दुईतिहाइको बालेन सरकार, सत्ताबाहिरका कम्युनिस्टको बेचैनी
हैन, नेपालका कम्युनिस्ट नेता ओली र प्रचण्ड अहिले सत्ताबाहिर बस्नु पर्दा साह्रै तिलमिलाइरहेका छन्। फागुन २१ को चुनावमा नराम्रोसँग झापड खाएका यिनीहरू दुईतिहाइको सरकार ढाल्छु, यो प्रतिक्रियावादी सरकार हो भनेर रातदिन बतुराइरहेका छन्।
जनताले भोट हालेर दुईतिहाइ दिएका र चुनावको निष्पक्षतामा कुनै खोट नदेखिएर शान्तिपूर्ण रूपमा सम्पन्न भएको चुनावबाट बनेको सरकारलाई पनि सत्ताबाट फाल्छु, तिहारपछि आन्दोलन गर्छु भनेर कस्सिएका कम्युनिस्टहरूलाई यो गतिविधिले आफैँ बढारेर लैजान सक्छ भन्ने किन हेक्का नभएको होला !?
यी नेताहरूलाई मन परे पनि नपरे पनि जेनजीहरूले दुईतिहाइ ल्याएर सरकार चलाउँदैछन्। सरकार चलाउँदा गल्ती र कमीकमजोरी भए भने तिनलाई सच्याउनका लागि खबरदारी गर्नुबाहेक अर्को उपाय नहुँदा र देशको दुईतिहाइ जनमत एकातिर अनि अर्कोतिर सत्ताबाट बाहिरिनुपरेका पुराना दल भनौँ कि कम्युनिस्टहरू अर्कोतिर हुँदैमा दुईतिहाइको सरकारलाई ढाल्छु र सरकार बनाउँछु भनेर सामाजिक सञ्जालमा रुवाबासी गरेर हुँदो हो त !
अहिले केही दिनदेखि प्रचण्ड सत्ताविहीनताको पीडाले छटपटाउँदैछन्। तिहारपछिको आन्दोलन भन्दै बतुराएर के गर्नु ? हिजो पो शेरबहादुरको पार्टी थियो र तिनीसित घाँटी जोडेर केही हुन्छ कि भन्ने थियो। अहिले कांग्रेस आफैँ टुक्राटुक्रा भएर तितरवितर भएको बेलामा कांग्रेसका कुन नेतालाई समाउने हो र गठबन्धन गर्ने हुन् ती प्रचण्ड !
अनि यता ओलीको चाल छुट्टै छ। प्रधानमन्त्री अमेरिका गएका बेला यही हो मौका भनेर पुराना प्रधानन्यायाधीश चोलेन्द्रलाई बरु कार्यकारी प्रधानमन्त्री तैँलाई दिउँला, यो सरकार फाल्ने खेलमा अदालतलाई सामेल हुन भन्नुपर्यो र अन्तरिम सरकार बनाउनुपर्यो भनेर लाग्दा प्रधानमन्त्रीले आफूविरुद्ध हुन लागेको षड्यन्त्र कतिछिटो थाहा पाएर चोलेन्द्रलाई रातारात उठाएको सुन्दा साँच्चै कम्युनिस्टहरू आँटिला नै हुन् जस्तो पनि लाग्छ।
पहिले जनताले राणा फाले, अहिले कम्युनिस्टहरूले राणा ल्याउने खेल साँच्चिकै सफल भयो भने त ७५ वर्षपछि फेरि यो देशमा यिनै राणा फर्किने पो रहेछन् हैन त !
हामी जनताका लागि त यो बालेन सरकार रहे पनि, यिनी गएर राणा शासन आए पनि हाम्रा लागि हर्ष न विस्मात्। हामी दुःखी गरिब जनता, दुःख कहिल्यै नहट्ने। जिन्दगी गुजार्ने कमाइ–काज गर्न भारतका गल्ली–गल्ली चाहार्नै पर्ने। नेपालको सरकारले हामी बेरोजगार जनतालाई कामकाज नदिने।
गत भदौ २३ देखि खरानीमा परिणत भएको देश अहिले त्यही खरानी उडाउँदै दिनदहाडै हत्या–हिंसा, लुटपाट, अशान्ति र खुकुरी हानाहानमै व्यस्त छ। अझ यसै बेला भोटेकोशीमा आएको बाढीले त्यस क्षेत्रका जनतामाझ त्रासदी त छँदैछ। अझ भएन भनेर अनेक बहानामा किनेर खानै नसक्ने गरी मूल्य बढेको छ।
बाढीको हल्लाले देशका अन्य पर्यटकीय क्षेत्रहरूसमेत बाढीकै प्रोपोगान्डामा सुनसान छन्। बुक भएका होटल र ट्रेकिङ क्षेत्रका बुकिङसमेत क्यान्सिल गरेर टुरिस्टहरूले नेपालको यात्रा रद्द गरिसकेका छन्।
अब देशको अर्थतन्त्र यसरी डामाडोल हुँदैछ कि यसलाई कसैले रोक्न चाहे पनि रोक्न सक्ने स्थिति छैन। सरकार आफ्ना सीमित सल्लाहकार र सचिवालय सदस्य या उनका परिवारबाहेक अरूले खान पाए–नपाएको लेख्न राख्ने अवस्थामा पनि छैन।
दुईतिहाइको सरकार छ, पाँच वर्षसम्मलाई कसैले केही गर्न सक्नेवाला छैन, त्यसपछिको चुनावमा कुनै न कुनै उपाय आइहाल्ला भन्ने विश्वासका साथ सरकार आफैँले समातेको बाटोमा निरन्तर हिँडिरहेको छ।
हुन पनि यो सरकारका मतदाताले सरकारको विरोध गरेका छैनन्। चुनाव हारेर सत्ता गुमाउन पुगेका कम्युनिस्टहरूको चिच्याहट र रुवाबासी र छटपटाहटले यो सरकारलाई केही फरक पर्नेवाला छैन भन्ने बुझेका सत्तारूढ नेता ‘काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ’ भन्ने उखानलाई सम्झेर आफ्नो बाटो हिँडिरहेका छन्।
हेरौँ, तिहारपछि कम्युनिस्टहरूले जनता सडकमा उतार्छन् कि कम्युनिस्टका नेताहरू भागाभाग गर्छन् ! अब एकै महिना पर्खिए सबैको हैसियत थाहा भइहाल्छ। हैन र !?




प्रतिक्रिया राख्नुहोस्