बागमती प्रादेशिक ललितकला प्रदर्शनी तथा सम्मेलन सम्पन्न
‘बागमती प्रादेशिक ललितकला प्रदर्शनी/सम्मेलन २०८२’ मंगलबार सम्पन्न भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजनामा यही फागुन ८ गतेदेखि काठमाडौँमा सम्मेलन सुरु भएको थियो ।
सम्मेलन समापन समारोहमा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्रादेशिक प्रदर्शनीले ललितकला क्षेत्रको प्रचारप्रसार, नीतिनिर्माण तहमा पहुँच बढाउन सहयोग पुगेको बताउँदै ललितकलासम्बन्धी थप वैचारिक बहस गर्न आवश्यक रहेको बताउनुभयो ।
उहाँले सम्मेलनमा आएका सुझाव, जिज्ञासा र प्रश्नको अनुसन्धान, विश्लेषण र अभिलेखीकरण गरी भावी कार्ययोजना तय गरिने प्रतिबद्धता जनाउनुभयो ।
प्रतिष्ठानका उपकुलपति एवं बागमती प्रदेश समन्वय समितिका संयोजक लालकाजी लामाले ललितकला क्षेत्रका नीतिगत, संरचनागत तथा कार्यक्रमगत विषयमा छलफल गर्न कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले कलाकार स्रष्टा मात्रै नभइ आफैमा द्रष्टा र ‘मोरल ल मेकर’ पनि भएको बताउनुभयो । उहाँले कलाकार युगको मस्तिष्क निमार्णकर्ता तथा सभ्यता, संस्कृति जगाउने पुँजी भएकाले कलाको पुनःजागरणको अभियानमा जोडिन सबैलाई आग्रह गर्नुभयो ।
बागमती प्रदेश पर्यटन कार्यालय काठमाडौँका प्रमुख पवनकुमार पोखरेलले प्रदेश सरकारले संस्कृतिका क्षेत्रमा गरेका कार्यहरूसँगै अन्तक्र्रिया कार्यक्रममा उठान भएका प्रश्नको जवाफ दिनुभएको थियो ।
उहाँले कलाले देशको परिचय जोगाउने काम गरिरहेको बताउँदै कलाका विषयमा प्रदेश सरकारले प्रतिष्ठानसँग सहकार्य जारी राख्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव काफ्लेले ‘ललितकला र यसको महत्त्व’, ललितकला क्याम्पस भोटाहिटीका प्रमुख डा यामप्रसाद शर्माले बागमती प्रादेशिक ललितकला प्रदर्शनीसम्बन्धी प्रस्तुति र लेखक अजय शर्माले ‘कलामा एआई सङ्कट कि अवसर’ विषयमा आफ्नो प्रस्तुति दिनुभएको थियो ।
प्रदर्शनीको कला प्रवर्द्धक नेपाल पर्यटन बोर्ड रहेको थियो ।





प्रतिक्रिया राख्नुहोस्