राजनीति

फागुन २१ गतेको निर्वाचन मानक : प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्पन्न गराउने क्रममा निर्वाचन आयोगले कायम गरेको मानक आगामी निर्वाचनमा पनि यथावत् हुँदै जानुपर्नेमा जोड दिनुभएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्पन्न भएको अवसरमा निर्वाचन आयोग नेपालले आज बहादुरभवनस्थित कार्यालय परिसरमा आयोजना गरेको जलपान समारोहमा प्रधानमन्त्री कार्कीले देशभरका कुनै पनि मतदान केन्द्रमा पुनःमतदान गर्नु नपर्ने र शान्तिपूर्ण रुपमा निर्वाचन सफल भएको मानक आगामी निर्वाचनमा पनि यथावत् राख्नुपर्ने बताउनुभयो ।

“यसपटकको निर्वाचनले अन्तरराष्ट्रियस्तरमा नेपालको छवि राम्रो भएको छ, यसबाट नेपालप्रतिको सम्मान बढेको छ, यो निर्वाचनले संवैधानिक प्रणाली र लोकतान्त्रिक मूल्य मान्यतालाई संरक्षण गरेको छ, यसबाट लोकतन्त्रको संवद्र्धन पनि भएको छ”, प्रधानमन्त्री कार्कीले भन्नुभयो ।

गत भदौ अन्तिम साता आफू प्रधानमन्त्रीमा नियुक्त हुँदा कानुनी र राजनीतिक शून्यता, सुरक्षा संवेदशीलता भएको स्मरण गर्नुहुँदै उहाँले त्यो अवस्थाबाट निर्वाचन सम्पन्न गराई लोकतान्त्रिक मूल्य मान्यतालाई लिकमा अघि बढाइएको बताउनुभयो ।

सुरुका दिनमा निर्वाचन चुनौतीपूर्ण रहे पनि आयोगको अठोट र सरकारको सहयोगले सम्भव भएको कार्यक्रममा प्रधानमन्त्री कार्कीले जानकारी गराउनुभयो ।

निर्वाचन घोषणा भएपछि जारी गरिएको अध्यादेशअनुसार करिब १० लाख युवा मतदाताले उत्साहपूर्ण रुपमा मतदाता नामावलीमा नाम लेखाइ निर्वाचनमा सहभागी भएर जनप्रतिनिधि चुनेको प्रधानमन्त्री कार्कीले बताउनुभयो । स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गरेकामा उहाँले आयोगलाई धन्यवाद दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.