नभएकाले रिहा गर्न नपाइने निर्णय दुवैका हकमा समान रूपमा जारी भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.