राजनीति

परिवर्तनका लागि मत दिन आग्रह : अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको शासन व्यवस्थामा नै समस्या रहेकाले व्यवस्था परिवर्तन गर्नुपर्ने बताउनुभएको छ ।

पोखरामा बुधबार राप्रपाको चुनावी कोणसभामा उहाँले अहिलेकै व्यवस्था कायम राखेर देश विकास नहुने भएकाले राप्रपाले विकल्प खोजेको उल्लेख गर्नुभयो ।

“देशमा सुशासन भएन, राजनीतिक दलका नेताहरू भ्रष्टाचारमा रमाए भनेर सबैले भन्दै आएका छन् । राजनीतिक दल र नेतामा मात्र समस्या होइन, अहिलेको व्यवस्थामा नै समस्या छन्, परिवर्तनका लागि हामीलाई भोट दिनुहोस्”, अध्यक्ष लिङ्देनले भन्नुभयो ।

नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र अहिलेको नयाँ राजनीतिक दल रास्वपामा समेत कुनै भिन्नता नभएको उहाँले जिकिर गर्नुभयो ।

अध्यक्ष लिङ्देनले भन्नुभयो, “गणतन्त्र, सङ्घीयता र धर्मनिरपेक्षताको प्रस्तावक माओवादी हो । पुराना र नयाँ दलले गणतन्त्र, धर्मनिरपेक्षतालाई स्वीकार गरेका छन् । यी सबै दलको विकल्प भनेको राप्रपा हो ।”

लिङ्देनले देशको समस्या समाधानका लागि सबैपक्ष मिलाएर नवीन समझदारी आवश्यक छ भन्नुभयो । उहाँले फागुन २१ गतेको निर्वाचनमा सोच विचार गरेरमात्र मतदान गर्न आग्रह गर्नुभयो ।

राप्रपाले बुधबारै कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा कोणसभा आयोजना गरेको छ । सो सभालाई पार्टीका अध्यक्ष लिङ्देनसहित क्षेत्र नं १ का उम्मेदवार बाबुराम थापा, क्षेत्र नं २ का उम्मेदवार हेमजङ गुरुङ र क्षेत्र नं ३ का उम्मेदवार अर्जुन खनालले सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.