एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगितामा सहभागिता जनाउने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधिकारीले शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच टोलीको बिदाइ गरेका हुन् । टोलीको बिदाइ समारोहमा बोल्दै क्यानका सचिव पारस खड्काले बधाई तथा शुभकामना दिनुभयो । उहाँले टोलीको आवश्यकताअनुसार नै कप्तान परिवर्तन गरिएको पनि बताउनुभयो ।
‘‘अहिलेका लागि हाम्रो पहिलो प्राथमिकता भनेको एकदिवसीय ढाँचामा कप्तान परिवर्तन गर्नु थियो । हामीले २०२८ को आइसिसी टी–२० विश्वकप र २०२७ को एकदिवसीय विश्वकपलाई लक्षित गरेर दुवै ढाँचामा उत्कृष्ट दुई खेलाडीलाई कप्तानको जिम्मेवारी दिएका छौँ”, सचिव पारस खड्काले भन्नुभयो, ‘‘समयको मागले गर्दा हामीले नेतृत्व परिवर्तन गरेका हौँ । कुनै व्यक्ति, संरचनालाई सहजीकरणभन्दा पनि नेपाल क्रिकेट योभन्दा अझ माथिल्लो स्थानमा पुग्न सक्छ भनेर हामी अगाडि बढिरहेका छौँ ।’’
‘आगामी प्रतियोगिताको लागि उत्साहित छौँ’
मुख्य प्रशिक्षक स्टुअर्ट लले आगामी प्रतियोगितामा नयाँ योजनाका साथ अगाडि बढ्ने बताउनुभयो । उहाँले टोलीले राम्रो प्रशिक्षणका साथ प्रतियोगिता खेल्ने भएकाले अपेक्षाकृत नतिजा ल्याउनेमा आशावादी रहेको बताउनुभयो ।
“राम्रो प्रशिक्षणका साथ हामीले प्रतियोगिता खेल्ने छौँ । नयाँ योजना र युवा खेलाडीका साथ खेल्ने तयारीमा छौँ । टोलीमा राम्रो संयोजन छ, आगामी प्रतियोगिताको लागि उत्साहित छौँ । कन्डिसनको बारेमा जानकार छैन । तर, टोलीले उत्कृष्ट क्रिकेट खेल्ने छ”, मुख्य प्रशिक्षक लले भन्नुभयो ।
कप्तान सन्दीप लामिछानेले विगतको प्रतियोगितामा गरेका गल्तीहरूलाई सुधार गर्दै आसन्न एसिसी प्रिमियर कपमा खेल्ने बताउनुभयो । उहाँले यसपालि प्रतियोगिताको उपाधि जितेर स्वदेश फर्किने पनि दाबी गर्नुभयो ।
गल्ती सुधार गरेर अघि बढ्ने छौँ : कप्तान लामिछाने
“विगत प्रतियोगितामा पनि हामीले योजना राम्रो बनाएर गएका थियौँ । आफ्नै केही कारणले गर्दा हामी चुक्यौँ । विगतमा भएका जेजति गल्तीहरू छन् तिनीहरूलाई पहिचान गरेर आउँदो प्रतियोगितामा सुधार गर्नेछौँ”, कप्तान लामिछानेले भन्नुभयो, “सन् २०२३ मा प्रिमियर कपको उपाधि जितेपछि धेरै खेलाडीको जीवन नै परिवर्तन भएको थियो । एसिया कप खेल्ने सपना साकार भएको थियो । फेरि हामी त्यही प्रेरणाका साथ मलेसिया जाँदैछौँ । एसिसी प्रिमियर कपमा हाम्रो लक्ष्य उपाधि जित्नु हो । त्यो ट्रफी घर ल्याउने भरपुर प्रयास गर्नेछौँ ।”
नेपाली टोलीले मलेसिया प्रस्थान गर्नुअघि १० दिन भारतको बेंगलुरुमा प्रशिक्षण गर्नेछ । त्यसपछि मलेसिया गएर तीन दिन प्रशिक्षण गरेपछि नेपालले प्रतियोगिता खेल्ने छ ।

दोस्रोपटक उपाधि जित्ने मौका
समूह ‘ए’ रहेको नेपालले पहिलो खेलमा भदौ १५ गते बहराइनविरुद्ध खेल्ने छ । यस्तै, नेपालले भदौ १८ गते आयोजक मलेसिया, तेस्रो खेलमा भदौ २१ गते साउदी अरेबिया तथा चौथो खेलमा भदौ २३ गते हङकङविरुद्ध खेल्ने तालिका छ ।
यस्तै, समूह ‘बी’ मा युनाइटेड अब इमिरेट्स (युएई), कुवेत, ओमान, कतार र सिङ्गापुर रहेका छन् । नेपालले तेस्रोपटक एसिसी प्रिमियर कपमा सहभागिता जनाउन लागेको हो । नेपालले सन् २०२३ मा एसिसी प्रिमियर कपको उपाधि जितेको थियो ।
यसपालि प्रिमियर कपबाट एसिया कपमा स्थान बनाउन केही सहज हुने देखिन्छ । एसिसीका अनुसार यसपटक प्रतियोगिताको शीर्ष तीन टोलीले एसिया कपमा स्थान बनाउने छन् ।




प्रतिक्रिया राख्नुहोस्