राजनीति

कानुनी व्यवस्था मिलाएर पीडितलाई राहत दिन्छौँ : सभामुख अर्याल

सभामुख डोलप्रसाद अर्यालले भिमफेदी दुर्घटनाका पीडितलाई उचित राहत प्रदान गरिने बताउनुभएको छ । सोमबार पीडित परिवारलाई भेट्न सर्लाहीको चक्रघट्ट गाउँपालिका-४ सुन्दरपुर पुग्नुभएका उहाँले कानुनी व्यवस्था मिलाएर पीडितलाई राहत दिने जानकारी दिनुभयो ।

“तीनै तहका सरकारसँग आवश्यक सहकार्य र समन्वय गरेर कानुनले गरेको व्यवस्थापछि पनि थप के हुन्छ, छलफलबाट निर्णय लिनेछौँ । उचित राहतको कानुनी व्यवस्था छैन भने पनि अन्य निकायबाट मिलाउन पहल गर्नेछौँ”, सभामुख अर्यालले भन्नुभयो ।

पीडित परिवारका बालबालिकाको उच्च शिक्षासम्मको पठनपाठनको जिम्मा र लालनपालनको व्यवस्थामा सरकारले स्पष्ट पहल गर्ने सभामुख अर्यालले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले शोकसन्तप्त परिवार र आफन्तप्रति समवेदनासमेत प्रकट गर्दै यस विषम घडीमा परिवारलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामनासहित यस्ता दुर्घटना नियन्त्रणका लागि सरकारको तर्फबाट ठोस् कदम चाल्ने बताउनुभयो ।

बिहीबार छठ पर्व मनाउन काठमाडौँबाट सर्लाही आउँदै गरेको रिर्जभ विद्युतीय गाडी भिमफेदी गाउँपालिका-६ स्थित चिसापानी गढीमा दुर्घटना भएको थियो । सडकबाट करिब ५०० मिटर तल खसेर दुर्घटना भएको गाडीमा सवारमध्ये यस गाउँका १३ जनाको मृत्यु भएको थियो ।

घाइते भएका छमध्ये तीन जना उपचारपछि घर फर्किसकेका छन् । बाँकीको उपचार भइरहेको छ । भेटमा सभामुख अर्यालसँग पीडित परिवारले घटनाको विवरणसहित उचित राहतको पहल गरिदिन आग्रह गर्नुभएको थियो ।

अभिभावक गुमाएका बालबालिका र घरको एकमात्र सहारा गुमाएका आश्रित परिवार घटनापछि बिचल्लीमा परेका उहाँहरूको गुनासो थियो । गाउँपालिकाका अध्यक्ष कृष्ण यादवले मृतकको दाहसंस्कार खर्च स्वरुप पालिकाले जनही रु ५० हजारका दरले सहयोग प्रदान गरेको बताउनुभयो ।

सभामुख अर्यालसँगै सर्लाही क्षेत्र नम्बर-१ की सांसद नीतिमा कार्की, २ का सांसद रविन महतो, ३ नम्बर क्षेत्रका सांसद नरेन्द्र साह कलवार, सांसद रहवर अन्सारी, प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीलगायत पीडित परिवार भेट्न सुन्दरपुर गाउँ पुग्नुभएको थियो ।(रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.