बिशेषविश्व समाचार

ट्रम्प र इरानबीचको ‘वार्ता’ के भइरहेको छ र अब के होला?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध चर्काउने धम्की दिएको केही समयमै, वार्तामार्फत युद्ध अन्त्य गर्ने “निकै राम्रो” संकेत देखिएको भन्दै आफ्नो अडानमा नाटकीय परिवर्तन ल्याउनुभयो ।

ट्रम्पको सो अभिव्यक्ति लगत्तै इरानले इजरायलमा हमला गर्यो । उसले यस विषयमा अनभिज्ञता जनाउँदै यस्तो कुनै वार्ता भएको कुरालाई अस्वीकार गरेको छ।

फ्रान्सेली समाचार संस्था एएफपीले तयारा पारेको पछिल्लो रिपोर्टका अनुसार अमेरिका र इरानबीच वार्ताका घटनाक्रमका मुख्य तथ्य र सम्भावनाहरू यस प्रकार छन्-

के वास्तवमै वार्ता भइरहेको छ ?

ट्रम्पका अनुसार वार्ता भइरहेको छ, तर तेहरानले यसलाई ठाडै इन्कार गरेको छ। ट्रम्पले सोमबार आफूले एक “अत्यन्तै सम्मानित र व्यावहारिक” इरानी नेतासँग संवाद गरिरहेको दाबी गर्नुभयो। एक्सियोस न्युज साइटका अनुसार ती व्यक्ति इरानी संसदका शक्तिशाली सभामुख मोहम्मद बागेर गालिबाफ हुन्।

तर, गालिबाफले यसलाई “फेक न्युज” भन्दै खण्डन गर्नुभएको छ। यद्यपि, न्युयोर्क टाइम्सले इरानी विदेशमन्त्री अब्बास अराघची र ट्रम्पका विशेष दूत स्टिभ विट्कोफबीच ‘प्रत्यक्ष सञ्चार’ भएको उल्लेख गरेको छ।

मध्यस्थकर्ताको भूमिका र ‘पछाडिको ढोका’ बाट वार्ता

इरानले सिधै वार्ता नभए पनि केही ‘मैत्रीपूर्ण राष्ट्रहरू’ बाट अमेरिकाले वार्ताको प्रस्ताव गरेको सन्देश प्राप्त भएको पुष्टि गरेको छ। ओमानले विगतमा मध्यस्थता गर्दै आए पनि हाल इजिप्ट र पाकिस्तान सक्रिय देखिएका छन्।

इजिप्ट: विदेशमन्त्री बदर अब्देलाटीले ट्रम्पका दूत र इरानी विदेशमन्त्री दुवैसँग कुराकानी गर्नुभएको छ। पाकिस्तान: प्रधानमन्त्री शहबाज शरीफ र सेना प्रमुख असिम मुनिरले पनि दुवै पक्षसँग संवाद गरिरहेको रिपोर्ट छ।

वार्ताका मुख्य एजेन्डाहरू के हुन्?

यस पटकको वार्ताको केन्द्रविन्दु पुनः इरानको परमाणु कार्यक्रम नै रहेको छ। ट्रम्पले इरानसँग रहेको ६० प्रतिशत संवर्द्धित युरेनियमको भण्डार (करिब ४४० केजी) को व्यवस्थापन चाहेको बताउनुभएको छ।

इरानका मागहरू:

भविष्यमा अमेरिका र इजरायलबाट आक्रमण नहुने ग्यारेन्टी।

हालैका बमबारीहरूका लागि आर्थिक क्षतिपूर्ति।

इरानमाथि लगाइएका प्रतिबन्धहरूको अन्त्य।

चुनौती र आशंका

विज्ञहरू यस वार्तालाई लिएर निकै सशंकित छन्। ‘जीन-जौरेस फाउन्डेसन’ का मध्यपूर्व विशेषज्ञ डेभिड खाल्फा भन्नुहुन्छ- “दुवै पक्षबीचको विश्वास पूर्ण रूपमा समाप्त भइसकेको छ र उनीहरूका अडानहरू निकै टाढा छन्। त्यसैले वार्ता सफल हुने सम्भावना निकै कम छ।”

कतिपय विश्लेषकहरूका अनुसार, ट्रम्पले ‘हर्मुज जलसन्धि’ खोल्न वा इरानी तेल खानीहरू कब्जा गर्न सैन्य तयारीका लागि समय मात्र लिइरहनुभएको हुन सक्ने अनुमान पनि गरिएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.