मधेसको विकासका लागि आवश्यक सहयोग गर्ने सभापति थापाद्वारा प्रतिबद्धता व्यक्त
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसका जनताका समस्या समाधान गर्दै सर्लाहीको विकास र समृद्धिका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
आसन्न प्रतिनिधिसभा निर्वाचनमा सर्लाहीको क्षेत्र नं ४ बाट उम्मेदवारी दिनुभएका उहाँले मधेसमा रहेका विद्यमान समस्या समाधानका लागि आफूले सधैँ सहयोग गर्ने बताउनुभयो ।
यही माघ १२ गते मतदाता भेट्न यहाँ आउनुभएका सभापति थापाले काठमाडौँ फर्कनुअघि शुक्रबार सञ्चारकर्मीसँगको छलफलमा सर्लाहीका जनताबाट स्नेह, साथ र भरोसा लिएर आफू फर्किएको बताउनुभयो । यहाँको बसाइँका क्रममा उहाँले मधेसका जनताको जीवनस्तर सुधार गर्दै पार्टी सङ्गठन सुदृढीकरण गर्नेलगायत विषयमा स्थानीय नेताकार्यकर्तासँग छलफल गर्नुभएको थियो ।
सभापति थापाले चुनावी सभा र मतदातालाई सम्बोधन गर्दै आफू समग्र मुलुकसहित मधेसको विकासमा प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । उहाँले यहाँका नागरिकबाट पाएका साथ र स्नेह आफ्ना लागि प्रेरणाका स्रोत बनेका प्रतिक्रिया दिनुभयो ।
“पाँच दिनसम्मको यहाँको बसाइँका क्रममा नागरिकका घरघरमा पुगिरहँदा उहाँहरूले दिनुभएको साथ र स्नेह मेरा लागि थप ऊर्जाका स्रोत बनेका छन् । मधेसको विकास र समृद्धिका लागि योजनाबद्ध काममा अग्रसर हुने प्रेरणा यहाँबाट प्राप्त भएको छ”, सभापति थापाले भन्नुभयो । सर्लाही बसाइँ उपलब्धिमूलक भएको भन्दै उहाँले स्थानीय पार्टीपङ्क्ति र जनताको साथ र सहयोग पाएको बताउनुभयो ।
यहाँका किसानका मल र बीउसम्बन्धी, उखु किसानको बाँकी भुक्तानीका विषय, कृषिजन्य उत्पादनको बजारीकरण, शिक्षा, स्वास्थ्य, खानेपानीलगायत क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफूले पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
सभापति थापा जनकपुर हुँदै विमानस्थलमार्फत काठमाडौँ फर्किनुभएको पार्टीका जिल्ला नेता वीरेन्द्र सिंहले जानकारी दिनुभयो ।





प्रतिक्रिया राख्नुहोस्