जापान

जापानमा ताकाइची नेतृत्वको दललाई भारी बहुमत

आइतबार जापानको आम चुनावमा प्रधानमन्त्री साने ताकाइचीको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले भारी जित हासिल गरेको छ। बीबीसीका अनुसार, एलडीपी गठबन्धनले ४६५ सिटमध्ये ३५२ सिट जितेको छ । एलडीपीले एक्लैले ३१६ सिट जितेको छ, जुन बहुमतको लागि आवश्यक २३३ भन्दा धेरै बढी हो ।

यसलाई पार्टीको अहिलेसम्मको सबैभन्दा ठूलो जित मानिन्छ । यसअघि, १९८६ मा, पार्टीले ३०० सिट जितेको थियो । चुनाव जितेपछि, ताकाइचीले जापानलाई बलियो बनाउन र समृद्ध बनाउन काम गर्ने बताउनुभएको छ ।

उहाँले आवश्यक परेमा विपक्षीसँग मिलेर काम गर्ने पनि बताउनुभयो । यो जितले प्रधानमन्त्री ताकाइचीलाई माथिल्लो सदनमा विपक्षीको नियन्त्रण भए पनि कानून पारित गर्ने शक्ति दिनेछ ।

प्रधानमन्त्री मोदीले ताकाइचीलाई उहाँको विजयमा बधाई दिए । उहाँले एक पोस्टमा लेख्नुभयो, “मलाई विश्वास छ कि तपाईंको सक्षम नेतृत्वमा, भारत-जापान मित्रतालाई हामी नयाँ उचाइमा पुर्‍याउनेछौं।”

त्यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत ताकाइचीलाई समर्थन जनाउँदै बधाई दिनुभएको । ट्रम्पले ताकाइचीलाई ‘पूर्ण समर्थन’ रहने बताउनुभएको छ ।

सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) ले आर्थिक सहयोग र धार्मिक घोटालाका कारण दबाब झेले पनि ताकाइचीले त्यसलाई उल्ट्याउने विश्वाससहित मध्यावधि निर्वाचनको आह्वान गर्नुभएको थियो ।

ताकाइची लोकप्रिय नेताका रूपमा चिनिनुहुन्छ । विगत सात दशकदेखि जापानमा शासन गर्दै आएको एलडिपी हाल विश्वासको सङ्कटमा परे पनि उहाँले दक्षिणपन्थी एजेन्डामार्फत अर्थतन्त्र र सैन्य क्षमता बलियो बनाउने लक्ष्य राख्नुभएको छ । चीनसँग बढ्दो तनावका बीच जापानको सुरक्षा क्षमता विस्तार गर्नु र प्रमुख अमेरिकी सहयोगीसँगको सम्बन्ध थप सुदृढ बनाउनु उहाँका प्रमुख प्राथमिकता हुन् ।

अक्टोबरमा जापानको पहिलो महिला प्रधानमन्त्रीका रूपमा पदभार ग्रहण गर्नुभएकी अल्ट्राकन्जरभेटिभ ताकाइचीले ‘काम गर्ने, काम गर्ने, काम गर्ने’ भन्ने नारासहित सक्रिय नेतृत्वको प्रतिज्ञा गर्नुभएको छ । उहाँको स्पष्ट र कडा शैलीले युवा मतदातामाझ पनि समर्थन पाएको देखिन्छ ।

ताकाइचीको यस ठूलो जितले जापानको सुरक्षा, आप्रवासन र अन्य नीतिहरूलाई दक्षिणतर्फ उल्लेखनीय रूपमा मोड्न सक्ने अनुमान गरिएको छ ।

उहाँले सैन्य क्षमता विस्तार, हतियार निर्यातसम्बन्धी प्रतिबन्ध हटाउने र युद्धपछिको शान्तिवादी नीतिबाट क्रमशः टाढा जाने वाचा गर्नुभएको छ । साथै विदेशीहरूमाथि कडा नीति, जासुसीविरोधी उपाय र रक्षा खर्च वृद्धि गर्ने योजना पनि प्रस्तुत गर्नुभएको छ, जसबारे नागरिक अधिकार कमजोर पर्न सक्ने चिन्ता विज्ञहरूले व्यक्त गरेका छन् ।

आइतबारको मतदान टोकियोसहित देशभर ताजा हिमपातका बीच सुरु भएको थियो । पछिल्ला हप्ताहरूमा उत्तरी जापानमा परेको भारी हिमपातले सडक अवरुद्ध हुनुका साथै जनजीवन प्रभावित भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.