साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनलमा प्रवेश गरेको छ। मंगलबार साँझ कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न पहिलो क्वालिफायरमा साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको हो।
सुदूरपश्चिमले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले १६.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। लुम्बिनीको जितमा विकेटकिपर निरोशन डिकवेलाले अविजित अर्धशतकीय इनिङ्स खेले। उनले ३७ बलमा ७ चौका र २ छक्काको मद्दतमा ५९ रन बनाए।
सुरुवातमै २४ रन जोड्दा दुई विकेट गुमाएको लुम्बिनीलाई डिकवेला र कप्तान रोहित पौडेलले सम्हालेका थिए। यी दुईले तेस्रो विकेटका लागि ३८ रनको साझेदारी गरे। रोहितले २८ बलमा एक चौकासहित २१ रन बनाए। ओपनर डार्सी सर्ट शून्य र आसिफ शेख ४ रनमा आउट भएका थिए।
दिलीप नाथले १२ बलमा अविजित १० रन बनाए। उनले विजयी छक्का प्रहार गर्दै टोलीलाई फाइनलसम्म पुर्याए। सुदूरपश्चिमका थरिन्दु रत्नायकेले दुई तथा स्कट कुगेलेइन र हेमन्त धामीले एक–एक विकेट लिए।
त्यसअघि टस जितेर बलिङ रोजेको लुम्बिनीले सुदूरपश्चिमलाई निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०५ रनमा सीमित गरेको थियो। सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५२ रन बनाए। उनले ५१ बलमा ३ चौका र एक छक्का प्रहार गरे। इशान पाण्डेले ३३ बलमा ३ चौकासहित २७ रन जोडे।
खराब सुरुवात गरेको सुदूरपश्चिमले ३.१ ओभरमा ८ रन जोड्दा तीन विकेट गुमाइसकेको थियो। यस सिजन पहिलो खेल खेलेका ओपनर जर्ज मन्से पहिलो बलमै आउट भए। अर्का नयाँ खेलाडी तानुका दबारे तेस्रो ओभरमा रुबेन ट्रम्पलम्यानको बलमा डिकवेलाबाट क्याच आउट भए। त्यसपछि विनोद भण्डारी पनि अभिषेक गौतमको बलमा डिकवेलाबाटै क्याच भए।
सुरुवाती झट्कापछि कप्तान ऐरी र इशानले चौथो विकेटका लागि ६४ रनको साझेदारी गर्दै टोलीको इनिङ्स उकासेका थिए। तर, १५औँ ओभरको पहिलो बलमा इशान रनआउट भएपछि सुदूरपश्चिमको मध्यक्रम पुनः दबाबमा पर्यो। त्यसपछि आएका थरिन्दु रत्नायके एक रन पनि नजोडी शेर मल्लको बलमा बोल्ड भए। आरिफ शेख ४ रनमा आउट भए।
अन्तिम ओभरमा कप्तान ऐरी किशोर महतोको बलमा डार्सी सर्टबाट क्याच भए। स्कट कुगेलेइन ७ रन बनाएर अन्तिम बलमा रनआउट भए भने अनिल खरेल २ रनमा अविजित रहे।
लुम्बिनीका रुबेन ट्रम्पलम्यानले चार ओभरमा १२ रन खर्चेर दुई विकेट लिए। शेर मल्लले पनि दुई विकेट लिए भने अभिषेक गौतम र किशोर महतोले एक–एक विकेट हात पारे। सुदूरपश्चिमका दुई खेलाडी रनआउट भएका थिए।
पहिलो क्वालिफायरमा पराजित भए पनि सुदूरपश्चिमको फाइनल पुग्ने सम्भावना कायम छ। उसले बुधबार हुने एलिमिनेटरमा काठमाडौं गोर्खाज र चितवन राइनोजबीचको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ। उक्त खेलको विजेता फाइनलमा लुम्बिनीसँग भिड्नेछ।




प्रतिक्रिया राख्नुहोस्