बिशेषराजनीति

‘सरकारले बाटो बिराएको छैन, गन्तव्यमा पुगेरै छाड्छौँ’ : रास्वपा सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकार गठन भएको चार महिना नपुग्दै सरकार असफल भएको, काम गर्न नसकेको तथा सत्तारुढ दलभित्रै विभाजन हुन लागेको भन्दै फैलाइएका हल्ला निराधार रहेको बताउनुभएको छ।

शनिबार साँझ काठमाडौंमा आयोजित युवा उद्यमीहरुको कार्यक्रममा सभापति लामिछानेले सरकार आफ्नो उद्देश्य र प्रतिबद्धताबाट विचलित नभएको दाबी गर्दै कठिनाइ आए पनि गन्तव्यमा पुगेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

पछिल्लो समय सरकार र पार्टीभित्र देखिएको भनिएका विवाद, असमझदारी र राजनीतिक संकटबारे आएका समाचार तथा चर्चालाई ‘र्‍युमर’को संज्ञा दिनुभयो। उहाँले यस्ता हल्लालाई गम्भीरतापूर्वक लिनुभन्दा ‘स्न्याक्स’का रूपमा मात्रै लिन आग्रह गर्नुभयो।

सरकार गठन भएको चार महिनामै विपक्षी दलबाट निरन्तर आक्रमण भइरहेको र सरकारका कामलाई लिएर विभिन्न प्रश्न उठाइएको उहाँको भनाइ थियो।

अर्कोतर्फ बजारमा वस्तुको अभाव, मूल्यवृद्धि र सरकार प्रभावकारी रूपमा अघि बढ्न नसकेको भन्ने चर्चा पनि भइरहेको छ। यही अवस्थालाई आधार बनाएर सरकार असफल भएको तथा सत्तारुढ दलभित्रै विभाजन हुन लागेको हल्ला फैलाइएको भन्दै उहाँले त्यसलाई अस्वीकार गर्नुभयो।

उहाँले भन्नुभयो, “कतै केही गडबड भयो कि, राजनीतिक रूपमा अप्ठ्यारो पर्‍यो कि, झगडा पो पर्‍यो कि भनेर र्‍युमरहरू आउँछन्। ती र्‍युमरलाई स्न्याक्सका रूपमा ग्रहण गर्नुहोला, र्‍युमरहरू स्न्याक्स मात्रै हुन्, त्यसको खास त्यसभन्दा बढी भ्यालु केही पनि छैन।”

सभापति लामिछानेले सरकारले घोषणा गरेका सबै प्रतिबद्धता तत्कालै पूरा नभएको हुनसक्ने स्वीकार गर्दै त्यसबाट सरकार पछि नहट्ने बताउनुभयो। रोजगारी सिर्जना, सुशासन र परिवर्तनका लागि आफूहरूले गरेको प्रतिबद्धता पूरा गर्ने उहाँको भनाइ थियो।

“हामीले एक मान्छेले अर्को मान्छेलाई मात्रै वाचा गरेको होइन, हामीले इतिहासलाई वाचा गरेका हौँ। त्यसकारण आफ्नो वाचा र प्रतिबद्धताबाट पछि हट्ने छुट हामी कसैलाई पनि छैन,” उहाँले भन्नुभयो।

सरकार सञ्चालनका क्रममा आउने चुनौतीलाई यात्राका क्रममा विमानमा आउने ‘टर्बुलेन्स’सँग तुलना गर्दै उहाँले कठिनाइ आउँदैमा सरकार दुर्घटनामा पर्न लागेको भनेर बुझ्न नहुने बताउनुभयो।

“यात्रामा जाँदा कहिलेकाहीँ बादलका टुक्रामा जहाज छिर्दा हल्लिन्छ। तर जहाज हल्लियो भन्दैमा दुर्घटनामा पर्ने भयो भनेर डराउनुपर्दैन,” उहाँले भन्नुभयो, “चिन्ता नगर्नुहोस्, हामीले जुन गन्तव्यका लागि उडान भरेका छौँ, त्यसलाई सुरक्षित रूपमा गन्तव्यमा पुर्‍याउँछौँ।”

उहाँले सरकार असल नियतका साथ अघि बढिरहेको र अप्ठ्यारो परिस्थिति आए त्यसलाई सामना गर्ने क्षमता रास्वपासँग रहेको दाबी गर्नुभयो। “अप्ठ्यारो पर्‍यो भने त्यसलाई सम्हाल्न सक्ने गार्जियनसिप हाम्रो पार्टीसँग छ,” उहाँले भन्नुभयो।

सभापति लामिछानेले आफूहरूलाई इतिहासले परिवर्तनका लागि अवसर दिएको उल्लेख गर्दै सरकारको मुख्य दायित्व नागरिकलाई परिवर्तनका लागि काम गर्न सक्ने वातावरण निर्माण गर्नु रहेको बताउनुभयो। प्रतिबद्धताअनुसार काम गर्न केही समय लाग्न सक्ने भए पनि सरकार हार नमान्ने उहाँको भनाइ थियो।

“भनेको समयमा भनेका वाचा पूरा नभएका हुन सक्छन्। तर हामी हार मान्दैनौँ, किनभने हामीलाई हार मान्ने छुट नै छैन,” उहाँले भन्नुभयो।

कार्यक्रममा सभापति लामिछानेले उद्यमीहरुले कुनै राजनीतिक दललाई चन्दा दिनु नपर्ने र व्यवसायीहरुलेआफ्नोउद्योग, व्यवसाय, कामदार, उत्पादनमा केन्द्रित हुन आव्हान गर्नुभयो ।

उहाँले भन्नुभयो, “चन्दाको चिन्ता गर्नु नपर्ने भन्दै इच्छाले दिनुहुन्छ ठिक छ होइन भने तपाईहरु आफ्नो उद्योग, व्यवसाय, कामदारको चिन्ता गर्नुस्, कसरी आफ्नो उद्योग व्यवसाय विस्तार गर्ने त्यस्तो नीति बनाउन लागिपर्नुस् ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.