रेडक्रस सोसाइटीले राजनीतिबाट मुक्त भई निष्पक्ष कार्यसम्पादन गर्नुपर्छ : गृहमन्त्री
गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल रेडक्रम सोसाइटीले राजनीतिबाट टाढा रहेर कार्यसम्पादन गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल रेडक्रस सोसाइटीका विषयमा शनिबार मन्त्रालयमा भएको छलफलमा उहाँले रेडक्रसको केन्द्रीय तहमा वर्षौंदेखि रहेका संस्थागत समस्यालाई कानुनबमोजिम विधि र प्रक्रियाबमोजिम हल गर्नेगरी काम गर्न निर्देशन दिनुभयो ।
गृहमन्त्री अर्यालले तदर्थ समितिलाई प्राप्त जिम्मेवारी पूरा गर्न समयमा नै निर्वाचन गर्न, संस्थाको विधानलाई सङ्घीयताअनुसार संशोधन र संस्थालाई राजनीतिबाट मुक्त राखी निष्पक्ष कार्यसम्पादन गर्न आग्रह गर्नुभयो ।
संस्थाको पवित्र उद्देश्यबाट विचलित नभई सरकारको सहयोगीका रूपमा गृह मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँग समन्वय गरी कार्य गर्न पनि उहाँले आग्रह गर्नुभयो ।
छलफलमा गृह सचिव राजकुमार श्रेष्ठ, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सचिव राधिका अर्याल, काठमाडौँका प्रमुख जिल्ला अधिकारी र दुवै मन्त्रालयका उच्च अधिकारी सहभागी हुनुहुन्थ्यो ।
यस्तै, नेपाल रेडक्रस सोसाइटीका तर्फबाट तदर्थ समितिका अध्यक्ष विनोदकुमार शर्मा, महासचिव मीनबहादुर मल्ललगायत प्रतिनिधिहरु सहभागी हुनुहुन्थ्यो ।





प्रतिक्रिया राख्नुहोस्