सरकार र उखु किसानबीच सहमति : आन्दोलन स्थगित
दुई सातादेखि राजधानीमा उखुको भुक्तानीका लागि आन्दोलनरत सर्लाहीका उखु किसान र सरकारबीच पाँचबुँदे सहमति भएको छ । शुक्रबार उद्योगमन्त्री लेखराज भट्टको उपस्थितिमा भएको वार्तामा सहमति भएपछि उखु किसानको आन्दोलन स्थगित छ ।
सहमति अनुसार सरकारले तोकेको उखुको मूल्य दिने, चिनी मिल सञ्चालकहरुले किसानको बक्यौता माघ ७ गतेभित्र उपलब्ध गराउन मन्त्रालयले समन्वय गर्नेछ । सहमतिमा उखु किसानका समस्या तथा उखु खरिद र भुक्तानी दिने प्रणालीलाई स्वचालित बनाउन मन्त्रालयका सहसचिवको संयोजकत्वमा सरोकारवाला, चिनी उद्योगी, किसान र विज्ञ रहेको कार्यदल बनाउने पनि उल्लेख गरिएको छ ।
त्यसै गरी सहमतिको अन्तिम बुँदामा काठमाडौंमा ध्यानाकर्षण गतिविधिहरु आजैबाट स्थगित गर्ने भनिएको छ । समझदारीमा संघर्ष समितका सचिव हरिश्याम राय र मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईले हस्ताक्षर गर्नुभएको छ ।
सहमतिपछि किसान राजेश यादवले मन्त्रीको आश्वासनपछि आन्दोलन स्थगित गरेको बताउँदै माघ ७ गतेसम्म पैसा पाइएन भने ८ गतेदेखि धर्नामा बस्ने बताउनुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्