काभ्रेमा ७४ आपराधिक घटना, ७६ प्रतिवादी पक्राउ
काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन् । यस अवधिमा ६५९ सवारीसाधानलाई कारबाही गरिएको छ भने विभिन्न घटनामा संलग्न ७६ प्रतिवादी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयद्वारा सार्वजनिक प्रगति विवरणअनुसार एक महिनामा दर्ता ७४ वटा सानाठूला आपराधिक घटनामध्ये ४१ मुद्दाको फछ्र्योट भइसकेको छ भने बाँकी घटनाको अनुसन्धानकै चरणमा रहेको छ ।
यस अवधिमा प्रहरीले विभिन्न अपराधमा संलग्न चालु मुद्दाका ७६ प्रतिवादीलाई पक्राउ गरेको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जनाकारी दिनुभयो । उहाँका अनुसार काभ्रेपलाञ्चोकमा केही महिनादेखि आर्थिक–वित्तीय अपराधको ग्राफ बढ्दै गएको पाइएको छ ।
कार्यालयमा दर्ता भएका मुद्दामध्ये अधिकांश (१८ वटा) बैंकिङ कारोबारका छन् । यसबाहेक साधारण चोरी, मोटरसाइकल तथा चौपाया चोरीका १२ मुद्दा दर्ता भएका हुन् ।
यस्तै सवारी ज्यान, ज्यान मार्ने उद्योग, बहुविवाह र बोक्सीको आरोपसम्बन्धी मुद्दा, जबर्जस्ती करणी तथा करणी उद्योगका गम्भीर मुद्दा दर्ता भएको छ । विभिन्न मितिमा सवारी ज्यान मुद्दामा फरार रहेका २० फरार अभियुक्तलाई पक्राउ गरिएको छ ।
गत साउनमा प्रहरीले एक वर्ष चार महिना १५ दिनको कैद सजाय कार्यान्वयन गर्नुका साथै रु २९ लाख ६९ हजार ९०० जरिवाना असुल गरेको छ । यसैगरी सडक सुरक्षा तथा अवैधधन्दा रोक्न प्रहरीले ६५९ सवारीसाधनलाई कारबाही गरी रु छ लाख एक हजार ५०० राजस्व सङ्कलन गरेको छ ।
नदीजन्य पदार्थको अवैध उत्खननमा संलग्न टिपर नियन्त्रणबाट रु तीन लाख १७ हजार राजस्व दाखिला गराएको जनाइएको छ । प्रहरीले जिल्लाका विभिन्न स्थानमा सञ्चालित १०७ भट्टी नष्ट गर्दै एक हजार ३९८ लिटर अवैध घरेलु मदिरा तथा तीन हजार ३५ लिटर कच्चा पदार्थसमेत जफत गरेको छ ।
आपराधिक घटना न्यूनीकरण गर्न काभ्रेपलाञ्चोक प्रहरीद्वारा सञ्चालित समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत साइबर अपराध, यौन दुव्र्यवहार, मानव बेचबिखन र लागुऔषधविरुद्ध ९८ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।
उक्त कार्यक्रमबाट १९ हजार ९१३ नागरिकलाई सचेतना गराइएको विष्टको भनाइ छ । उहाँका अनुसार नागरिकको धनजनको सुरक्षार्थ गस्ती, सरप्राइज चेकिङ तथा प्रविधिको प्रयोगलाई अझ कडाइका साथ अघि बढाइएको छ ।




प्रतिक्रिया राख्नुहोस्